८ वैशाख २०८१ शनिबार
राजनीति

आइसियुमा राख्नुपर्ने भएपछि डा.केसीलाई तत्काल रेफर गर्न सुझाव

१६औं सत्याग्रहमा रहेका बेला अस्वस्थ भएपछि सोमबार बिहान इलाम अस्पताल ल्याइएका चिकित्सक डा.गोविन्द केसी । तस्बिर : भीम/नागरिक

इलाम - सत्याग्रहको छैटौं दिन (सोमबार) डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ। इलाम अस्पतालका चिकित्सकले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएकाले डा.केसीलाई तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको बताएका छन्।

सोमबार अपराह्न डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको मुटुको गति कहिले ३० बाट ह्वात्तै २ सय ४० सम्म पुग्न थालेपछि उनको अवस्था जटिल बनेको बताए। ‘डा.साबको अवस्था अत्यन्त जटिल बनिसकेकाले उहाँलाई तुरुन्त आइसियु ओपिनियन र आइसियु मेनेजमेन्ट चाहिन्छ,’ साँझ ५ बजे जिल्ला अस्पतालमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा डा.साहले भने, ‘प्राथमिक उपचारका लागि हामीले केही घन्टासम्मलाई औषधि व्यवस्था गरेका छौं तर उहाँको इच्छाविपरीत औषधि चलाउन मिल्ने अवस्था पनि छैन।’

डा.केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको चिकित्सक साहले बताए। ‘रगतमा चिनीको मात्रा कम भएको छ,’ उनले भने, ‘मुटुको चाल जाँच गर्दा यस्तो बिरामीलाई तुरुन्त आइसियु र सिसियु केयर चाहिन्छ। इलाममा यो सुविधा छैन।’ डा.केसीको बोली धीमा भएको र उठ्नै सक्न छाडेको उनले बताए। ‘मैले डा.केसीको अवस्थाबारे जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराएको छु,’ साहले भने, ‘अन्यत्र उपचार गराउन डा.साब (डा.केसी) ले सहमति दिनुभएको छैन।’

डा.केसीलाई सत्याग्रहस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे इलाम अस्पताल सारिएको हो। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान ९ बजे सत्याग्रहस्थलबाट करिब १ किलोमिटरमा रहेको इलाम अस्पताल ल्याइएको छ। डा.केसीलाई अहिले नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ। उनको रक्तचाप, शरीरमा अक्सिजनको मात्रा निकै कम भएको चिकित्सकले बताएका छन्। गत साउन १० मा सरकारसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग गर्दै डा.केसी गत २५ गतेदेखि १६ औं सत्याग्रहमा छन्।

प्रकाशित: ३० पुस २०७५ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App