coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

अलपत्र बलान नदीको पुल। फाइल तस्बिर : नागरिक

सिरहा - सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ। हुलाकी सडकखण्डको सिरहा र सप्तरी जोड्ने चार सय ७० मिटर लम्बाइको बलान पुल ०६८ चैत १५ गते शर्मा पप्पु जेभीले ०७२ भदौ १४ सम्म बनाइसक्ने गरी सम्झौता गरेको थियो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले ४२ महिनामा पुल निर्माण सक्न २४ करोड १२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। दुईपटकको थप म्याद सकिँदा पनि ५० प्रतिशतभन्दा बढी काम बाँकी रहेको योजना कार्यालयका इन्जिनियर मनोजकुमार मण्डलले बताए। ठेकेदारले बलान नदी पुल निर्माणका लागि अहिलेसम्म १५ करोड ५८ लाख भुक्तानी लिइसकेको छ। १० वर्षअघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा बलान नदीले धार परिवर्तन गरेर अझ फराकिलो बनेको छ। यसले पुल प्रयोगमा ल्याउनसमेत चुनौती थपिएको प्राविधिकको भनाइ छ।

बलान नदीको पुल भगवानपुर गाउँपालिका–१ का वडासदस्य श्रीप्रसाद पण्डितका अनुसार निर्माण सुरु हुँदाको बेलाभन्दा अहिले नदी दोब्बर फराकिलो भइसक्यो। नदी पश्चिमतर्फ हान्निँदै गएको छ। वर्षैपिच्छे पश्चिमी किनारतर्फ कटान बढ्दो छ।  २०६८ जेठ ३१ मा ठेक्का लागेर सिरहा–धनुषा जोड्ने कमला नदीको पुल निर्माण सुरु भएपछि स्थानीय पुल बन्नेमा ढुक्क भए। तर, आठ वर्ष सात महिना भइसक्दा पनि पुल नबन्दा उनीहरुको आशा निराशामा परिणत भएको छ। सम्झौता अनुसार २०७१ मंसिर ३१ गते निर्माण सकिनुपर्ने पुलको काम धकेलिँदै गएको छ। 

इन्जिनियर मण्डलका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधबीचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको थियो। ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३१ गते निर्माण पूरा गर्ने उल्लेख छ। तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३१ गतेसम्म समय लम्ब्याए पनि पुल अधुरै छ। इन्जिनियर मण्डलका अनुसार  ठेकेदारको लापरबाहीले पुल पूरा हुन अझै ४६ प्रतिशत काम बाँकी रहेको छ। ठेकेदारले अहिलेसम्म १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ।

निर्माण हुनुपर्ने पुलहरु वर्षौंसम्म ‘होल्ड’ हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादवले बताउँछन्। पुल निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएर ६ महिनाभित्र पूरा गर्न समितिले पुस १७ गतेदेखि हुलाकी सडकअन्तर्गत सिरहाको महावीर चोकबाट अनसन सुरु ग¥यो। अहिले यो अनसन धनुषाको जनकपुरसम्म फैलिएको संयोजक यादवले बताए। हामी माघ १ गतेदेखि जनकपुरको जनक चोकमा अनसन सुरु गरेका छौं,’ यादवले भने, ‘सरकार र ठेकेदार पक्षबाट ६ महिनाभित्र बलान र कमला नदीको पुल बनाउने प्रतिबद्धता नआएसम्म अनसन जारी रहन्छ। हुलाकी सडकका लागि हामीले ‘सत्याग्रह’ सुरु गरिसकेका छौं,’ उनले भने, ‘सरकार र ठेकेदार पक्षको उदासिनताले आन्दोलन फैलदै जान्छ। छिट्टै सप्तरीमा पनि ‘अनसन’ सुरु हुँदैछ,’ उनले भने। सिरहामा १५ दिनदेखि अनसन जारी छ।

हुुलाकी राजमार्गअन्तर्गतका बलान र कमला पुुलको निर्माण सम्पन्न भए यस भेगका जनताको जीवनमा ठूलो राहत पुग्ने सिरहाका बुद्धिजीवी नविनकुमार यादवको भनाइ छ। नदीमाथि पुल निर्माण भइदिए मधेसको जीवनशैली सहज हुन्थ्यो। ग्रामीण जनताले आफ्ना उत्पादनको बजार रोज्न पाउँथे। जहाँ बढी मूल्य त्यहिँ आफ्ना उत्पादन बिक्री गर्ने विकल्प पाउँथे। तर, ठेकेदारको लापरबाही र सरकारको उदासिन्ताले मधेसको जीवनशैली कठिन हुँदै गएको यादवको भनाइ छ।  

पदयात्रादेखि अनसनसम्म
साउन २८ गते हुलाकी सडक संघर्ष समितिले सिरहामा जुलुस निकालेर कमला र बलान पुलका ठेकेदार शर्मा पप्पु कन्स्ट्रक्सनको ठेक्का खारेज गरी जरिवाना भराउन माग ग¥यो। संघर्ष समितिका संयोजक रामरिझन यादवले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाएर वर्षौदेखि जनतालाई मारमा पारेर पुल निर्माण कार्य अलपत्र पारेकाले ठेकेदार कम्पनीउपर कारबाही माग गरे। कुनै सुनवाइ नभएपछि समितिले सिरहा बजारको महावीर चोकमा दबाबस्वरुप आधा घण्टा चक्काजाम गरे। भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म यादवको नेतृत्वमा सप्तरीको राजबिराजबाट जनकपुुरसम्म ९० किलोमिटर पदयात्रा सम्पन्न गरी प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको समितिका सिरहा संयोजक मनोज पासवानले बताए। मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापन पत्रमार्फत हुलाकी सडकअन्तर्गका अलपत्र पुल सुचारु गराउन दबाब दिइएको थियो,’ पासवानले भने। जति गर्दा पनि पुल निर्माणको काम सुरु नहुँदा हुलाकी सडकअन्तर्गतको सिरहा महावीर चोकमा रिले अनसन सुरु गरी सरकार र ठेकेदारसँग ६ महिनाभित्र कमला र बलान पुल निर्माण सम्पन्न गर्ने, गराउने लिखित प्रतिबद्धताको माग गरेका हौं,’ संयोजक रामरिझन यादवले भने।

भुक्तानीको झमेला छैन : सरकार पक्ष
कमला र बलान पुलको निर्माण ६ महिनाभित्र सम्पन्न गर्नेगरी लिखित प्रतिबद्धताको माग राख्दै हुलाकी सडक संघर्ष समितिले अनसन सुरु गरेपछि निर्माण कम्पनी जुर्मुराएको छ। पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारले समितिका संयोजक रामरिझन यादवलाई फोन गरेर सरकारपक्षले आफ्नो बक्यौता रकम रोकेका कारण पुल निर्माण काम रोकिएको जिकिर गरेको छ। फोनमा यादवसँग रौनियारले भने ‘माग गरे बमोजिमको बक्यौता सरकारबाट भुक्तानी भए तीन महिनाभित्रमा पुल निर्माण सम्पन्न हुन्छ।’ 

यता, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलले ठेकेदारपक्षले काम अनुरुपको भुक्तानी पाइसकेको बताए। ‘काम सम्पन्न भएजति भुक्तानी ठेकेदार पक्षले पाइसकेका छन्,’ मण्डलले भने, ‘बक्यौता भुक्तानीको कुनै लफडा बाँकी छैन। पुल निर्माणको काम अलपत्र पारेर थपिएको समयसमेत गुजारिसकेको यस निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत सुरु भइसकेको छ।’

प्रकाशित: २ माघ २०७५ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App