त्रिविको एउटै फाराममा २५९ गल्ती

मङ्गलबार, ०१ माघ २०७५, ०९ : ५५ नागरिक

257


शेषनाथ पौडेल
भाषा सभ्यताको प्रतीक हो। कुनै पनि भाषा कति सभ्य छ भनेर बुझ्न त्यस भाषामा रहेको व्याकरण तथा शब्दकोशको परम्परा हेर्न सकिन्छ। नेपाली भाषाको पनि आफ्नो इतिहास छ, व्याकरण छ, शब्दभण्डार छ। नेपाली भाषा नेपालको राष्ट्रभाषा हो। यो विश्वभरि छरिएर रहेका नेपालीहरूको जातीय पहिचानको भाषा हो भने छिमेकी मुलुक भारतको संवैधानिक मान्यता प्राप्त भाषासमेत हो। यो भारत, भुटान, बर्मालगायत विश्वका विभिन्न मुलुकको सञ्चार र शिक्षा क्षेत्रमा समेत व्यवहृत भई अन्तर्राष्ट्रिय स्वरूप प्राप्त गरिसकेको भाषा हो। नेपाली भाषा सम्पूर्ण नेपालीको आस्थाको धरोहर हो। नेपाली भाषा नेपालको सरकारी कामकाज र सम्पूर्ण नेपालीहरूको विचार विनिमय गर्ने साझा सम्पर्क भाषा पनि हो।

नेपाली भाषाको मानकीकरणका सन्दर्भमा ऐतिहासिक कालखण्डदेखि नै विविधता देखा परेका हुन्। मानकीकरणका विषयमा विभिन्न निकाय तथा व्यक्तिहरूको प्रयास रहेको देखिन्छ। यस्तै वर्णविन्यासका सन्दर्भमा विभिन्न व्यक्तिहरूका आफ्ना मान्यता पनि प्रस्तुत भएका देखिन्छन् तर ती विवादका रूपमा नभई अभिमतका रूपमा प्रस्तुत भएका छन्। हलन्त बहिष्कार, झर्रोवाद, नेकशुले आदि अभियानहरू यसै रूपमा आएका हुन्। ‘नेपाली भाषा–अधिगोेष्ठी–२०३३’, ‘बृहत् नेपाली व्याकरण’ (२०३३) तथा बालचन्द्र शर्माको ‘नेपाली शब्दकोश’ आदिबाट नेपाली भाषाको मानकीकरणसम्बन्धी केही मान्यता प्रस्तुत भएका हुन्। 

पछि कक्षा ११, १२ को पठनपाठन सुरु भएपछि बिस्तारै वर्णविन्यासमा विवाद आउन थाल्यो भने यसै तहमा नेपाली विषयको पठनपाठनका निमित्त केही फरक खालको वर्णविन्यासको प्रयोग गरिएको ‘सबैको नेपाली’ नामक पुस्तक लागु भयो। नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘नेपाली बृहत् शब्दकोश’मा समेत त्यसैअनुसार वर्णविन्यास परिवर्तन भएर आएपछि यो विवाद चुलिन पुग्यो। यसबीचमा विभिन्न व्यक्ति, समूहहरूबाट नेपाली भाषाको वर्णविन्यासको एकरूपता वा मानकीकरणसम्बन्धी अभियानहरू सञ्चालन भए। ‘नयाँ’ भनिएको ‘अमानक’ वर्णविन्यासविरुद्ध विभिन्न व्यक्ति, संस्था र निकाय सक्रिय बने। यस अभियानको नेतृत्व ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले गरेको थियो। फलतः उच्च माध्यमिक तहको पाठ्यपुस्तकको वर्णविन्यास सुधार गरियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानको नयाँ वर्णविन्यास प्रयोग भएको ‘नेपाली बृहत् शब्दकोश’को संस्करण नै खारेज भयो। यति हुँदाहुँदै पनि जानीनजानी, असावधानी वा नियतवश अभैm पनि नेपाली भाषाको वर्णविन्यासमा त्रुटिहरू गरिएका÷गराइएका छन्। गत वैशाख–जेठ महिनामा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित कक्षा ११, १२ को परीक्षाको प्रश्नपत्रमा पचासौँ स्थानमा वर्णविन्यास र पदयोग–वियोगगत त्रुटि रहेका थिए भने त्यसैको पूरक परीक्षाअन्तर्गत सञ्चालित गत पौष १४ गतेको परीक्षाको प्रश्नपत्रमा पनि त्यस्तै त्रुटिहरू दोहो-याइए। सामाजिक सञ्जालमा यस कार्यको आलोचनाले धेरै स्थान पायो।

त्रिभुवन विश्वविद्यालय देशको जेठो तथा ठूलो विश्वविद्यालय हो। विभिन्न भाषा र विषयमा उच्च शिक्षा दिएर दक्ष जनशक्ति तयार गर्ने त्रिविको सेवा आयोगको विज्ञापनमा फेरि त्यस्तै भाषिक असावधानी दोहोरिएको छ। त्रिवि सेवा आयोगले यही पुस महिनाको पहिलो हप्ता एक सय उनान्सत्तरी विषयमा पाँच सय छयालीस उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। उक्त पदका लागि आयोगले उपलब्ध गराउने आवेदन फाराममा गरिएका सयौँ स्थानका त्रुटि केलाउँदा सुनियोजित रूपमा भन्दा पनि असावधानीका कारण गरिएका त्रुटिहरू हुन् भन्न सकिन्छ।

त्रिवि सेवा आयोगले रु. पाँच सयमा उपलब्ध गराउने एउटा दरखास्त फाराममा दुई सय उनान्साठी स्थानमा वर्णविन्यास, पदयोग–पदवियोगत त्रुटि पाइयो।

तर प्रश्न उठ्छ ः के देशकै ठूलो विश्वविद्यालयको सेवा आयोगका विज्ञापनमा यति धेरै असावधानी राख्न पाइन्छ ? के त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले नेपाली भाषा सम्पादन गर्ने विद्वान् नपाएको हो ? वा उसको लापर्बाही हो ? विश्वविद्यालयका उच्च तह (स्नातक, स्नातकोत्तर) मा प्राध्यापन गर्ने जनशक्ति माग गर्दै उपलब्ध गराउने आवेदन फाराममा सयौँ भाषिक त्रुटि गर्न पाइन्छ ? यसको दायित्व आयोगका अध्यक्षको हो ? वा उपकुलपति वा सहकुलपति वा कुलपतिको हो ? भाषिक प्रयोगमा लापर्बाही गर्नेलाई कस्तो प्रकारको दण्ड हुनुपर्ने हो ? यदि यही फाराम अङ्ग्रेजीमा तयार गरेको भए र यति नै ठाउँमा त्रुटि गरेको भए अवस्था के आउँदो हो ? यो अपराध अक्षम्य छ।

त्रिवि सेवा आयोगले शैक्षिक पदका लागि गरेको दरखास्त आह्वानअन्तर्गत दरखास्त दिन चाहने व्यक्तिहरूलाई रु. पाँच सयमा उपलब्ध गराउने दरखास्त फाराममा दुई सय उनान्साठी स्थानमा निम्नानुसारका भाषिक (वर्णविन्यास र पदयोग, पदवियोगत) त्रुटि रहेको पाइयो (प्रकोष्ठभित्रको अङ्कले अशुद्धि स्थानको सङ्केत गरेको छ) :

१. दरखास्त फारामको फाइलको अगाडिको बाहिरी पृष्ठमा : आफुले, समावेशी तर्फ, मधेशी, प्रति समूह, बुझाउनु पर्नेछ, हिसाव, पेश, गर्नु पर्नेछ।

२. आवेदन फारामको पहिलो पृष्ठमा : साईज, उचाई, लेखिए अनुसार, वाड, पेशा।

३. दोस्रो पृष्ठमा : अगाडी (३), आफु, परिक्षा, कूल, प्रविणता, नम्वर (२), सो सरह (३), एम. फील., हुनु भन्दा (२), मिति सम्म (२), वहाल, एकतह मुनि, साविकपद, हरु।

४. तेस्रो पृष्ठमा : विदा (१०), भनि, गर्नु पर्ने, सम्वन्धन, वेतलवी (८), विश्वविद्यालय बाहिर, पुरा (२)।

५. चौथो पृष्ठमा : गर्नु पर्ने, सहुँला बुझाउला, सम्वन्धित (२), भर्नु पर्ने, सवै, हरु (२), संगठन (२), भर्नु पर्नेछ, पेश (३), योग्यता लगायत, सवै, गर्नु पर्नेछ (३), समय भित्र, बुझाई सक्नु पर्नेछ, शर्त, कारवाही, पुरा (२), गरिने छैन (४), विश्वविद्यालय बाहेक, संगठन, संगै, बुझाउनु पर्ने छ, सिलवन्दी, विदा, वसी, तोकिए अनुसारको।

६. पाँचौँ पृष्ठमा ः हरु (८), सम्वन्ध, पद भन्दा, तह मुनि, पेश, सकिने छ (२), सेवा बाहिर, हुने छैन, आफु (२), निर्देशन बापत, शोध शीर्षक, सम्वन्धित (६), गर्नु पर्नेछ, निर्देशन वापत, गरिने छैन (४), शोधप्रवन्ध, रुपमा (२), दिइने छैन, भई सकेपछि, अनुसन्धान बापत, केन्द्र वाहेक, पुरा, मूल्याङ्ककन, विवरण सहितको, आधिकारीक (२), हुनु पर्नेछ, नेपाल भित्र, अन्तराष्ट्रिय (३), नेपाल बाहिर, वर्गिकरण, सम्वन्ध, गरे अनुसार, विद्यावारिधी।

७. छैटौँ पृष्ठमा : हरु (९), मुल्यांकन (२), प्रकार अन्तर्गत (२), अन्र्तराष्ट्रिय, पेश (५), अंकन, गरिने छ (२), मूल्यांकन (२), गरिने छैन, यस सम्वन्धी, सिफारिश सम्वन्धी, वमोजिम (२), शिर्षक, गर्नु पर्नेछ (२), सूचिसाथ, अंङ्क, अंक, सकै (सबै हुनुपर्ने), दिनु पर्नेछ (३), नाम अन्तर्गत (२), प्रकार अन्तर्गत, सवै, फोटोकपि, फाराम सँगै, तोकिए बमोजिम, गर्नु पर्ने छ, निवेदन बमोजिम।

८. सातौँ पृष्ठमा : अनुसूचि, संग (२), सम्वन्धित, हुनु भन्दा, पहिलेनै, भई सकेका, हरु, प्रष्ट, गर्नु पर्नेछ।

९. आठौँ पृष्ठमा : शिर्षक (२), वर्ष भन्दा, हरु (२), रुपमा, पाण्डुलिपी।

१०. नवौँ पृष्ठमा : सम्वन्धित (२), विषय वस्तु, गहिराई।

११. दसौँ पृष्ठमा : सम्वन्धमा, पेश, संग (२), रुपमा, शिर्षक, अव्स्ट्रयाक, सम्वन्धित, लेख भित्र, हुनेभए, पांच, लेखिए अनुसारको।

१२. एघारौँ पृष्ठमा ; सम्वन्धित(२), शिर्षक, संग, उद्देश्य अनुरुप, विषय वस्तको, संगठन, प्रस्तुतिकरण, हरु, मूल्याङ्कन कर्ता (२), कूल।

१३. प्रवेश–पत्रको पहिलो पृष्ठमा : नमूना, वुंदा, गर्नु होला, दिईएको छ, हेर्नु होला।

१४. प्रवेश–पत्रको पछिल्लो पृष्ठमा : फोटो सहित, गर्नु पर्नेछ, पाउने छैन (२), नियम बमोजिम, परीक्षा सम्बन्धी, भए अनुसार, गरिने छैन, मोवाइल, फोन लगायत, गरिएकोछ, हुने छैन, घण्टा पछि, पाइने छैन।

यस्तै एउटै शब्दका विविध रूपको प्रयोग गरिएको छ। उही शब्द पनि फरकफरक स्थानमा उल्लेख गर्दा फरक वर्णविन्यासको प्रयोग गरिएको छ। यसबाट सम्बन्धित निकाय वा व्यक्तिलाई उक्त शब्दको सही प्रयोग के हुन्छ भन्ने हेक्का नभएको मात्र होइन, उक्त शब्दलाई जसरी लेखे पनि हुन्छ भन्ने अबुझ मानसिकता रहेको स्पष्ट हुन्छ। त्यस्ता केही शब्दहरू यसप्रकार छन् ः खुल्ला–खुला, अंक–अंङ्क–अङ्क, मुल्यांकन–मूल्यांकन–मूल्याङ्कन–मूल्याङ्ककन, पुरा–पूरा, अंग्रेजी–अङ्ग्रेजी, हरु–हरू, सकिने छ–सकिनेछ, सम्बन्धित–सम्वन्धित, परिक्षा–परीक्षा, प्रस्तुतीकरण–प्रस्तुतिकरण, पर्ने छ–पर्नेछ, शिर्षक–शीर्षक, अन्तराष्ट्रिय–अन्र्तराष्ट्रिय,  विद्यावारिधि–विद्यावारिधी आदि।

यसप्रकारका त्रुटिले विश्वविद्यालय जस्तो शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा हुने गरेको भाषाको प्रयोग हास्यास्पद तथा लज्जास्पद बन्न गएको छ। अर्थ बुझिनु मात्र भाषाको प्रयोग होइन, लेखनमा लेख्य रूप नै आउनुपर्छ। विश्वविद्यालय मात्र होइन, देशका विभिन्न संस्था, शाखा, मन्त्रालय, विभाग जस्ता निकायबाट प्रकाशित हुने सूचना, आलेख, विज्ञापन आदिमा पटकपटक यसप्रकारका त्रुटिहरू हुने गरेका छन्। कुनै पनि सार्वजनिक निकायले गर्ने सूचना, विज्ञापन आदि; प्रकाशन गर्ने लेख, स्मारिका आदि; वितरण गर्ने पर्चा, पम्प्लेट, पोस्टर आदि तथा टाँगिने बोर्ड, ब्यानर आदिमा प्रयोग हुने भाषामा यस्ता खालका त्रुटि नहोऊन् भनेर सावधानी राख्नुपर्छ। यस्ता निकायमा नेपाली भाषाको सम्पादन गर्नका लागि सम्बन्धित निकायमा नेपाली भाषा विशेषज्ञको आवश्यकता र औचित्य टड्कारो रहेको देखिन्छ, अन्यथा नेपाली भाषाको कुरूपता मात्र सधैँ हेरिरहनुपर्ने अवस्था आउनेछ। (उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)







यसमा तपाईको मत


अन्य समाचार

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

यस्तो स्मार्टफोन जसमा न कुनै पोर्ट छ ,न त कुनै बटन

चार्जिंग पोर्ट ? छैन ! सिम स्लट ? छैन !! स्पिकर ग्रिल ? त्यो पनि छैन !!! ...