८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

काठमाडौं - साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्र्याक पूरा भएको छ। 

उक्त सडकको लागि आर्थिक वर्ष २०६०÷०६१ मा ३५ हजार रुपैयाँ मात्रै बजेट छुट्ट्याएको थियो। त्यो वर्ष आधा किलोमिटर पनि बाटो खन्न नसकेको स्थानीयको भनाइ छ। यसपछि बजेट नपरेपछि उक्त खण्ड अलपत्र परेको थियो। यसपछि आर्थिक वर्ष ०६६÷६७ मा दुई लाख रुपैयाँ परेको थियो। यसले चक्पासम्मको सडक खण्ड खोलिएको थियो। दोलखा–नागदह सडक खण्डलाई प्राथमिकतामा राखेका कारण डिलढुंगा सोक्ला खेलाप सडक ओझेलमा पर्दै आएको थियो। तामाकोसीमा सडकको ट्र्याक पुगेपछि सोक्ला र खेलापका स्थानीयमा खुसी छाएको छ। 

अहिले खेलाप गाउँसँगै जोडिएको तामाकोसी दोभानसम्म सडक पुगेको भिमेश्वर नगरपालिका–२ का वडा सदस्य तथा स्थानीय निरबहादुर तामाङले जानकारी दिए। भौतिक विकास र शैक्षिक दृष्टिले ओझेलमा परेको सोक्ला खेलापमा पहिलोपटक सडक खण्ड पूरा भएपछि निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा भएको वडा सदस्य तामाङले बताए।‘सदरमुकामकै मुनि हो सोक्ला खेलाप गाउँ। नगरपालिका र जिल्ला समन्वय समितिले हरेक वर्ष छुट्ट्याउने बजेटमा पनि यो ओझेलमा छ। १५ वर्षपछि पाँच किलोमिटर सडक खण्डमात्रै खन्नु भनेको टुकीमुनिकै ओझेल हो,’ उनले भने, ‘नगरपालिकाकै आयस्रोत भएको ठाउँ हो, जहाँबाट सहजै तामाकोसीको बालुवा रोडा बिक्री गरेर करोडौं राजस्व उठाउन सक्छौं।’ 

नगरपालिकाले यस क्षेत्रलाई आर्थिक क्षेत्रको रुपमा अघि सार्न नसक्दा स्थानीय पछि परेको उनको भनाइ छ। चालु आर्थिक वर्षमा उक्त सडक खण्डको लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकमले अपुग हुने भएपछि थप दुई लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको थियो। उक्त सडकलाई मर्मत गर्ने हो भने नगरपालिकाकै आर्थिक स्रोत हुने वडासदस्य तामाङको भनाइ छ। तामाङले लामो समयदेखि दोलखामुनि सामाजिक तथा विकासको काम गर्दै आएका छन्। उनकै रोहबरमा नगरपालिकाले उक्त सडक खण्ड सर्भे गरेको थियो। 

यस सडकलाई ग्रामीण पर्यटन मार्गको रुपमा विकास गर्नुपर्ने उनको धारणा छ। तामाकोसी किनारामा मौलिक पहिचान भएको गाउँ भएकाले पर्यटन मार्गको नाम दिन सकिने उनको दाबी छ। ‘तामाकोसीमा -याफ्टिङ गर्न सक्छौं। तामाकोसीदेखि दोलखा भिमेश्वर मन्दिरसम्म डेट घन्टाको हाइकिङ गर्ने रुट छ, जहाँबाट गौरीशंकर हिमालको दृश्य सजिलै देख्न सक्छौं,’ उनले मंगलबार नागरिकसँग भने, ‘यसकारण हामी यस क्षेत्रलाई ग्रामीण पर्यटन मार्गको रुपमा विकास गर्न चाहन्छौं।’  यसका लागि भिमेश्वर नगरपालिका र जिल्ला समन्वय समितिले उक्त सडक खण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। विकास निर्माणको बजेट दोलखा बजारबाट तल जानै नदिने प्रवृत्तिका कारण फूलपा, न्यागल, चक्पा सोक्ला नागदहपछि पर्दै आएको स्थानीयको भनाइ छ। 

प्रकाशित: २ माघ २०७५ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App