८ वैशाख २०८१ शनिबार
राजनीति

‘छापामार शैलीमा पार्टी फुटाइयो’

काठमाडौं - विवेकशील साझा पार्टीले असन्तुष्ट पक्षले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएका छन्। मंगलबार पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पूर्व संयोजक उज्ज्वल थापा नेतृत्वको समूहले नियोजितरूपमा पार्टी फुटाएको आरोप लगाए।

‘हामीलाई राजनीतिको अंकगणितबारे जानकारी थिएन, उहाँहरू यसमा अनुभवी हुनुहुँदो रहेछ, पत्तै नदिई पार्टी फुटाउनुभयो,’ आचार्याले भने। ‘सुसंस्कृत राजनीति गर्ने लक्ष्यसहित अघि बढेको पार्टीका नेता छुट्टिने नै भए पनि चिया खाएरै छुट्टिएको भए राम्रै सन्देश जान्थ्यो तर सुसंस्कृत राजनीतिको संस्कार देखाइएन,’ आचार्यले भने।

आचार्यले थापा पक्षले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रक्रिया सुरू गर्नुले नियोजितरूपमा पार्टी फुटाइएको पुष्टि हुने बताए। उनले दुई पार्टीबीच औपचारिक एकता भए पनि सुरु देखि नै भावनात्मक एकता हुन नसकेको बताए। आचार्यले आफूहरू वैकल्पिक शक्तिका रूपमा उदायका दलसँग एकताका लागि खुला रहेको पनि बताए। तर त्यस्तो एकता परम्परागत विचार राख्ने दलसँग भने असम्भव रहेको उनको भनाइ थियो।

एकता प्रक्रियामा बहस गर्दा वैकल्पिक राजनीतिक शक्तिको ऐतिहासिक पृष्ठभूमिलाई पनि ख्याल गरिने उनले बताए। पुस ३० देखि माघ १ गतेसम्म सञ्चालन भएको केन्द्रीय समिति बैठकले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गरेको छ। साथै यसबारेमा पार्टी संयोजक रवीन्द्र मिश्रले पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ। उक्त पार्टीले ०७६ फागुन १५ गतेदेखि १९ सम्म काठमाडौंमा पहिलो महाधिवेशन आयोजना गर्ने जनाएको छ।

हालै विवेकशील साझा पार्टीबाट छुट्टिएर विवेकशील नेपाल पार्टी दर्ता गरेको उज्ज्वल थापा नेतृत्वको विवेशशील पार्टीले भने छापामार शैलीमा छुट्टिइएको भन्ने आरोप अस्वीकार गरेको छ। पार्टीका एक जना केन्द्रीय सदस्य मिलन पाण्डेले आफूहरूले संविधानले व्यवस्था गरेको ऐन नियमअनुसार ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित भएर पार्टी दर्ता गरेकाले त्यसलाई छापामार शैली भन्न नमिल्ने उनको भनाई छ। उनले पार्टीभित्र परम्परागत अंकगणितीय हिसाबले निषेध गर्न खोजेपछि छुट्टिनुपरेको बताएका छन्। उनले विवेकशील साझाभित्रको गलत राजनीतिक उद्देश्यलाई रोक्नका लागि संवैधानिक बाटो अबलम्बन गरेको बताए।

विवेकशील साझाभित्रका नेतृत्वको भाषा शैली पनि पार्टी फुट्नुको एउटा कारण हो भन्छन्, पाण्डे। ‘पार्टी नेतृत्वको सोँच र भाषा शैलीका कारण पनि पार्टी फुटेको हो,’ उनले भने। पाण्डेले विवेकशील साझामा रहेका नेताहरूको राजनीतिक सोच नभएको र वैकल्पिक राजनीति गर्न नसकेको आरोप लगाए।

प्रकाशित: २ माघ २०७५ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App