१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकासँग सम्बन्ध रहेको सिरियाली क्रुर्दिस लडाकुमाथि आक्रमण गरे टर्कीको अर्थतन्त्र तहसनहस बनाइदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पको चेतावनीपछि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) आबद्ध अमेरिका र टर्कीबीचमा पुनः तनाव उत्पन्न हुनसक्ने अनुमान गरिएको छ। टर्कीमा गैरकानुनी ठहर गरिएको र दशकौंदेखि संघर्षरत क्रुर्दिस्तान वकर्स पार्टी (पिकेके) को विस्तारित स्वरुपमा टर्कीले लिने क्रुर्दिस वाइपिजेलाई अमेरिकाले समर्थन गर्न सुरु गरेसँगै संयुक्त राज्य अमेरिका र टर्कीबीचमा लामो समयदेखि समस्या जारी रहेको छ। 

राष्ट्रपति ट्रम्पले टर्कीलाई दिएको चेतावनीका कारण यसअघि उनले नै घोषणा गरेको सिरियाबाट अमेरिकी फौज फिर्ता लानेबारेको योजनामा परिवर्तन आउँछ जस्तो आफूलाई नलागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबको राजधानी रियादमा बताए। ट्रम्पले भनेको आर्थिक तहसनहस के हो भन्नेबारे पत्रकारले गरेको प्रश्नको जबाफ दिँदै विदेशमन्त्री पोम्पेओले भने, ‘यो विषयमा तपाईंले राष्ट्रपति स्वयंलाई सोध्नुपर्ने हुन्छ।’

‘हामीले विश्वका धैरै ठाउँमा आर्थिक प्रतिबन्ध लगाएका छौं, मलाई लाग्छ राष्ट्रपतिले यस्तै भन्नु भएको होला,’ ट्रम्पको चेतावनीपछि आफूले अंकारासँग केही कुरा नगरेको बताउँदै पोम्पेओले बताए। अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार आफूले डिसेम्बरमा घोषणा गरेबमोजिम सिरियमा तैनाथ अमेरिकी सेना फिर्ता लाने कार्य संयुक्त राज्य अमेरिकाले सुरु गर्नै लागेको भए पनि सिरियामा रहेका इस्लामिक स्टेटका लडाकुमाथिको आक्रमण भने नरोकिने प्रष्ट पारेका थिए। 

‘इस्लामिक स्टेट पुनः उदय भए त्यसविरुद्ध हामी आक्रमण गर्ने छौं। क्रुर्द्समाथि टर्कीले आक्रमण गरे उसलाई पनि आर्थिक रूपमा तहसनहस बनाइदिने छौं। हामी क्रुर्द्सले पनि टर्कीलाई हैरान नपारोस् भन्ने चाहन्छौं,’ राष्ट्रपति ट्रम्पले आइतबार ट्विट गरेका थिए।  संयुक्त राज्य अमेरिकासँगको तनावग्रस्त सम्बन्धले निम्त्याउने नतिजाप्रति अंकारा पूर्ण जानकार रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका दुई मन्त्रीमाथि प्रतिबन्ध लगाइदिएपछि गत वर्ष दुई देशबीच कूटनीतिक संकट उत्पन्न भएको थियो। त्यसैगरी ट्रम्पले टर्कीको धातुजन्य निर्यातमा पनि ट्यारिफ वृद्धि गरिदिएका थिए, जसका कारण टर्कीको मुद्रा गत अगस्टमा इतिहासकै कमजोर भएको थियो। 

अंकारासँगको वासिङ्टनको गठबन्धनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्मान गर्नुपर्ने टर्कीका राष्ट्रपति एर्दोगानका प्रवक्ता इब्राहिम कालिनलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।  सिरियाली क्रुर्द्स र पिकेकेलाई बराबरी रूपमा दाँज्नु गम्भीर गल्ती भएको प्रवक्ता कालिनले ट्विटमा लेखेका छन्। 

‘आतंकवादी तपाईंको साझेदार वा गठबन्धन हुन सक्दैन। अमेरिकाले हाम्रो रणनीतिक साझेदारीको सम्मान गरोस् भन्ने टर्की चाहन्छ र आतंकवादी प्रोपोगान्डाले अमेरिका–टर्की सम्बन्धलाई ओझेलमा परेको हेर्न पनि टर्की चाहँदैन,’ सोमबार ट्विट गर्दै प्रवक्ता कालिनले भनेका छन्। सिरियाबाट अमेरिकी फौज फिर्तापछि वासिङ्टनले सिरियामा इस्लामिक स्टेटविरुद्ध लडेका समूहलाई सुरक्षा दिन चाहेको विदेशमन्त्री पोम्पेओले बताए पनि ट्रम्पले भने यस विषयमा केही बोलेका छैनन्। विदेशमन्त्री पोम्पेओले टर्कीमाथि पनि सिरियाले आक्रमण नगरोस् भन्ने अमेरिकी चाहना रहेको रियादमा पत्रकारसँग बोल्ने क्रममा बताएको समाचार एजेन्सी रोयसर्टले जनाएको छ। 

‘यदि हामीले केही गर्न सक्यौं र सुरक्षाको व्यवस्था गर्न सक्यौं भने त्यसले समग्र क्षेत्रमै राम्रो काम गर्ने छ,’ पोम्पेओले बताए।  अमेरिकी सेनाले इस्लामिक स्टेटलाई पराजित गर्ने मिसन अन्त्य गरिसकेकाले सिरियामा रहेका फौजालाई फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना घोषणा गरेका थिए। इस्लामिक स्टेट पराजित भइसकेकाले सिरियामा अमेरिकी फौजको उपस्थिति आवश्यक नरहेको ट्रम्पले जिकिर गर्दै आएका छन्। यद्यपि राष्ट्रपति ट्रम्पको घोषणापछि अमेरिकी अधिकारीको भने मिश्रित भनाइ आइरहेको छ। अमेरिका नेतृत्वको गठबन्धनले शुक्रबार सिरियाबाट अमेरिकी फौजको फिर्ति सुरु भएको बताए पनि अमेरिकी अधिकारीहरुले भने सिरियाबाट सेना नभएर अन्य उपकरण मात्रै फिर्ता लान सुरु गरिएको बताएका थिए। 

सिरियासँगको सीमालाई सुरक्षित क्षेत्र बनाउने योजनाको विरोधमा अंकारा नभएको भए पनि रणनीतिक साझेदार राष्ट्र र गठबन्धनले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध टिप्पणी गर्न नहुने टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले बताए। ‘टर्कीलाई आर्थिक रूपमा चेतावनी दिएर केही पनि प्राप्त हुँदैन। हामी अमेरिकासँग कसरी साझेदारी गर्ने र यो विषयलाई कसरी समाधान गर्ने भनेर समाधानको उपाय खोजिरहेका छौं,’ लक्जमबर्गका विदेशमन्त्रीसँगै आयोजना गरिएको पत्रकार सम्मेलनमा टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले बताए। 

प्रकाशित: १ माघ २०७५ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App