४ वैशाख २०८१ मंगलबार
कला

माघीमा रमाए मगर समुदाय

टुँडिखेलमा मगर युवतीहरूले पहिचान झल्काउने  गीत गाउदै। तस्बिर : श्याम/नागरिक

काठमाडौं - कलंकीका ४० वर्षे तिलक रोकामगर ढाका टोपी, कम्बरमा खुकुरी भिरेर कछार, पटुका र पैजान लगाई पैसरु नृत्य नाच्न व्यस्त थिए। उनीमात्र नभई मगर पोसाकमा सजिएका सयौं युवायुवतीहरू पनि यो नाचमा मस्त थिए। यीमध्ये कोहीको हातमा धनुष थियो। लुंगी, पटुका, चोला लगाएका कोही युवतीले सोली बोकेका थिए। बाजागाजाको मिठास बेग्लै थियो। मगर समुदायले मंगलबार टुडिखेलमा माघे संक्रान्ती मनाइरहँदा यस्तै दृश्य देखियो। 

नेपाल मगर संघका पूर्व अध्यक्ष यामबहादुर बुढाथोकी मगरले शुभकामना आदानप्रदान तथा मौलिक सांस्कृतिक प्रदर्शनी गर्न टुँडिखेलमा माघे संक्रान्ति चाडको अवसरमा कार्यक्रम आयोजना गरिएको बताए। ‘माघे संक्रान्ति चाड मगर समुदायको पनि मुख्य चाड हो’, उनले भने, ‘परम्परादेखि नै यो पर्व मनाउँदै आएका छौं। हाम्रो पहिचान र संस्कृतिलाई बचाउनको लागि यो कार्यक्रम गरेका हौं।’ उनले माघी पर्वमा सरकारले बिदा कटौती गरेकोले त्यसलाई यथासिघ्र सच्याउन माग गरे। 

उनका अनुसार माघे संक्रान्ति चाड विशेष त चेली पर्वको रूपमा मनाइन्छ। नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्ति समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ। यस चाडमा चेलीहरूले मुल्को पानी र जमरा स्वरुप जौंको पूmल लिएर घरको धुरी र खाँबोमा पूजा गर्ने गरिन्छ। यो दिन छोरी चेलीहरूलाई पनि पुजिन्छ। ‘यो चाडको बेला टिका लगाई दक्षिणा दिइन्छ’, उनले भने, ‘यो बेला सबै आफन्तहरू भेटघाट गरी हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु नाच नाच्छौं। यो चाड ठाउँ अनुसार तीन दिनसम्म मनाउने गछौं।’   

यो चाडको बेला टिका लगाई दक्षिणा दिइन्छ। सबै आफन्तहरू भेटघाट गरी हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु नाच नाच्छौं।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। सामान्यतयाः सुर्यले सबै राशिलाई प्रभावित गरे पनि सुर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यो दिनदेखि सुर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। तैपनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ। 

आदिवासी जनजाति महासंघका पूर्व महासचिव रामबहादुर थापा मगरले मगर समुदायमा यो चाडको सांस्कृतिक र सामाजिक हिसाबले महत्व रहेको बताए। ‘यो चाडको प्राकृतिक र सांस्कृतिक महत्व छ’, उनले भने, ‘मगर समुदायले मात्रै नभई अन्य जातिहरूले पनि आजको दिन तरुल, चाकु र विभिन्न परिकारहरू खाएर यो चाड मनाउने गछौं।’ उनका अनुसार यस दिन छोरी चेलीहरूलाई मिस्रा दिने गरिन्छ। घरमा आउन नसके पठाउने गरिन्छ। मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरू, भुजौरी, खिचदी, घिऊको मिश्रित परिकार हो। यस चाडमा मौलिक रूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने गरिन्छ। सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरू (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ। यसै दिनदेखि बेसीबाट लेकतिर बसाई सर्ने गरिन्छ। 

कार्यक्रममा युवायुवतीहरूले भृकुटीमण्डपदेखि टुँडिखेलसम्म -याली प्रर्दशन गरेका थिए। उनीहरूले मौलिक पहिचान झल्कने खालका गीत र झाकीसमेत प्रदर्शन गरेका थिए। चाबहिलको चुच्चेपाटी पनि थारु समुदायले ‘माघी महोत्सव’ आयोजना गरी यो चाड मनाएका छन्। थारु समुदायले आफ्नो पहिचान झल्कने पहिरन लगाई नाचगान समेत प्रदर्शन गरेका थिए। माघे संक्रान्तिको दिन त्रिशुली देवघाट, वागमती, कालीगण्डकी, त्रिवेणी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

प्रकाशित: २ माघ २०७५ ०७:३१ बुधबार

माघी मगर_समुदाय माघे_संक्रान्ती