६ वैशाख २०८१ बिहीबार
विचार

राष्ट्रनिर्मातामाथि राजनीति

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो। तर  माओको पार्थिव अवशान र डेङको अभ्युदयपछि त्यो चौकडीको निर्मम अवशान हुनपुग्यो। एकताका अफगानिस्तानमा तालिवानहरूले महामना गौतम बुद्धको विशालकाय मूर्ति भत्काउने काम गरे। उनीहरूले धार्मिक एकाधिकारका निम्ति र परिवर्तनको नारामा यसो गरेका थिए। तालिवानी सत्ता पनि धेरै दिन टिकेन। परिवर्तनका नाउँमा राजनीतिक अतिवाद होस् कि धार्मिक अतिवाद, तिनको अवशान अनिवार्य हुन्छ भन्ने उदाहरण यी दुई घटनामात्र नहुनसक्छन्। यहांँनेर प्रतीकात्मकरूपले मात्र यी घटना उल्लेख गरिएको हो।

राष्ट्रियताको जरो होस् वा परिवर्तनको जग, जनतासँग जोडिएको हुन्छ। जसरी जनताबिनाको राष्ट्र र राष्ट्रियताको कल्पना गर्नसकिँदेैन, त्यसरी नै  भूगोलबिनाको राष्ट्र र राष्ट्रियताको परिकल्पना हुनसक्दैेन। नेपाल राष्ट्र निर्माण अभियानलाई लिएर अहिले अनेक अराजक चिन्तन फैलाउने काम भइरहेका सन्दर्भमा तत्कालीन श्री ५ बडामहाराज पृथ्वीनारायण शाहका विषयमा केही लेख्नु सान्दर्भिक हुनेछ। पृथ्वीनारायण शाहका विषयमा उनको राष्ट्र निर्माणको योगदानका विषयमा लेख्दा कसैलाई प्रतिगमनको वकालत गरेजस्तो लाग्न सक्ला तर आफ्ना पुर्खाको योगदान जसका कारण वर्तमान पुस्ताको मात्र नभएर भविष्यका अनेक पुस्ताको समेत स्वतन्त्रता र स्वाभिमान जोगिएको हुन्छ र आफ्नो भूमिको गौरव गर्न पाउने हुन्छ, त्यस्ता घटना र पात्रहरूको स्मरण जहिले पनि उपयुक्त हुन्छ।

भर्खरै मात्र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनका चर्चित र स्थापित नायकहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृति सम्मानमा स्थापना गर्न लागिएका दुईटा अस्पताल खारेज गर्न सरकार प्रयत्नशील रहेको भन्दै चेतावनी र चुनौती दिनुभएको छ। सडक, अस्पताल, विद्यालय आदि अनेकमा अहिले साम्यवादी विचारमा आबद्ध नेताहरू जोडिन लागेका छन्। तर लोकतान्त्रिक आन्दोलनका अभियन्ता र निर्णायक चरणका नायकहरूका नाममा स्थापित संस्थाहरू खारेज गर्ने प्रयास निन्दनीय र खेदजनक मान्नुपर्छ। नेपालबाट राजसंंस्था उन्मूलन गर्ने घटनाका मुख्यपात्र र त्यसलाई संस्थागत गर्ने मूल व्यक्तिका नाउँलाई एकदशक नपुग्दै यसरी अपमानित गर्ने प्रयास आश्चर्यजनक हो। 

नेपाल मात्र यस्तो देश हो जहाँ आफ्नो देशको गौरवलाई घाइते बनाउने प्रयास गरिन्छ। २०६३ सालको परिवर्तनपछि पृथ्वीनारायण शाहका सालिक ढाल्ने काम गरियो।

त्यसो त १२ वर्षपहिले अनेकौंँ जातीय राजसंस्थाहरूको अन्तिम अवशेष शाही राजसंस्थालाई बिदाइ गरिएसंँगै नेपाल निर्माणका प्रमुख अभियन्ता पृथ्वीनारायण शाहविरुद्ध अनेक आरोपसहित आधारहीन तर्कहरूको प्रहार केन्द्रित हुँदैछ। कसैले राष्ट्रनिर्माताको सालिक फुटाउने, उनका तस्बिरमा कसैले थुक्ने, अनि उनले राज्य विस्तारका क्रममा बोराका बोरा कुनै जातका टाउका खोलामा बहाएको अथवा बोराका बोरा कसेैका नाक काटेर पुरेको भन्ने जस्ता विचार र तर्क सार्वजनिक भइरहेका छन्। यस्ता तर्कहरू नेपालको एकीकृत, स्वतन्त्र र शक्तिशाली राज्य निर्माणको प््रायासविरुद्ध प्रतिशोधकारी चिन्तनबाट प्रेरित छन् भन्नेमा कुनै सन्देह छैन। राजा पृथ्वीनारायणले त्यसबेला हिमालसम्ंम पुग्न लागेको अंग्रेज साम्राज्यलाई तल मधेसमा नै रोक्ने काम गरेका थिए। 

१६ औँं शताब्दीदेखिनै विशाल भारतका जनता र अनेक बलशाली राज्य र राजाहरू अंग्रेजको दासता स्वीकार गरी अंग्रेजको साम्राज्यको हिस्सा बनेका थिए। आजको भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका आदि सबै नै अंग्रेजी साम्राज्यको सेवा गरेर बसेका थिए। उनीहरूको आर्थिक, धार्मिक, सांस्कृतिक र सामरिक शक्तिमाथि अंग्रेजी सत्ता पूर्णरूपमा हावी भएको थियो। तर हिमालको काखमा रहेको यो सुन्दर भूमि नेपाल भने स्वतन्त्र रहेपनि विभाजित थियो। साना राज्यहरूको कमजोर अवस्थाकै कारण विदेशबाट आएका डोयहरूको, मुसलमानहरूको आक्रमण यो भूमिले खेप्नुपरेको सबैलाई थाहा छ। ती युद्धमा नेपालले आफ्नो धेरै सम्पत्ति, प्राचीन कला÷संस्कृतिका धरोहरसमेत गुमाउनुपरेको इतिहासमा अंकित छ। यी आक्रमणबाट जोगिन र यसभूखण्डमा सिंगो राज्य निर्माण गर्ने क्रममा अनेक राजाले गरेको एकीकरणको प्रयास असफल हुँदै स्थानीय सामन्तहरू नै राजा भएर जनतामाथि हुकुम चलाइरहेका थिए।
नागराजको अभियान होस् कि यक्ष मल्लको अथवा मुकुन्दसेनको, सबैले राज्य बिस्तार गरे पनि टिक्न सकेको थिएन। अनेक जातीय राज्यहरूले स्थानीय राज्यहरू कायम गरी शासन गरिरहेका थिए। इतिहासको पूर्वकाल गोपाल, महिषपाल र सर्वाधिक शासन गर्ने किरातकाल रहेको छ। नेपालको एक भूभागमा किरांतीहरूले करिब दुई हजार वर्ष शासन गरेका हुन्। कालान्तरमा विभाजित, विखण्डित राज्यहरूमाथि कुनै पनि समयमा अंग्रेज सेनाको बुट प्रहार हुनु निश्चित थियो। यस भूगोलको स्वतन्त्रता सुरक्षित हुने कुनै सम्भावना थिएन। साना राज्यहरूएक हुनु वा एउटै राज्यका रूपमा स्थापित हुनु अनिवार्य भइसकेको अवस्थामा अत्यन्त कमजोर र तुलनात्मकरूपले गरिबगोरखाली राजाले एकीकरण र क्षेत्रीय सुरक्षाको अभियान आरम्भ गरेको देखिन्छ। यसमा शासकीय महत्वाकांक्षा थिएन भन्ने आधार हुँदेैन। तत्कालीन परिस्थितिमा कुनै पनि राजामा महत्वाकांक्षा थिएन भनेर तर्क गर्नु नित्तान्त गलत हुनेछ। पृथ्वीनारायणमा पनि महात्वाकांक्षा निश्चित थियो भन्नुपर्ने हुन्छ। 


नेपाल निर्माण गर्ने नायक पृथ्वीनारायणको सम्मान गर्नु प्रतिगमन÷पश्चगमन हुँदैन। पुस २७ लाई एकता दिवस र पृथ्वीजयन्तीका रूपमा मनाउँदा वर्तमान परिवर्तन गुम्ने खतरा हुँदैन।

तर तिनै नेपालको एकीकरणका अभियन्ता र यस भूगोलको स्वतन्त्रताका सुरक्षक पृथ्वीनारायण शाहबारे अनेक भ्रम छर्ने प्रयास भइरहेको छ।२०६३ सालको परिवर्तनपछि च्याउझैँ उम्रिएका विचारक, दार्शनिक, विद्वान्, विश्लेषक र विवेचकहरूले इतिहासलाई मनोगत विश्लेषणका आधारमा तोडमरोड गर्ने काम गरिरहेका छन्। त्यो पनि पृथ्वीनारायण शाहले जसलाई नराम्ररी हराए तिनीहरूले नै लेखेका इतिहासका पुस्तकहरूका आधारमा यस्ता विश्लेषण र तर्क प्रस्तुत भइरहेका छन्। राजसंस्थालाई विगतमा लामो समयसम्म एकताको सूत्र भनेर नेपालीले पढी नै रहे। तर एकीकरण गरेपनि राजा पृथ्वीनारायणका अरु उत्तराधिकारी वंशजहरूले भने आफूलाई जनताको बनाउन सकेनन्। राजालाई एकप्रकारले आफ्नो अधीनस्थ गरी जनताको छोरो जंगबहादुर राणाले आफ्नो पारिवारिक शासन चलाउने काम गरेपछि त शाही राजाहरूको भूमिका लामो कालखण्डसम्म केही पनि रहेन।

राणा जंगबहादुरले पनि सबै नराम्रा काम गरेका होइनन्। उनले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूमि नेपालमा भित्र्याउने काम गरे। त्यस समयमा जंगबहादुरले त्यो भूमिसमेत फिर्ता नगराएका भए आज हाम्रो सीमा कति कम हुने थियो भन्ने अनुमान गर्न कठिन छैन। राम्रा कामहरूको जस दिने प्रचलन नेपाली समाजमा घट्दै गएको छ। राणा शासन समाप्त हुनासाथ त्यसले गरेका सबै असल कामहरूको भन्दा खराब कामहरूको व्याख्यामा हामीले धेरै शब्द खर्चेका छौँं। अहिले शाही राजसत्ता अन्त्यको लगत्तै अनेक क्रान्तिकारी विश्लेषकहरू मरेको घोडाका पिठ्युँमा चावुक हान्न थालेका छन् र नेपाल निर्माणको विषयलाई समेत अस्वीकार गर्न लागेका छन्। 

नेपालको निर्माणलाई अस्वीकार गर्नेहरूले यो वा त्यो रूपमा नेपालको आजको एकता, सार्वभौमिक अखण्डता र स्वतन्त्रतालाई समेत इन्कार गर्न खोजेकोे देखिन्छ। यहीँनेर प्रश्न उठ्छ– के नेपालको एकीकरण गलत थियो ? कि नेपालको स्वतन्त्रताको सुरक्षा हुनु गलत हो ? के अंग्रेज वा अरु कुनै देशका फौज आएर यस देशमा शासन गरेका भए सही र स्वीकार्य हुने थियो त ? संसारमा आफ्नो देशप्रति गौरव नगर्ने कोही पनि हुँदेैन। तर नेपाल मात्र यस्तो देश हो जहाँ आफ्नो देशको गौरवलाई घाइते बनाउने प्रयास गरिन्छ। २०६३ सालको परिवर्तनपछि पृथ्वीनारायण शाहका सालिक ढाल्ने काम गरियो। उनलाई आर्थिक उपाय सुझाउनेहरूका सालिक बन्न थाले। एकीकरणमा सहयोग गर्नेहरूका नाममा अनेक काम हुन थाले। तर मूल नेतृत्वगर्नेको भने उछित्तो काढ्न थालियो। यो उछित्तो कढाइको अन्तरनिहीत आसय नेपालमा जातीय घृणा फैलाउने, जातीय द्वन्द्व विकास गर्ने, धार्मिक÷सांस्कृतिक अतिक्रमणलाई व्यापक बनाउने रहेको स्पष्ट छ। यही निहुँमा केही कुण्ठाजन्य सोचहरूले देशलाई खण्डित वनाउनुपर्ने दुराशयको पोकोसमेत खोलिरहेका छन्।

नेपालले संघीय राज्यव्यवस्था अंगीकार गरेको छ। राजसंस्था पूर्णतः अवशान भइसकेको छ। नेपाल अब कुनै एक जाति, एक वर्ग, एक धर्म, एक भाषा र संस्कृतिले नेतृत्व गर्ने अवस्थामा छैन। विगतमा फर्किने कुनै सम्भावना छैन। तर यसो भन्दैमा नेपालको एकीकरण बेठीक थियो भन्ने तर्क उचित र न्यायसंगत हुन्छ त ? पृथ्वीनारायणका समयमा भारतीय उपमहाद्वीपमा समेत लोकतन्त्रको, जनताको सार्वभौम सर्वोच्चताको, समानता र न्यायको कुनै विचार नै प्रवेश भएको थिएन। तर राष्ट्रको स्वतन्त्रताको र आत्मरक्षाको चेत आमनागरिकदेखि शासकहरूमा समेत पर्याप्त थियो। यसैकारण गोरखाबाट आरम्भ भौगोलिक एकता, स्वतन्त्रता र सुरक्षाको अभियानलाई गोरखाली जनतासंँगै पछि जोडिएका राज्यका जनताले आत्मसात् गर्दै गएको प्रमाणित हुन्छ। 

गोरखाको अभियान भए पनि नेपाल नाम निरन्तर भएका कारण यो अभियान सिंगो नेपालको हुनपुगेको देखिन्छ। राज्यहरू एकीकरणमा सहभागी भए वा विलय भए वा विजीत भएपनि तिनका संस्कृति, धर्म, परम्परा सबैलाई गोरखालीहरूले सम्मान गर्नु आफँैमा त्यस समय महत्वपूर्ण थियो। आज प्रचलित अनेक परम्पराहरू त्यस समयमा पनि प्रचलनमा थिए। यसरी नेपाल निर्माण गर्ने नायक पृथ्वीनारायणको सम्मान गर्नु प्रतिगमन÷पश्चगमन हुँदैन। पुस २७ लाई एकता दिवस र पृथ्वीजयन्तीका रूपमा मनाउँदा वर्तमान परिवर्तन गुम्ने खतरा हुँदैन। बरु नयाँ पुस्ताले नेपालको राष्ट्रिय एकताको सिद्धान्त र इतिहास स्मरण गर्ने मौका पाउनेछन्। राष्ट्रिय एकताको विषय कुण्ठाजन्य राजनीतिको कोलमा पिसियो भने अनर्थ हुनेछ।

 

प्रकाशित: २ माघ २०७५ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App