coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोल पम्प सञ्चालन गर्दै सहकारी संघ

भरतपुर महानगरपालिकाको बाइपास रोड आडैमा बन्दै गरेको पेट्रोल पम्प।  तस्बिर : सविता/नागरिक

चितवन - जिल्ला सहकारी संघ, चितवनले सञ्चालन गर्न लागेको पेट्रोल पम्प निर्माणको काम अन्तिम चरणमा पुगेको छ। संघले एक वर्ष पूर्वाधार निर्माण गर्ने काम सुरु गरेको थियो। करिब पाँच करोड रुपैयाँमा निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने योजना अनुसार काम सुरु गरिएको संघका अध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए। 

इन्धनमा शुद्धता नभई मिसावट धेरै हुने गरेको गुनासो उपभोक्तामा रहेकाले पेट्रोल पम्पबाट शुद्ध इन्धन उपलब्ध गराउन संघले पम्प सञ्चालन गर्न लागेको उनी बताउँछन्। जिल्लामा रहेका सहकारीको समेत लगानी भएकाले अपनत्व पनि हुने उनले बताए। त्यसैले एउटै सहकारीको धेरै रकम नराखी धेरै सहकारीको लगानी पम्पमा राखिएको छ। पम्प सञ्चालनबाट हुने मुनाफा सबै सेयर सदस्यले पाउन भनेर अधिकतम लगानीको रकम तोकिएको उनले जानकारी दिए।  

चितवनमा सात सयभन्दा बढी सहकारी छन्। सहकारीहरुसँग सेयर माग गरेर पम्प सञ्चालन गर्न लागिएको हो। दुई ८० वटा सहकारी संस्था पम्पको सेयर सदस्य बनेको पेट्रोल पम्प निर्माण उपसमिति संयोजक भक्तिराम अधिकारीले जानकारी दिए।  सहकारीले न्यूनतम २५ हजारदेखि पाँच लाख १० हजार रुपैयाँसम्म लगानी गरेका छन्। चार करोड ४० लाख रुपैयाँ सेयरबापत संकलन भएको छ। संकलित रकमबाट पूर्वाधार निर्माण गरिएको उनले बताए। 

एक लाख चार हजार लिटर क्षमताको ट्यांकी बनाइएको छ। जहाँ ६० हजार डिजेल र ४४ हजार लिटर पेट्रोल स्टक राख्न सकिने उनले जानकारी दिए। पम्पमा एकै पटकमा आठवटा सवारीसाधनमा इन्धन भर्न सकिने सुविधा उपलब्ध हुनेछ। चारवटा डिजेल र चारवटा पेट्रोलका सवारीसाधनमा इन्धन राख्न सकिने उनले जानकारी दिए। भरतपुर महानगरपालिका–१० को हुलाक चोक नजिक जिल्ला सहकारी संघको जग्गामा पम्प निर्माण गरिएको छ। 

एउटा सहकारी संस्थाले चलाएको पम्प र निजी व्यवसायीले सञ्चालन गरेका पम्पको अवलोकन गरेर मात्र पम्प निर्माण सुरु गरिएको छ। आपँटारी–केन्द्रीय बस टर्मिनल (बाइपास) सडकमा पर्ने भएकाले पनि पम्पले उपभोक्तालाई इन्धन सुविधा लिन सजिलो हुने विश्वास गरिएको छ। सहकारी संघले दुई दशकभन्दा बढी समयदेखि तोरी मिल राखेर तोरीको तेल बिक्री गर्दै आएको छ। शुद्धताको हिसाबमा तोरीको तेलले जसरी उपभोक्ताको विश्वास जितेको छ सोही अनुसार पम्पबाट पनि उपभोक्ताको विश्वास जित्ने अध्यक्ष भट्टराई बताउँछन्। 

सहकारी संघको आफ्नै जग्गामा बनाइएकाले अरु पम्पभन्दा सहुलियत दर रेटमा उपभोक्तालाई पेट्रोल दिन सकिने उनले बताए। नाफाका लागि भन्दा सेवाभावले पम्प सञ्चालन गर्न लागिएको उनको भनाइ छ। 

उपभोक्ताको मागअनुसार क्षमता विस्तार गर्न सकिने अध्यक्ष भट्टराई बताउँछन्। सहकारी संघको चार बिघा १७ कट्ठा जग्गामध्ये करिब १० कट्ठामा पम्प निर्माण गरिएको छ। मापदण्ड अनुरुप आधुनिक पेट्रोल पम्प निर्माण गरिएको बताइएको छ। मापदण्डअनुसार पम्पमा पेट्रोल र डिजल गरी आठवटा नोजल हुनुपर्ने, स्वचालित बिलिङ मेसिन, अपांगमैत्री शौचालय, रेस्टुरेन्ट, पार्किङ, ज्याक हाउस लगायत व्यवस्था गरिनुपर्छ। सोहीअनुसार पम्प स्थापना गरिएको छ। पम्प राखिएको स्थानमा उपभोक्तालाई थप सुविधा दिन २२ वटा सटर निर्माण गरिएका छन्।

प्रक्रियागत नियम पूरा गर्न केही कठिनाइ भए पनि एक वर्षको अवधिमा नै निर्माण पूरा गर्न सकिएको उनी बताउँछन्। पम्प सञ्चालन गर्न केही प्राविधिक काम बाँकी रहेको उनले जानकारी दिए। ९९ प्रतिशत तयारी सकिएको छ। रङरोगन, इन्धन भर्ने काम, नापतौलबाट प्रमाणित गराउने लगायत काम बाँकी छन्। माघभित्र उपभोक्तालाई इन्धन वितरण गर्ने तयारी गरिएको उनले बताए। हाइवेसँग जोडिएको स्थानमा पम्प भएकाले एक दिनमा करिब ४० लाख रुपैयाँको कारोबार हुने अनुमान संस्थाले गरेको छ।  

प्रकाशित: १ माघ २०७५ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App