coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

असहिष्णुताको विषालु राजनीति

सुबोध वर्मा
गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशमा भारतीय जनता पार्टी नेतृत्वको नवनिर्वाचित सरकार हाँक्न योगी आदित्यनाथलाई छनौट गरे, मोदीका धेरै समर्थकले गोरखपुरको धार्मिक मठका युवा तथा ऊर्जाशील मठाधीश (जो लोकसभाका सदस्य पनि थिए) ले त्यहाँको जुम्सो राजनीतिमा परिवर्तन ल्याउने आशा गरेका थिए। तर, उनीहरूका आशा गलत साबित भएको छ। झन्डै दुई वर्षको आफ्नो शासनमा योगीले भारतकै सबभन्दा बढी जनसङ्ख्या भएको तीव्र परिवर्तनमुखी राज्यलाई एक प्रकारले हिन्दू राष्ट्रउन्मुख बनाइदिए। जहाँ सरकारका सबै गतिविधि कमजोरप्रतिको असहिष्णुतामा आधारित छन्। हिंसालाई राज्यले संस्थागत गरेको छ। अर्थतन्त्र जीर्ण बन्दै छ। भारतका सर्वाधिक धनी उद्योगपतिहरू उत्तर प्रदेशका राजनीतिक नेतृत्वसँग मस्ती गरिरहेका छन् भने बेरोजगारी अभूतपूर्व दरमा बढेको छ। 

(हिन्दू अतिवादी) राष्ट्रिय स्वयंसेवक सङ्घ परिवारको आधार क्षेत्रलाई योगी स्वयंले यति मन्त्रमुग्ध बनाउन सफल भए, आज उनी आफैँ भारतका प्रदेशहरूमा भारतीय जनता पार्टीका प्रमुख प्रचार अभियानकर्ताको रूपमा दौडादौड गरिरहेका छन्। तर, उत्तर प्रदेशले नियम–कानुनविना रात बिताइरहेको छ। अपराधको दर निकै बढेको छ। प्रहरीले शंकाको भरमा आरोपितको हत्या गर्ने क्रम बढेको छ। सानोभन्दा सानो बहानामा पनि असहिष्णु भिडले रगतको खोला बगाइरहेको छ। 

उत्तर प्रदेशको पश्चिममा एउटा व्यस्त कृषिप्रधान सहर छ, बुलन्दसर। दिल्लीबाट केही घन्टाको यात्रापछि बुलन्दसर पुग्न सकिन्छ। योगीको नेतृत्वले उत्तर प्रदेशलाई कता डो-याइरहेको छ भन्ने कुराको सबभन्दा पछिल्लो उदाहरण त्यही सहरमा घटेको एउटा घटनालाई लिन सकिन्छ। स्थानीय बजरंग दलले नेतृत्व गरेको भिडले हिंसा भड्कायो। गाईको सिनो भेटिएको भन्दै भिडले प्रहरी चौकीमाथि नै हमला ग-यो। उनीहरूको हमलामा परी प्रहरी अधिकारी सुबोधकुमार सिंह मारिए। मुख्यमन्त्री योगीले सुरुमा यसलाई एउटा सामान्य घटना बताए। पछि अवैध रक्सीका माफियाहरूले मच्चाएको राजनीतिक षड्यन्त्र भएको दाबी गरे। तर, उनको भित्री मनसाय र असहिष्णु विचार त्यतिबेला बाहिर आयो जब उनले सो घटनामा गाई मारिनु सबभन्दा महत्वपूर्ण पक्ष भएको बताए। 

मुख्यमन्त्रीको प्रस्ट मनसाय बुझिसकेपछि स्थानीय प्रहरीले चार जना मुसलमान युवाहरूलाई गिरफ्तार ग-यो। प्रमाणको अभावमा उनीहरू चारै जनालाई पछि छोड्नुप-यो। पछि फेरि अरू तीन जना मुसलमान युवकहरू गिरफ्तार गरिए। उनीहरूमाथि २५ वटा गाई मारेको अभियोग थियो। हुलदंगाका मुख्य व्यक्ति बजरंग दलका स्थानीय नेता योगेश राज अहिलेसम्म भूमिगत छन्। तर, लुकीलुकी उनले आफू निर्दोष भएको प्रमाणका रूपमा मिडियाहरूलाई भिडियो पठाउने गरिरहेका छन्। 

सेप्टेम्बर २९ मा लखनउमा एप्पल कम्पनीका एक जना कर्मचारीलाई तीव्र गतिमा सवारी चलाएको भन्दै प्रहरीले हत्या गरेको केही दिनपछि बजरंग दलको हुलदंगा भएको थियो। यो त हिमतालमाथि देखिएको बरफको सानो चुच्चो मात्र हो। आरटीआईको खोज अनुसन्धानमा आधारित समाचारअनुसार योगी आदित्यनाथ मुख्यमन्त्री बनेयता उत्तर प्रदेशका २४ जिल्लामा ‘गोली हानाहान’ (इन्काउन्टर) को नाममा २ हजार ३ सय ५१ पटक गोली चलाइसकिएको छ र तिनमा ६३ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। यो तथ्यांक सन् २०१८ को अगस्टसम्मको मात्र हो। गैरन्यायिक हत्या बढ्दा चिन्तित हुनुको सट्टा योगी सरकारले यसलाई ‘अपराध र अपराधीमुक्त बनाउने प्रतिबद्धता’को कार्यान्वयनका रूपमा बढाइचढाइ व्याख्या गरिरहेको छ। नोभेम्बरमा त यस्तो स्थितिबाट चिन्तित सर्वोच्च अदालतले उत्तर प्रदेश सरकारलाई इन्काउन्टरबारे चासो व्यक्त गर्दै सूचना नै जारी गर्नुप-यो। 

प्रहरीलाई फुक्का छोडेर फ्रान्केन्स्टाइनको ‘राक्षस’लाई बलियो बनाउँदा आज त्यो ‘राक्षस’लाई पनि माथ गर्ने अर्को शक्तिशाली ‘राक्षस’को आविर्भाव भएको छ। त्यो ‘राक्षस’ हो, हिन्दूवादी बहुला हिंसात्मक भिड। सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेयता त्यो ‘राक्षस’ले ‘गौरक्षा’को नाममा उत्तरी भारतमा ठूलो बितण्डा मच्चाइरहेको छ। अनि आफ्नो गेरु वस्त्र लगाएर योगी तिनै भिडको पक्षमा उभिएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्री अयोध्यामा राममन्दिर निर्माणको मागलाई लिएर निकै सक्रिय भएर लागेका छन्। उत्तर प्रदेशमा मात्र होइन, भारतभरि नै उनी यो विषयमा डढेलो फैलाउने भाषण गर्दै हिँडेका छन्। अयोध्याको सरयू नदीको किनारामा चित्ताकर्षक आरती दिने बन्दोबस्त गर्न उनी सक्रिय थिए। हिन्दू ऋषिहरूका दुईवटा कुम्भमेलाका लागि सरयू नदीमा त्यस्तो आरतीको व्यवस्था गरिएको थियो। साथै राममन्दिरसँगै श्रीरामको विशालतम मूर्ति प्रतिस्थापना गर्ने पनि उनले घोषणा गरेका छन्। 

लखनउका आरटीआई अभियन्ता सञ्जय शर्माले सार्वजनिक गरेको तथ्यांकअनुसार उत्तर प्रदेशमा महिलाविरुद्धको हिंसा पनि अचाक्ली बढेको छ। राज्य सरकारले दिएको अपूर्ण तथ्यांकअनुसार सन् २०१८ को मार्च र जुनबीच मात्र महिलाविरुद्ध हिंसाका ७६ हजार ४ सय १६ घटना भए। सन् २०१६ भरिमा जम्मा ४९ हजार २ सय ६२ वटा त्यस्ता घटना भएका थिए। (सबभन्दा पछिल्लो उपलब्ध तथ्यांक) यसले के प्रस्ट बनाएको छ भने, सबै क्षेत्रमा अपराध बढेको छ, महिलाविरुद्धको घटना भने अचाक्ली बढेको छ। मुख्यमन्त्री आदित्यनाथ बरोबर ‘बहिनी र छोरी’को रक्षा गर्ने कुरा गरिरहेका हुन्छन्। तर, तथ्यांकले उनको वचन सही प्रमाणित गर्दैन। 

अपराध घटाउने योगीको घोषणा वास्तविकतामा मुसलमान समुदायविरुद्ध लक्षित छ। ‘इन्काउन्टर’को नाममा  अधिकांश मुसलमान मारिएका छन्। प्रहरीले बेवास्ता गर्ने हुलदंगामा परी मारिने पनि मुसलमान नै छन्। गाई मार्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ र मुसलमानहरू मुस्किलले मात्र यसमा संलग्न भए पनि सिङ्गो ‘गौरक्षा’ अभियान त मुसलमान समुदायविरुद्ध नै केन्द्रित छ। योगी आदित्यनाथ वास्तवमा अल्पसङ्ख्यक समुदायविरुद्ध युद्ध गरिरहेका छन्। 

मरेको गाईको छालाको काम गर्ने दलित समुदाय गौरक्षाको नाममा हुने हमलाको सबभन्दा बढी प्रहारमा पारिएका समुदाय हुन्। त्यसैकारण बितेका दुई वर्षमा भएका केही जनमत सर्वेक्षण र स्थानीय तहका निर्वाचनमा भारतीय जनता पार्टीविरुद्ध दलित समुदायले विद्रोह नै गरेका छन्। उनीहरूको दमन हेरी यो कुनै आश्चर्यको घटना भने होइन। योगी आदित्यनाथले आफ्ना असहिष्णु मुद्दालाई मलजल गरिरहेको बेलामा भारतकै विशाल उत्तर प्रदेश भने यसअघिको अनुपातमा बढी नै आर्थिक विषमताको दलदलमा फसेको छ। भारतीय अर्थतन्त्र अध्ययन केन्द्रले हालै जारी गरेको पछिल्लो तथ्यांकअनुसार उत्तर प्रदेशमा बेरोजगारी दर झन्डै १० प्रतिशतले बढेको छ। २० देखि २४ वर्ष उमेरका युवाबीच बेरोजगारी दर २६ प्रतिशत पुगेको छ। स्नातक गरेका युवाबीच बेरोजगारी १२ प्रतिशत पुगेको छ। उत्तर प्रदेशमा महिला बेरोजगारी ३२ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ। 

कृषि क्षेत्रको ज्याला कति पनि वृद्धि हुन सकेको छैन। बितेका पन्ध्र वर्षदेखि औद्योगिक ज्यालामा कुनै हेरफेर गरिएको छैन। श्रम ऐन खोक्रो बनेको छ, अझ कमजोर बन्दै छ। तर, योगी र उनका मन्त्रीहरू प्रधानमन्त्री मोदीको आशीर्वादमा भारतकै सबभन्दा ठूला उद्योगपतिसँग उठबस गरिरहेका छन्। उनीहरू लखनउ रहँदासम्म करौडौँको लगानी गर्ने वाचाबन्धन गर्छन्। योगी आदित्यनाथजस्ता निर्लज्ज असहिष्णुलाई सत्ता दिँदा कस्तो परिणाम आउँछ भन्ने कुराको यो सानो चित्रण हो। उनलाई सत्तामा पु¥याउने अरु कोही होइनन्, प्रधानमन्त्री मोदी नै हुन्। दुवै जनाले अर्थतन्त्र ध्वस्त पारे। उपद्रवी हिन्दूवादीहरूलाई सडकमा शासन गर्न दिने काम उनीहरूबाट नै भयो। उनीहरू आफ्नो वशबाट कतिबेला परिस्थितिबाहिर जाने हुन्, त्यसको कुनै हेक्कासम्म पनि छैन। 

स्रोतः न्युज क्लिक
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: १ माघ २०७५ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App