७ वैशाख २०८१ शुक्रबार
समाज

विशेष सुरक्षा योजना लागू भएकै दिन लाखौंको चोरी

नेपालगन्ज–प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेकै दिन बाँकेको बेलहरी–९ बनियागाउँमा ७ वटा घरमा चोरी भएको छ। नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएको उक्त गाउँमा आइतबार राति करिव १५ लाख रुपैयाँ बराबरको चोरी भएको स्थानीय बासिन्दा दिनेश गुप्ताले जानकारी दिए।

उनका अनुसार स्थानीय मालदा धोवी, पर्शुराम धोवी, सिताराम तेली, राम बोहरी धोवी, जमाहिर काँदु, नन्द काँदु र किसुन काँदुको घरमा चोरी भएको हो। ‘गाउँको दुई ठाउँमा दुर्गा पूजा भएकाले धैरै जसो घरका मान्छे त्यतैतिर गएका थिए, त्यही मौकामा चोरी भयो,’ गुप्ताले भने।

घरमा सबै सुतेको अवस्थामा चोरले गरगहना, नगद, खाद्यान्नलगायत चोरेर लगेको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीयका अनुसार घटनास्थल जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३ किलोमिटर, भेरी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट डेढ किलोमिटर टाढा रहेको छ। बिहान पख चोरीको घटना थाहा पाए लगत्तै खबर गरेपनि प्रहरी बिहान १० बजे मात्र घटनास्थल पुगेर अनुसन्धान गरिरहेको स्थानीय बासिन्दाको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सरोज पौडेलले चोरी भएको घटना सम्बन्धी जानकारी आएपछि प्रहरी पुगेर अनुसन्धान गरिरहेको बताए । कार्यालयले आइतबार दिउँसो मात्र चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गर्दै आपराधिक क्रियाकलाप हुन नदिने बताएको थियो ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App