७ वैशाख २०८१ शुक्रबार
अन्य

हेयर स्टाइलमा सिजनको प्रभाव

पछिल्लो समय कपाललाई आकर्षक तथा स्टाइलिस्ट बनाउने शौखिनहरुको संख्या बाक्लै देखिन्छ । विशेषगरी युवापुस्तामाझ कपाललाई स्टाइलिस्ट बनाउने प्रवृत्ति बढी देखिन्छ । कपालको स्टाइलका बारेमा नागरिक परिवारमा उपेन्द्र खड्काले लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोका हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरसँग गरेको कुराकानी : 

पछिल्लो समय हेयर स्टाइल पार्नेको संख्या कस्तो छ ?

कहिले काहीँ त भ्याइनभ्याइ नै हुन्छ । दिनदिनै हेयर स्टाइल बनाउनेको संख्या बढिरहेको देखिन्छ । विशेषगरी युवा पुस्ता नै बढी हेयर स्टाइलका शौखिन छन् । 

सिजनले पनि हेयर स्टाइलमा प्रभाव पर्छ भनिन्छ, कसरी प्रभाव पार्छ ?

हो, सिजनले पनि हेयर स्टाइलमा प्रभाव पारेको हुन्छ । खेलको सिजनमा खेल तथा लोकप्रिय खेलाडीको प्रभाव परेको हुन्छ । फुटबलको समयमा लोकप्रिय खेलाडीको जस्तो हेयर स्टिाइल बनाउनेको होड नै देखिन्छ । केही महिना अगाडि भएको विश्वकप फुटबलमा रोनाल्डो, मेसीजस्ता खेलाडीको जस्तो हेयर स्टाइल बनाउने युवाको जमात ठूलै थियो । विश्वकपको समयमा भ्याइनभ्याई भएको थियो । कसैले फिफाको लोगो नै बनाएका थिए भने कसैले कपालको कटिङ स्टाइलले खेलाडीको नाम नै लेखेका थिए भने कतिले फुटबल स्टाइलमा पनि कपाल काटेका थिए । रेस्लिङबाट पनि युवाहरु प्रभावित भएको देखिन्छ । रेस्लिङ खेलाडीको जस्तै कपाल काटिदिनु प-यो भन्दै स्याम्पल देखाउँदै आउँछन् । 

हेयर स्टाइलका लागि कुन उमेर समूह बढी मात्रामा आउँछन् ?

स्वभावैले टिनेज उमेरमा कपाललाई स्टाइलिस बनाउँछन् । ३० वर्षभन्दा कम उमेर समूहका पुरुष कपालको स्टाइलका लागि सैलुन पुगेको देखिन्छ । यो उमेर समूह एक्सपेरिमेन्ट गर्ने उमेर पनि भएकाले टिनएज उमेरका युवा नै बढी कपालका स्टाइलका लागि आउँछन् । टिनेजरलाई स्टाइलिस्ट कपालको शौखिन हुन्छ । छोराछोरीको इच्छाका कारण अभिभावक पनि बच्चाको स्टाइलिस्ट हेयर कटिङका लागि आउने गरेका छन् । 

पेशा अनुसार पनि कपाल काटिन्छ ?

अवश्य, पेशाअनुसार कपाल काटिन्छ । जोगीले कपाल काट्ने हो भने कस्तो देखिन्छ  ! त्यसैले पेशाअनुसार कपाल काटिन्छ । टिनएजपछि विभिन्न पेशामा काम गर्ने व्यक्तिले पेशा अनुसारको हेयर स्टाइलमा केस काट्छन् । अफिसियल काम गर्नेले आफ्नो पेशाअनुसार जेन्टल देखिने किसिमको कपाल काट्छन् । अफिसमा जागिर खाने युवाले भने अगाडि हल्का लामो राखेर केही ठाडो पारेर कपाल काट्ने चलन छ । अफिसमा काम गर्ने प्रायःले धेरै लामो कपाल पाल्दैनन् । 

लाम्चो र गोलो अनुहार भएकाले कस्तो स्टाइलले दाह्री र कपाल काट्दा उपयुक्त हुन्छ ?

पछिल्लो समय युवा पुस्तामा दाह्री पाल्ने चलन बढेको  देखिन्छ । अनुहारअनुसार दाह्री काटिएन भने असुहाउँदिलो देखिन्छ । त्यसैले अनुहारको सेपअनुसार दाह्री काट्नुपर्छ । गोलो (राउण्ड) अनुहार हुनेले चिउँडोमा केही लामो दाह्री राख्नु उपयुक्त हुन्छ । गोलो अनुहार हुनेले केही लामो दाह्री राखेर काट्दा अनुहार केही लाम्चो जस्तो देखिनुका साथै अनुहारमा सुहाउँछ । 

लाम्चो किसिमको अनुहार हुनेले चिउँडोको दाह्री अलि बढी काटेर छोटो बनाउँदा उपयुक्त हुन्छ । लाम्चो अनुहार हुनेले गालाको दाह्री भने केही लामो पार्नु उपयुक्त हुन्छ । लाम्चो अनुहार भएकाले चिउडोको दाह्री छोट्याएर गालाको दाह्री केही लामो छोड्दा अनुहार त्यति लाम्चो देखिँदैन । केही भए पनि गोलो देखिन्छ र सुहाउँछ । 

गोलो अनुहार भएका व्यक्तिले टाउकाको माथिपट्टीको भाग अर्थात् तालुमा अलि बढी लामो केस राख्दा राम्रो । तालुको कपाल केही लामो छोड्दा थोरै भए पनि लाम्चो अनुहार देखिन्छ । लाम्चो अनुहार भएका व्यक्तिले भने तालुको कपाल अलि बढी काटेर साइडको भागमा केही लामो छोड्नु उपयुक्त हुन्छ । दायाँबायाँ केही लामो राखेर तालुमा छोटो बनाउँदा लाम्चो अनुहार हुनेको अनुहार थप लाम्चो देखिनबाट जोगिन्छ । होचो व्यक्तिले तालुमा हल्का कपाल राख्दा अग्लो देखिन सक्छ भने अग्लो व्यक्तिले तालुमा कपाल छोटो पार्दा उपयुक्त हुन्छ । 

महिलाको पनि हेयर स्टाइलको सिजन हुन्छ ?

पुरुष मात्रै हैन महिलामा पनि सिजनअनुसार हेयर स्टाइलको प्रभाव पर्छ । जाडोको सिजनमा महिलाले बढी लामो कपाल राख्छन् भने गर्मीमा छोट्याउँछन् । धेरैजसो १५ वर्षका किशोरीदेखि ४० वर्षसम्मका महिला हेयर स्टाइल बनाउन आउँछन् । विवाहको सिजनमा पनि महिला हेयर स्टाइलका लागि आउँछन् । 

अहिले कस्ता—कस्ता स्टाइल चलेका छन् ?

कपाल लामो राख्नेलाई फरवाड ग्राजुएसन, अगाडि छोटो पछाडि लामो राख्नेलाई फेदर स्टाइल भनिन्छ । लेयर, स्टेप्स, ग्राजुएसन, वानलेन्थ, इन्भटेड ग्राजुएसन, लङ बब मन पराइने हेयर स्टाइल हुन् । पाँच सयभन्दा धेरै किसिमका स्टाइलमा कपाल काटिन्छ । 

कस्तो अनुहार भएकाले कस्तो हेयर कलर गर्दा सुन्दर देखिन्छ ?

४५ वर्षसम्म उमेर समूहका व्यक्तिले बढी केस रंग्याउन आउने गरेका छन् । हेयर कलर गर्दा अनुहार सुहाउँदो कलर गर्नुपर्छ । गोरो अनुहार भएका व्यक्तिका लागि लाइट ब्राउन, लाइट ब्लन्ड, चेरीरेड हेयर कलर सुहाउँछ । गोरो स्किन भएका व्यक्तिलाई प्रायः सबै किसिमका रंग कपालमा लगाउँदा सुहाउँछ । 

गहुँगोरो अनुहार भएका व्यक्तिका लागि भने हल्का रातो, पित्तलजस्तो हेयर कलर सुहाउँछ भने रातो र चेरी कलर सुहाउँछ । 

कपालमा कलर पनि पेशाअनुसार लगाइन्छ । ग्ल्यामर किसिमका पेशाकर्मीले स्टाइलिस्ट कलर गरेको देखिन्छ भने अफिसियल काम गर्ने व्यक्तिले सामान्य किसिमको कलर गर्न आउँछन् । 

हेयर कलरमा खर्च कति हुन्छ ?

कपालमा कलर गर्दा सामान्यतया दुई हजारदेखि ६ हजारसम्म खर्च हुन्छ । एकपटक कपालको कलर गर्दा पुरुषको एक हजारदेखि २५ सयसम्म खर्च हुन्छ । सामान्यतयाः महिलाले कपाल कम काट्ने भएकाले पुरुषको तुलनामा हेयर कलरमा बढी खर्च हुन्छ । किनकि पुरुष कपाल काटी रहन्छन् । कपाल पनि काटिरहने कलर पनि गरिरहने गर्दा महिलाको तुलनामा पुरुषको बढी खर्च हुन्छ । महिलाको लामो कपाल हुने भएकाले सुरुमा महिलाको खर्च धेरै हुन्छ । त्यसैले वार्षिक हिसाब गर्दा हेयर कलरमा पुरुषको खर्च बढी देखिन्छ । 

एकपटक लगाएको हेयर कलर मन परेन भने फेरि अर्को कलर लगाउँदा कपालमा कस्तो असर हुन्छ ?

एकपटक लगाएको कलर मन परेन भने अर्को कलर लगाउन पनि सकिन्छ । रङ परिवर्तन गर्दा कपाल केही सुख्खा भने हुन सक्छ । रंगको केमिकलका कारणले कपालै झर्ने भन्ने त हुँदैन । कलर गरेर केयर नगर्ने हो भने कपाल टुक्रिने डर हुन्छ ।  

राम्रो ब्रान्डको हेयर कलर एकपटक लगाएपछि लामो समयसम्म लगाउनु पर्दैन । दोहो-याएर लगाउनु पनि पर्दैन । तर नयाँ पलाएका कपाललाई भने तीन महिनामा एकपटक फेरि कलर गर्दा राम्रो हुन्छ । मुनिबाट पलाएको कपाललाई कलर गरिनुलाई ‘रुट टच अप’ भनिन्छ ।  

त्यसो भए कपालको स्याहार कसरी गर्न सकिन्छ त ? 

कपालको कलर गरिसकेपछि बेलाबेलामा नरिवल, ओलिभ आयल, तोरी लगायतको तेल लगाउन सकिन्छ । तेलले कपाल सुख्खा हुनबाट बचाउँछ । तेलले कपालको जरालाई पनि मजबुत बनाउन सहयोग गर्छ । 

कपाल अनुसारको स्याम्पु प्रयोग गर्नुपर्छ । सुख्खा कपालका लागि त्यही किसिमको स्याम्पु प्रयोग गर्नुपर्छ भने चिप्लो कपालमा चिप्लो हटाउने किसिमको स्याम्पुले कपाल नुहाउनु उपयुक्त हुन्छ । ब्युटिसियन तथा चिकित्सकको सल्लाहमा स्याम्पु तथा तेल प्रयोग गर्दा राम्रो । 

प्रकाशित: २ माघ २०७५ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App