७ वैशाख २०८१ शुक्रबार
समाज

मनाइयो माघे संक्रान्ति

भक्तपुर - मंगलबार भक्तपुरका स्थानीयले तेल घसेर घिउचाकु संक्रान्ति (माघे संक्रान्ति) मनाएका छन्। भक्तपुरमा घरका जेष्ठ सदस्यले परिवारका सबै सदस्यलाई जिउभरि तेल घसिदिएर संक्रान्ति मनाउने चलन छ। घरका सबै सदस्य घाममा बसेर परिवारका सबै सदस्यलाई तेल घसिदिने चलन भक्तपुरमा अझै छ।

संक्रान्तिका दिन घरघरमा परिवारका सबै सदस्य मिलेर घिउ र चाकू खाने पर्व भएकोले स्थानीयबासी यसलाई घिउ चाकू संक्रान्ति भनेर बुझछन्। घिउ र चाकुका साथै चिउरा, मासुका परिकारका साथै भोज खाने गर्दछन्। संक्रान्तिका दिन घाम ताप्दै घरका कौसीमा बसेर भोज खाने चलन छ। घिउ र चाकूसहतिको भोज खाएपछि परिवारका सबै सदस्यले जिउमा तेल लगाएर शरीर तन्दुरुस्थ पार्दछन्। स्थानीय रामप्यारी सुवाल वर्षमा एकपटक संक्रान्तिका दिन तेल मालिस गर्ने गरेको बताउँछन्। उनी भन्छिन्, ‘पहिलापहिला भए परिवारका जेष्ठ सदस्यले नै तेल घसिदिनुपर्छ भन्ने मान्यता थियो। अचेल भने परिवारका सदस्यले एकआपसमा तेल घस्ने गर्छन्।’

स्थानीय हरिप्रसाद स्वंंगमिखा तेल घस्दा शरीर तन्दुरुस्थ रहने भएकाले यो चलनले अहिलेसम्म पनि निरन्तरता पाएको सुनाउँछन्। माघे संक्रान्तिको दिन भक्तपुरको पाँचतले मन्दिर टौमढी टोलमा भएको तिलमाधव नारायणको मन्दिरमा मेला लागेको छ। यस दिन तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले खाएमा सन्तान प्राप्ति हुने जनविश्वास छ। संस्कृतिविद् ओमप्रसाद धौभडेल यो चलन वैज्ञानिकतासँग पनि जोडिएको सुनाउँछन्। यो दिनबाट सूर्य उत्तरायणबाट दक्षिणायन लाग्ने हुँदा मौसममा न्यानोपन आउने र त्यही न्यानोपनलाई हाम्रो शरीरले आत्मसात गर्न सकोस् भन्ने अभिप्रायले माघे संक्रान्तिमा घाममा बसेर तेल मालिस गर्नुका साथै घिउ चाकु खाने गरेको उनी बताउँछन्।संक्रान्तिको दिन प्रसिद्ध पाँचतले मन्दिर टौमढीको तिलमाधवनारायण चोकमा पनि बिहानैदेखि मेला लागेको थियो। तिलमाधव नारायणको जिउभरि घ्यू चाकु दल्ने र गाईलाई पकाएको गहुँ ख्वाउने चलन छ। भक्तपुरमा माघे संक्रान्तिको दिन भक्तपुरभरिका सबै नारायणको मूर्तिमा मूर्तिभरि घिउ दलेर तिल चढाउने गरिन्छ। उक्त घिउतिल चार दिनपछि झिकेर मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा दिने परम्परा छ।

प्रकाशित: २ माघ २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App