५ वैशाख २०८१ बुधबार
खेल

खप्तड गोल्डकप : संकटा सेमिफाइनलमा

धनगढी – क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले  पराजित गर्दै सिएमजी क्लब संकटा बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको  सेमिफाइनलमा प्रवेश गरेको छ। सयौं दर्शकले भरिएको धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमै संकटाले अग्रता लिएको थियो। लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए। 

खेलको १२औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले नबचाएको भए संकटाले अग्रता दोब्बर पार्ने थियो। पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तानले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार पनि खेर गयो।

दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले बराबरी गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन। गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेड बलले पोस्टको दिशा लिन सकेन। ५३औं मिनेटमा टिनाको क्रसमा नियाले गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो। दुई मिनेट बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन। पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा गरेर खेल्नुपरेका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। ‘लामो यात्रापछि खेल्दा खेलाडीले सोचेअनुसार खेल्न सकेनन्,’ उनले भने।

संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीतिअनुसार राम्रो खेलेको बताए। ‘खेलाडीले मिहिनेत गरेर रणनीतिअनुसार खेलेकाले जित हात पर्यो,’ उनले भने। खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे। संकटाले बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। बुधबार हुने पहिलो सेमिफाइनल रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ।

प्रकाशित: २ माघ २०७५ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App