coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिंहदरवारको अधिकार गाउँमै पाउँदा घोर्थलीवासी दंग

गाउँँ आएको एकीकृत घुम्ति शिविरबाट सेवा लिँदै घोर्थलीवासी। तस्बिर : ध्रुव/नागरिक

घोर्थली (सिन्धुपाल्चोक) - गाउँमै नागरिकता प्रमाणपत्र १८ वर्षीय जिवा शेर्पा फुरुङ्ग थिए। स्थानीय विद्यालयमा १२ कक्षा पढ्ने उनले दुई वर्षअघि नै १६ वर्ष उमेर पूरा गरेपनि नागरिकता बनाउन सकेका थिएनन्। कारण थियो सदरमुकाम टाढा रहनु र खर्च अभाव हुनु।

उनले सदरमुकाम पुग्न घण्टौँ पैदल हिँड्नुका साथै तीनवटा बस फेर्नु पथ्र्यो। बिपन्न परिवारको उनलाई मोटो खर्च जोहो गर्नुपर्ने चिन्ता छँदै थियो। ‘निकै सुविधा भयो,’ गाउँमै नागरिकता पाएपछि दंग परेका जिवाले भने, ‘खर्च जोगियो। जिल्ला (सदरमुकाम) मा पुग्दा हुने हैरानी खेप्नु परेन।’ सिंहदरबारको अधिकार गाउँमा भन्दै बाह्रविसे नगरपालिका एकीकृत घुम्ति शिविर लिएर दोलखाको सीमानामा पर्ने यो हिमाली बस्तीमा आएपछि उनले घरआँगनमै सुविधा पाएका हुन्। शिविरबाट लाभ पाएपछि अझ खुशी देखिन्थिइन्, ८३ वर्षीया मंगलमाया मगर पनि। दमकी रोगी उनले डाक्टर भेटिन्। स्वास्थ्य परीक्षण गराएर दमको दबाइ लिइन् साथै खोकीको पनि। स्वास्थ्य चौकी पायक नपर्दा उनी खोकीको सामान्य औषधी पाउनबाट पनि बञ्चित रहिछन्।

मंगलमायाले पाएको सेवा यतिमै सीमित रहेन्। नगरपालिकाले उनलाई जेष्ठ नागरिक सम्मान प्रदान गर्‍यो। उनी गाउँकै सबैभन्दा बृद्धा रहिछन्। नगरप्रमुख निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिनले दोसल्ला ओढाउँदै सम्मानपत्रका साथ उनलाई नगद २ हजार ५ सय रुपैयाँ थमाए। ‘यसले स्वाँ–स्वाँ (दम) को औषधी र अरु खानेकुरा किनेर खाइ तागत फर्काउँछु,’ चौबन्दी चोलीको खल्तीमा नगद घुसार्दै उनले भनिन्, ‘सरकार फेरि आउँदै गरोस्, बुढाबुढीलाई आडभरोसा हुन्छ।’

दोलखाको चर्चित पर्यटकीय क्षेत्र कालिञ्चोकको ठ्याक्कै मुन्तिरको यो गाउँमा नागरिकतासहित पालिकाबाट प्राप्त हुने सबै सेवा लिएर बाह्रविसे नगर यहाँ आइपुगेको थियो। पालिकामा आइपुगेको सिंहदरवारको अधिकार गाउँ–बस्तीमा पुर्‍याउन एकीकृत शिविर ल्याएको प्रमुख शेर्पाले बताए। ‘नगर भए पनि हिमाली र पहाडी क्षेत्रका दुर्गम बस्तीमा अझै सरकारी सुविधा पुर्‍याउन सकस छ,’ उनले अनुभव सुनाए। शिविरबाट ४२ जनाले नागरिकता प्रमाणपत्र प्राप्त गरे। स्वास्थ्य परीक्षण, पशु र कृषिसेवामा स्थानीयको आकर्षण देखियो। एक सय ७० ले स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी लिए। एक सय ६५ परिवारले विभिन्न बीउबिजन र परामर्शसहित कृषि सेवा लिए। एक सय ५० परीवारले बस्तुभाउका लागि औषधी पाए। चौरीको पकेट क्षेत्र भएकाले चौरीपालक किसानले शिविरबाट ठूलो लाभ उठाए।

शिविरमा चार वृद्धवृद्धालाई नगद २ हजार ५ सय रुपैयाँका दरले जेष्ठ नागरिक सम्मान गर्नुका साथै पाँचजनालाई अपांग परिचयपत्र वितरण गरिएको थियो। सोही अवसरमा पालिकाको तर्फबाट विकासे पाँच आयोजना र एक विद्यालयको अनुगमन गरियो। नगरपालिकाले एक विद्यालयमा डिजिटल हाजिरसमेत जडान गर्‍यो। नगरपालिका र त्यहाँबाट उपलब्ध हुने सेवा, योजना तथा बजेटबारे जानकारी दिन बनाइएको ‘एप्स्’ मोबाइलमा वितरण गरिएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फइन्द्र पौडेलले शिविरबाट चार सय बढी स्थानीयले सुविधा लिएको बताए। साविक घोर्थली गाविस अहिले बाह्रविसे नगरपालिका–१ मा पर्छ। नगरपालिकाको कार्यालय बाह्रविसे बजारमा छ। धुले सडकले जोडेकाले गाउँमा हिउँदमा यातायात साधन चल्छन्। घण्टौ पैदलका साथै यातायात साधन चढेर नगरपालिका पुगी सेवा लिएर अझै पनि फर्कँन पूरै एक दिन लाग्छ।

मुकाममा रहने पालिकाबाट धेरै सेवा पाइने भए पनि अझै वडाबाट सुविधा उपलब्ध हुन सकेको छैन। नागरिकता बनाउन सदरमुकाम चौतारा पुगेर फर्कँन त दुई दिनै लाग्छ। ‘सिंहदरबारको अधिकार गाउँ आएको अनुभूति दिलाउन एउटा वडामा महिनाको एक दिन गाउँ पुग्छौँ,’ प्रमुख शेर्पाले भने। बाह्रविसे नगरले यसअघि गत महिना घुम्थाङमा यस्तै शिविर लगेको थियो।

प्रकाशित: २ माघ २०७५ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App