८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

लायन एयरको दोस्रो ब्ल्याक बक्स भेटियो

जकार्ता – इन्डोनेसियामा गत वर्षको अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयर विमानको दोस्रो ब्ल्याक बक्स भेटिएको अधिकारीहरुले बताएका छन्। उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याक बक्सले सहयोग पुग्ने बताइएको छ।

बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट सम्पर्कविहीन भएको थियो। उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो। दुर्घटनामा विमानमा यात्रारत सबै एक सय ८९ जनाको मृत्यु भएको थियो। विमान उडेको केही समयपछि पाइलटले विमान पुनःजकार्ता फर्काउन लागेको बताएका थिए। इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार बिहान विमानको दोस्रो ब्ल्यााकबक्स भेटिएको जानकारी दिए। खोज तथा उद्धार टोलीले सो जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याक बक्स) फेला पारिसकेका थिए। सो रेकर्डरको मद्दतले जहाजको गति, उचाइ र दिशाका बारेमा थाहा पाउन सकिन्छ। दोस्रो ब्ल्याक बक्समा भने पाइलटको आवाज संग्रहित हुन्छ।

अनुसन्धाताले लायन एयरको जहाजमा पहिलेदेखि समस्या आएको पाइएकाले उडाउन नहुने बताएका छन्। अनुसन्धानबाट जहाजमा प्राविधिक समस्या आएको देखिए पनि दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन। उड्डयन विज्ञका अनुसार ब्ल्याकबक्समार्फत् कुनै पनि विमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्छ। विमानका यात्रुको अनुरोधमा लायन एयरले ब्ल्याक बक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो। विमान निर्माता कम्पनी बोइङविरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन्। उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन्। बोइङको म्याक्स श्रेणीका विमानलाई विश्वकै नयाँ र सर्वाधिक समुन्नत व्यावसायिक उडान गर्ने विमानका रूपमा लिइन्छ। 

 

प्रकाशित: १ माघ २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App