८ वैशाख २०८१ शनिबार
अर्थ

नयाँ ४ हजार कोठामा पर्यटक कसरी भर्ने?

काठमाडौं- दुईदेखि चार वर्षभित्र राजधानी काठमाडौमा मात्रै तारेस्तरका नयाँ होटलमा ४ हजार कोठा थप हुन लागे पनि कसरी स्वस्थ व्यापार गर्ने भन्नेमा होटल व्यवसायी अन्यौलमा छन्। 'जति धेरै होटल र कोठा थपिए पनि पर्यटक ल्याउन सकिएन भने त्यसबाट अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ,' होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष बिके श्रेष्ठले आइतबार आयोजित ४५औं वार्षिक साधारणसभामा भने, 'यस्तो भयो भने हामी एकआपसमै सस्तो मूल्यमा पर्यटक तानातान गर्छौं जसबाट मुलुकको अर्थतन्त्रमै असर पुग्ने छ।'

हानले स्थापनाको ५० वर्ष प्रवेशका अवसरमा आयोजना गरेको तीन दिने स्वर्ण महोत्सवको अन्तिम दिन अध्यक्ष श्रेष्ठले होटल उद्योगमा लगानी थपिनु स्वागतयोग्य भए पनि त्यसलाई दिगो रूपमा लैजान आवश्यक रहेको धारणा राखे।

त्यस्तै होटल उद्योगमा सबैभन्दा बढी श्रम समस्या रहेको उनको भनाइ छ। हालसम्म होटल उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भइसकेको छ भने पछिल्लो पटक थप १ खर्ब रुपैयाँबराबरको लगानी विभिन्न होटल निर्माणमा भित्रिएको उनले जानकारी दिए।

'लगानी थपिनु र रोजगारी सिर्जना हुनु स्वागतयोग्य कदम हुन् तर पर्यटक बढाउन सकिएन भने ठूलो परिमाणको लगानी धराशयी हुने सम्भावना तीव्र हुन्छ,' श्रेष्ठले भने, 'त्यसकारण अब सरकार, निजी क्षेत्र र सरोकारवाला सबै मिलेर बढीभन्दा बढी पर्यटक ल्याउन कम्मर कसेर लाग्नुपर्ने बेला भइसकेको छ।'

त्यसैगरी गत वर्षको विनाशकारी महाभूकम्पबाट पर्यटन उद्योगले ठूलो क्षति बेहोर्नुपरेको उनले बताए। उनका अनुसार भूकम्पका कारण होटल उद्योगमा संलग्नमध्ये १ लाख कामदार र तिनका परिवार प्रभावित भएका थिए। त्यसयता १८ महिनामा पर्यटन उद्योगले १ करोड ८० लाख कार्यदिन र यसबाट ६ अर्ब २० करोड रुपैयाँ व्यक्तिगत आम्दानी गुमाएको थियो।

हानका प्रथम उपाध्यक्ष अमरमान शाक्यले हाल मुलुकभरका पर्यटक स्तरदेखि तारेसम्मका होटलमा १२ हजार कोठा उपलब्ध रहेको जानकारी दिए। केही वर्षभित्र थपिने ४ हजार नयाँ कोठा र पुराना १२ हजार गरी १६ हजार कोठामा पर्यटक भर्न लाखौं संख्या आवश्यक पर्ने उनको भनाइ छ।

'बिसौं लाख पर्यटक ल्याउनु चानचुने कुरा होइन, यो असाध्यै गाह्रो काम हो,' उनले भने, 'पर्यटक घट्दै जानु तर होटल र कोठा थपिँदै जाँदा अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने सम्भावना तीव्र छ। यसमा हामी होटल व्यवसायी सबैले बेलैमा सचेत हुन आवश्यक छ।'

उनले पर्यटन नेपालको अपरिहार्य व्यवसाय भएको र पर्यटन व्यवसाय भन्नासाथ होटल व्यवसाय अग्रपंक्तिमा आउने बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन तथा प्रचार–प्रसारमा सघाउ पुर्‍याउन हानको उल्लेख्य योगदान रहँदै आएको उनको भनाइ छ।

हानका महासचिव विनायक शाहले सन् २०२० भित्र ठूला व्यावसायिक घराना तथा अन्तर्राष्ट्रिय होटल चेनले निर्माण सम्पन्न गर्ने तारेस्तरका होटलमा ४ हजार नयाँ कोठा थपिने तथा त्यसबेलासम्ममा नेपाली होटलले २० लाख पर्यटकलाई आतिथ्यता प्रदान गर्न सक्षम हुने जानकारी दिए।

'२० लाख पर्यटक ल्याउन हाम्रा पुराना बजार युरोप, अमेरिका, अस्ट्रेलिया, जापान वा कोरियामात्र नभई अब छिमेकी भारत र चीनमा केन्द्रित हुनुपर्छ,' शाहले भने, 'यसका लागि ती देशमा बलियो र प्रभावकारी पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनुपर्छ।'

शाहका अनुसार सन् २०१४ मा ८ लाख पर्यटक नेपाल आए पनि २०१५ मा घटेर ५ लाख ६० हजारमा झरेको थियो। थपिने ४ हजार नयाँ कोठाका लागि २० लाख पर्यटक आवश्यक हुने र त्यसका लागि सरकार, निजी क्षेत्र र सम्बद्ध सबैले युद्धस्तरमा काम गर्नुपर्ने छ। 'नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोग र प्रवर्द्धनबिना २० लाख पर्यटक ल्याउने कुरा नसोचे पनि हुन्छ,' उनले भने, 'बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन केही समय लाग्ने भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अझै सुविधा सम्पन्न बनाउनुपर्छ।'

प्रकाशित: १७ आश्विन २०७३ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App