८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुख महरा र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

काठमाडौं - सभामुख कृष्णबहादुर महरा र नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीबीच शिष्टाचार भेटवार्ता भएकाे छ। सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेट गरेकी हुन्।

भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरिन्। सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताए। उनले दुई देशबीच कूटनीतिक र राजनीतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताए। ‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, सभामुख महराले भने, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ।’

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे। चीनले सुरु गरेको वेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे। चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको सभामुख महराले बताए।

सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताइन्। उनले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन एवं नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताइन्। राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिन्।

 

प्रकाशित: ३० पुस २०७५ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App