८ वैशाख २०८१ शनिबार
समाज

ज्यान जोगाउन डाँफे सशस्त्र प्रहरी पोष्ट झरेपछि...

दोलखाको लामाबगरमा आइतबार सशस्त्र प्रहरी टोलीले फेला पारेको डाँफे । तस्विर : नागरिक

दोलखा– आइतबार दिउँसो करिब ३ बजे दोलखास्थित लामावगरको आकासमा बाजले एउटा चरोलाई आक्रमण गरेर आफ्नो पञ्जामा पार्न खोजिरहेको दृश्य देखियो। 

त्यो चरो बाजको पञ्जाबाट उम्कीन खोज्दै थियो भने बाजले चरोलाई कोतर्न खोज्दै, लखेट्दै गरेको दृश्यले माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थलमा काम गरिरहेका मजदुरहरुको मन कुडियो। 

केही बेरमा त्यो चरो आयोजनाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलको चेकपोष्ट नजिकको झाडीमा खस्यो, बाज भने आकासबाटै आफ्नो बाटो लाग्यो। यो दृश्य देखेका मजदुरहरुले सशस्त्र प्रहरीका हवल्दार प्रकाश चौधरीलाई खबर गरे। चौधरी टोली सहित झाडीमा पुग्दा एउटा ठुलो चरो छट्पटाईरहेको थियो। उनीहरुले त्यसलाई बिस्तारै नियन्त्रणमा लिए। 

सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको उक्त चरो राष्ट्रिय पंक्षी डाफे थियो। बाजको पञ्जाबाट फुत्केर ज्यान जोगाउन लामावगरको बस्ती नजिक झाडीमा हाम फालेको डाँफे घाइते भइसकेको थियो। 

टोलीले सदरमुकाममा रहेको सशस्त्र बेस क्याम्प गुल्मका डिएसपी किरणकुमार कठायतलाई घटनाबारे तत्कालै जहोर ग-यो। डिएसपी कठायतले गौरीशंकर संरक्षण क्षेत्र आयोजनासंग समन्वय गरे। लामाबगर बेस क्याम्पले साँझ नै आयोजनाका संरक्षण अधिकृत ईन्द्रजंग हमालको टोलीलाई डाँफे बुझायो। 

हमालका अनुसार २.५ केजी वजन रहेको उक्त पोथी डाँफे खैरो रङको थियो। बाजको आक्रमणका कारण डाँफेको पखेटाका कतिपय प्वांखहरु झरेका थिए भने पुच्छर तर्फको प्वांखको चोट थियो। खुट्टा माथि साप्रामा गहिरो चोट लागेको थियो। 

हमालको टोलीले साँझ सिंगटी स्थित आयोजनाको कार्यालयमा ल्याएर डाँफे फेला परेको बारे संरक्षण क्षेत्र आयोजनाले माथिल्लो निकायमा खबर ग-यो। माथिल्लो निकायले डांफेलाई सदर चिडियाखाना पठाउन निर्देशन दियो। संरक्षण क्षेत्रका कर्मचारीहरु बिहान कसरी राजधानी पठाउने भन्ने बिषयमा छलफल गरे। घाइते डाँफेलाई आयोजनाको एउटा कोठामा राखेर उनिहरु सुते। 

तर राजधानी लगेर उपचार गर्ने र चिडिया खानामा राख्ने निधो गरिएको उक्त डाँफे बिहान लिन जाँदा मरिसकेको थियो। ‘काठमाण्डौ लैजाने निधो गरेका थियौं’, उनले भने, ‘बिहान गाडी तयार गरेर कार्टुनमा प्याक गर्न जाँदा कोठा भित्रै मरिसकेको रहेछ।’ बाजको पञ्जा साह्रै बिशालु हुने कारण त्यसको असरले उक्त पंक्षी मरेको हुन सक्ने कर्मचारीले अनुमान गरे।  मरेको डाँफेलाई कर्मचारीले सोमबार बिहान प्रहरी र स्थानियको रोहबरमा कार्यालय नजिक खाल्डो खनेर गाडिदिए।  

आयोजनाका प्रमुख सत्यनारायण शाहका अनुसार डाँफे चरो चिडियाखानामा समेत छैन्। ‘यो चरो सदर चिडियाखानामा समेत छैन’, शाहले भने, ‘दोलखामा पाइएको भनेर चिडियाखाना पठाउन पाउँदा उत्साहित थियौं, तर दुर्भाग्य बचाउन सकिएन।’ प्रमुख शाहका अनुसार राष्ट्रिय पंक्षी डाँफे संरक्षित सूचीमा पर्छ। दोलखाको लामावगर र गौरीशंकर हिमाल आसपासमा यो पंक्षी प्रशस्त पाइने बताइए पनि यसको आँकडा भने संरक्षण क्षेत्रले उतार्न सकेको छैन्। 

प्रकाशित: १ माघ २०७५ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App