८ वैशाख २०८१ शनिबार
अन्य

शीतलहरले घेरिन थाले मधेसका विपन्न बस्ती

लहान- गोलबजार नगरपालिका–९ मुसहरी टोलकी ४५ वर्षीया जंगली सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि ओछ्यान बिछ्याउनु उनको दैनिकि हो । ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो । चिसो भुइँ ओछ्यान र पराल हाम्रो बिछ्यौना हो । गर्मीमा जेनतेन चल्छ, जाडोमा शरीर न्यानो नै हुँदैन,’ जंगलीले भनिन्, ‘रुइको सिरक–डसना जोड्ने औकात छैन । हामी गरिबका लागि परालनै सिरक–डसना, पराल नै ओछ्याउछौं त्यही ओढ्छौं ।

मधेसको देहातमा मंसिरको मध्यबाटै बिहान–साँझ चिसो बढेको छ । शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन् । बाक्लो लुगा पहिरेर शरीर न्यानो राख्न थालेका छन् । तर, आर्थिक स्थिति कमजोर हुने देहातका सुकुम्बासी मुसहर समुदायमा बर्सेनी शीतलहर कहर बनेर आउँछ ।
बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासी मुसहर समुदायका मानिसलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्ने हैसियत पुग्दैन । चिसो बढेपछि बस्तीका अभाव पीडितहरु निदाउन सक्दैनन् । ‘शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने पिरलोमा यस बस्तीको दिनरात कटिरहेको छ । 

धोबियाधारकी श्यामदेवी सदाय (३५) को एक कोठे घाप्रोमा सातजनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ । चारजना छोराछोरी र बृद्ध सासूलाई छाप्रोभित्र राखेर श्याम दम्पती  घर बाहिर खुला आकाशमुनि बस्छन् । जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर ओढ्न र ओछ्याउनका लागि प्रयोग गर्छन् ।

मुसहरी टोलकी ७० वर्षीया मलभोगीया सदायले शरीरलाई न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन् । चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ ।

गोलबजार–९ धोबियाधारको डिलमा रहेको सुकुम्बासी मुसहर बस्तीमा वर्षामा घर डुबान र शीतलहरमा चिसोको पिरलो खप्नु परेको छ । ‘पराल ओछ्याएर चिसो भुइँमा ओढ्ने पुरानो कपडा छ,’ उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन । कहाँबाट न्यानो लुगा लगाउनु,’ उनले भने ।

शीतलहरका बेला मधेसको अभाव बस्तीमा कठ्यांग्रिएर मानिस मर्न थालेपछि बर्सेनि न्यानो कपडा बाँडिन्छ । उनीहरूको जीवनस्तर सुधार्न थुप्रै बजेट खर्चिन्छ । तर, उनीहरू चिसोसँग सधैँ पैठेजोरी खेल्न बाध्य छन् । ज्यानमारा बन्दै गएको शीतलहरबाट गरिब र विपन्न परिवारलाई जोगाउन सरकारी योजना पनि टालटुले मात्र छ । गत वर्ष चिसोले प्रदेश २ को विपन्न बस्तीमा ७० जनाको मृत्यु भएको थियो ।

ज्यान जोगाउन संघर्ष

चिसो बढ्न थालेपछि सिरहाको अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ । प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने चिन्तामा छन् । उनीहरु के लाउने, के ओछ्याउने र के ओढ्ने भन्ने चिन्तामा छन् ।

मंसिरको जाडो जेनतेन काटिए पनि पुस र माघको शीतलहर कसरी काट्ने चिन्ताले यस भेगका बिपन्नलाई सताएको छ । चरम आर्थिक अभावमा रहेका उनीहरुका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ । 

‘जाडो महिनामा पराल नै हाम्रो सहारा बन्छ, परालै ओढ्छौं, परालै ओछयाउँछौं र परालकै आगो ताप्छौं,’ सिरहा बरियारपट्टी गाउँपालिका मुसहरी टोलका फकिर सदायले भने, ‘हामी गरिबसँग अन्य विकल्प छैन के गर्ने बाध्यता हो ।’ जाडोयाममा ज्यान जोगाउने सकससँगै यस बस्तीमा हातमुख जोड्ने सकस हुने गरेको उनीहरु बताउँछन् । 

जाडोयाममा भगवान् भरोसा गुजारा चल्ने गरेको फकिरले बताए । ‘जाडोमा बाहिर काम गर्न हिम्मत हुन्न, बाहिर काम गर्न नगए हातमुख जोड्न समस्या हुन्छ, उनले भने । गरिबीका कारण टुटेको घरमा बस्नु परेको र च्यातेको कपडा लाउनु परेको अधिकांश मुसहरको भनाइ छ । प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ गाउँका साहुमहाजनले दिने पुरानो कपडा उनीहरुको जाडो छल्ने उपाय बन्ने गर्छ । 

अलिअलि घामको सहाराले दिन बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको उनले बताए । ‘घरका बालबालिकालाई च्यातेको लुगा र पराल ओढाएर सुताउँछौं, सिरहा कचनारिकी तेतरीदेवी सदायले (५५) भनिन्, ‘हामी बूढाबूढीको सहारा आगो ताप्ने घुर नै हो ।’ उनले थपिन, ‘मंसिरमा गिरहतको धान काटेर ल्याएको पराल हाम्रो चुलोदेखि ओढ्ने ओछ्याउने  सहारा बन्छ ।’

निरन्तरको शीतलहर र चिसोले यहाँको विपन्न तथा मुसहर बस्ती र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित हुँदै आएको गोलबजार नगरपालिका ९ का देवकुमार मोक्तानले बताए । पुस र माघको बाक्लो हुस्सु र चिसो हावाका कारण उनीहरुको जीवन झन् कष्टकर बन्छ । गरिबीका कारण बूढाबूढीहरु न्यानो लुगा र तागतिलो खानपान बन्दोबस्त गर्न सक्दैनन् ।

ज्यान लिने जाडो

गर्मीयाममा झाडापखालाले थलिँदा उति आत्तिइनन् लहानकी ठकनी सदा । तर, मंसिर लागेसँगै उनको पिरलो बढ्छ । छाप्रोमुनि एकसरो च्यातिएको लुगाका भरमा सिरेटो झेल्नु कम्ती कष्टकर हुँदैन । यसपालि पनि पूरै बस्ती शीतलहरले घेर्न थालेपछि उनी आत्तिएकी छन् ।

‘दुई वर्षअघि जाडोले पतिलाई खोस्यो, यसपालिको जाडो मलाई लिन आएजस्तो छ,’ लहान–१ दलित बस्तीकी उनले भोगाइ सुनाइन, ‘पुस हाम्रा लागि काल बनेर आउँछ, आफन्त खोसेर लैजान्छ ।’ झाडापखाला त सरकारी अस्पतालको औषधिले टारिदिएन तर पुसको ठिही टारिदिने लत्ताकपडा छैन उनीसँग ।

यति बेला मधेसका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश विपन्न परिवार ठकनीकै जस्तो पीडा भोगिरहेछन् । चिसोसँगै बाक्लिएको शीतलहर झेल्न ओढ्ने–ओछ्याउने र न्यानो लुगा नहुँदा उनीहरु सकसमा छन् ।

मधेसमा शीतलहरसँगै जाडो बढ्दै गएको छ । बिहान हुस्सुसँगै शीतलहर फैलन थालेको छ । सर्वसाधारण जाडोले बिरामी पर्न थालेका छन् । जाडोकै कारण विगतमा थुप्रैको ज्यानसमेत गइसकेको छ ।

‘भगवान्ले कठ्यांग्रिँदो जाडो दिएर कष्ट दिन्छन्, सरकार हामी गरिबलाई न्यानो नदिएर कष्ट थप्छ,’ लहान–१ की लक्ष्मी सदा सुनाउँछिन् । गिरहतकहाँ मजदुरी गरेर परिवार चलाउने उनीहरु जाडोमा न्यानोे कपडा जोड्ने हैसियत राख्दैनन् । चिसो भुइँमा पराल ओछ्याएर सुत्छन् । त्यसैको धुनी बालेर शरीर तताउँछन् । चिसोले दिनभर बाहिर निस्कन नसक्दा मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यता रहेकालाई चुलो बाल्नौ धौधौ पर्छ ।

मजदुरी गरी कमाएको पैसाले बालबच्चा र आफ्नो पेट भर्नै हम्मे पर्ने उनीहरु बताउँछन् । ‘मजदुरी गरेर कमाएको दुई–चार पैसाले पेट भर्ने कि न्यानो लुगा किन्ने ?,’ सुशीला सदा भन्छिन्, ‘सरकारले गरिबलाई चिसोबाट जोगाउन कुनै राहत कार्यक्रम ल्याएन ।’

चिसो सुरु भएपछि गत वर्ष स्थानीय तहमार्फत दाउरा वितरण अभियान थाले पनि त्यो विपन्न बस्तीसम्म पुगेन । न त संघसंस्थाकै व्यक्तिले बाँडेका कम्बल हाम्रो बस्तीमा पुग्यो, सुशीलाले गुनासो पोखिन् । साँच्चिकै आवश्यकता परेकालाई भन्दा पनि मन परेका व्यक्तिलाई त्यस्ता कम्बल बाँड्ने गरिएको पीडितको आरोप छ ।

लहान नगरपालिका–२२ (नवकाटोल मुसहरी) सडकछेउ स्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा दशैं सदायको चार परिवार अटाएको छ । दुई छोराछोरी सहित दशैं दम्पती छाप्रोमा जसोतसो जिन्दगी धान्दै छन् । गत वर्ष यही छाप्रोमा जाडो सहन नसकेर दशैंका पिता ढेकरु सदायले दम तोडे । दमका रोगी उनलाई न्यानो चाहिन्थ्यो । तर, राम्ररी घामपानी पनि छेक्न नसक्ने छाप्रो अनि चिसो भुइँमा निदाउनुपर्ने बाध्यताले उनी चिसोमा धेरैदिन प्राण थामेर बस्न सकेनन् । कहिलेकाहीँ त आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ दशैंले भने, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ।’

यसपालिको पुस–माघ महिनाको शीतलहरबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताएको छ । दैनिक ज्याला मजदुरीबाट  गुजरा गर्ने करिब ३० घर मुसहर बस्तीमा जाडो महिना पीडा बोकेर आउँछ । 

गत वर्ष सिरहामा चिसोले १२ जनाको ज्यान गएको थियो । उनीहरुमध्ये अधिकांश दलित बस्तीका थिए । ‘गर्मी महिनामा सर्प बाहेक कुनै समस्या हुँदैन,’ दशैंले भने, ‘शीतहलरबाट जोगिनै मुस्किल पर्छ ।’ अति विपन्न बस्तीका स्थानीयलाई न्यायो कपडाको अभाव र ओत लाग्ने सग्लो घर नहुँदा शीतलहरको प्रभाव पर्ने गरेको छ ।

उनीहरु बाक्लो कपडा किन्न सक्दैनन् । दलित समुदायका मानिस घुर तापेर जिउ तताउने गर्छन् । चिसोमा उनीहरु यही घुरको वरपर बस्छन् । आर्थिक विपन्नताका कारण सिरक डस्ना किन्न सक्दैनन् । त्यसैले पनि जाडोको मौसममा उनीहरुको अवस्था कष्टकर बन्ने गरेको हो ।

यहाँका सरकारी गैरसरकारी निकायको राहत हामीकहाँ पुग्दैन लहान २२ नम्बर मुसहरी टोलकी प्रगास सदाले भनिन्, ‘बाहिरबाट मानिसहरु आएर कपडा वितरण गरेर गएपछि फर्केर आउँदैनन् ।’ उनले थपिन्, ‘एके माघे जाड जाईछै (एकै माघले जाडो जाँदैन नि ) ।’ यहाँका १७ वटै स्थानीय दहाका विपन्न, सुकुम्बासी बस्तीको बेहाला उस्तै छ ।

भगवान्पुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा जाडोको पिरलो छ ।

सुँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन । ऐलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा चिसोले कसरी ज्यान जोगाउने भन्ने संघर्ष चलिरहेको छ । 

सुत्ने ठाउँ अभावमा लहान २२ मुसहर बस्तीकी दुखनी सादायको पाँच परिवार झुपडीमै रात काट्न बाध्य छन् । ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएको उनको परिवारलाई शीतलहरले पिरोलेको छ । ‘जाडो महिनामा मजदुरीमा पनि जान सकिँदैन,’ उनले भनिन्, ‘२ महिना गिरहतबाट ऋण लिएरै गुजारा चलाउँछौं ।’ बाटोछेउको ४ धुर ऐलानीमा बनेको झुपडीमा तीन छोराछोरीसहित ५ जना कोचिएर सुत्छन् । दुखनीको परिवार ‘परालकै ओछ्यान र परालकै घुर’ बालेर रात काट्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुरको सहारा लिनु हो । गर्मीमा खुला ठाउँमा सुतेर रात कटाए पनि जाडोमा रात कटाउन सकस बेहोर्नुपर्छ । 

सामाजिक अभियन्ता देवकुमार मोक्तान अशिक्षा र गरिबीको पराकाष्ठा, घरको बनावट र प्रकृतिलाई आफ्नो पहुँचमा राख्न नसक्दा विपन्न समुदाय जाडोमा प्रताडित हुनुपरेको बताउँछन् ।

अधिकारकर्मी विनोद विसुन्के नाजुक आर्थिक अवस्थाकै कारण चिसोमा गरिब, सुकुम्बासी परिवार बढी प्रभावित हुने बताउँछन् । ‘जाडोबाट अन्य समुदाय र सर्वसाधारण पनि प्रभावित हुन्छन्, तीमध्ये पनि विशेषगरी विपन्न, सुकुम्बासी परिवार बढी समस्यामा पर्छन्,’ उनले भने ।

कतिपय सर्वसाधारणले चिसोकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । सिरहाका स्थानीय अस्पतालमा चिसोजन्य रोगका कारण दैनिक ४५ भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।

शीतलहरबाट बच्ने उपायबारे सरकारले नै गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सामाजिक अभियन्ताहरु बताउँछन् ।

‘गरिबलाई काल’

प्रदेश २ का आठवटै जिल्लाका विपन्न मुसहर समुदायका लागि चिसो मौसम निकै कष्टकर हुन्छ । ओढ्ने र न्यानो कपडा अभावमा ती बस्तीमा जाडो प्रकोप बनेर आउँछ । विपन्न मुसहर बस्तीमा झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने धेरै छन् । साँझबिहान पराल बालेर आगो ताप्ने र राति परालकै बिछ्यौनामा सुतेर जाडो छल्ने दिनचर्या जस्तै बनेको छ ।

मधेसको गलक्कै पार्ने घामको तुलनामा चिसो मौसम ज्यादै कष्टकर हुने विपन्नहरुको अनुभूति छ । गर्मी महिनाको टन्टलापुर घाममा काम गर्न सजिलो मान्ने मुसहर समुदायलाई जाडोले भने सताउने गरेको बताउँछन् । ‘शीतलहर चलेका बेला काममा समेत जान नसक्ने अवस्था हुन्छ,’ दुखनी सदाय भन्छिन्, ‘दिनभर आगो तापेर जीउ तताउनुपर्छ । न्यानो ओढ्ने नभएर रातभरि जीउ नतातेपछि भोलिपल्ट काम गर्न सक्दैनन् । रोगव्याधि नलाग्ने भने पनि पोसिलो खाना र न्यानो कपडा अभावमा मुसहर समुदाय भने जाडोकै बेला बढी बिरामी पर्छन् ।’

प्रकाशित: २ माघ २०७५ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App