८ वैशाख २०८१ शनिबार
समाज

अधियाँमै बाँचेको सिँगो गाउँ, पुस्तौदेखि नै छैन लालपूर्जा

डोल्पा- उमेरले ६९ पुगे पनि उनको परिवार अहिलेसम्म पनि अधियाँमै उब्जेको अन्नबालीबाटै जीबिकोपार्जन गरिरहेको छ।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ५ फुल्चिङ गाउँका स्थानीय चन्द्रलाल चलाउनेको घर आँगनमै खेतीयोग्य जमिन प्रशस्त भएपनि बिहान बेलुका भरपुर खान पुग्दैन।

वर्षभरि लगाएको अन्नवाली जग्गाधनीहरुले अधियाँको नाममा उब्जनीको ६० प्रतिशत अन्नबाली एकैचोटी लिने गरेकाले उनलाई जीविकोपार्जनमा समस्या पर्ने गरेको हो।

फुल्चिङ गाउँमा उनको परिवार बसेको कयौ पुस्ता बितेपनि उनको नाममा एक टुक्रा जमिनको लालपुर्जा छैन। चन्द्रलाल चलाउने मात्र होइनन् सिङगो गाउँका बासिन्दाहरुको जीविकोपार्जन नै अधियाँबाटै उब्जेको अन्नबालीवाट हुने गरेको छ। फुल्चिङ गाउँमा ६५ घरधुरीहरु रहेको भएपनि २३ घरधुरीका परिवारको नाममा एक टुक्रा पनि जमिन छैन।

बाँकीको नाममा पनि  कसैको पनि आफ्नो नाममा पूर्णजग्गाको लालपुर्जा छैन। बर्षभरि खनजोत गरेर बालीनाली लगाउँछौ घरमा भित्र्याउने बेला जग्गाधनीहरु बोरा बोकेर आउँछन उब्जनीको ६० प्रतिशत लैजान्छन जसले गर्दा हाम्लाई वर्षभरीमा ३ महिना पनि भरपुर खानपुग्दैन फुल्चिङ गाउँकी हिउँकली चलाउनेले आफ्नो पीडा सुनाइन्। उनले भनिन् 'दिउँ भने आफुलाई खान पुग्दैन नदिउँ भने जग्गा आफ्नो नाममा छैन बाध्यभएर जतिसुकै दु:ख र कष्ट सहेर खेतीपाती चलाएपनि आफै भोकै बसेर पनि अदियाँ दिनै पर्ने हुन्छ।

फुल्चिङ गाउँको बस्ती बस्दाको समयदेखि नै सिँगो गाउँ जग्गा बिहिन रहेको पाइएको छ। फुल्चिङ गाउँमा रहेको जग्गा फरक गाउँ र वडाका ४ जनाको नाममा नापी नक्सा भएको छ। साविकको लिकु गाबिस र हालको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १० का मोतिप्रसाद पहाडी,रत्नप्रसाद पहाडी,नारायण गिरी र रबिलाल खत्रीको नाममा २०५२ मा सिँगो गाउँको जग्गा नापी नक्सा भएको हो।

पुस्तौदेखि नै आफुहरुले जग्गा कमाउँदै आएको जग्गाधनीहरु पनि गाउँमा नबस्ने र बस्ने सम्भव पनि नभएकाले आफुहरुलाई धेरथोर मुल्यमिलाएर दिनु पर्ने फुल्चिङ गाउँका समाजसेवी लोकबहादुर चलाउने बताउँछन्।

पुर्खाको पालामा देवता र राजनीतिक रवाफमा सिँगो गाउँको जग्गा नै आफ्नो नाममा गरेर आफुहरुलाई लिकु गाउँका ठालु जमिनदारहरुले अन्याय गरेको र यसको लागि बारम्बार सम्बन्धित निकायमा न्याय दिलाइन दिन माग गरेपनि कुनै सुनुवाई नभएको फुल्चिङकै लालबहादुर चलाउनेले बताए।

गाउँमा बस्ती बसेर जमिन भोगचलन गर्दाखेरी नै आफ्ना पुर्खा हुँदै आजसम्म धेरै शासन ब्यवस्था र परिवर्तनको सामना गर्दै निरन्तर अबिचलित जग्गाधनीको बेवारिसे अवस्थामा भूमि भोगचलन गरिरहेकाले मोहियानी हकले समेत जग्गा फुल्चिङ गाउँबासिको नाममा हुनु पर्ने राजबहादुर चलाउने बताउँछन्।

के छ त कानूनी ब्यवस्था

भुमि सम्बन्धी ऐन २०२१ को दफा २५ ले लगातार २० वर्ष सम्म जग्गाधनीको जग्गा भोगचलन गरेमा स्वत ५० प्रतिशत मोहीहक कायम रहने ब्यवस्था रहेको र यसैको दफा २६ (घ) को २ ले लगातार २० वर्ष सम्म निरन्तर भोगचलन गर्ने ब्यक्तिले आफुलाई मोहीहक कायम गराई पाउँ भनी निवेदन दिएमा वा त्यस्तो अवस्था देखेमा सरकारले तोकेको अधिकारीले ७ नम्बर फाँटवारी र उपलब्ध सम्मका प्रमाण र गाउँ मुचुल्काको आधारमा पनि जग्गा धनी र जग्गा कमाउँदै आएका बीच मोही हक अन्तरगत ५० प्रतिशत हक कायम गरि बाँडफाड गरिने कानुनी ब्यवस्था छ।

जनयुद्वको निशाना बन्यो जग्गा

जनयुद्वको समयमा तत्कालिन नेकपा माओवादीले गाउँमा लिकुका सामान्तहरुले फुलिचङमा आएर देवता र राजनीतिक शक्तिको आडमा जग्गा कब्जा गर्न मिल्दैन भन्दै कारवाही गर्ने बताएका थिए।

सर्बहारा जनतालाई हाम्रो पार्टीले जग्गा कब्जा गरि सिँगो गाउँलेलाई नै दिन्छ तपाईहरुले अब देखि लिकुका जग्गाधनीहरुलाई अदिँया पनि दिनु हुन्न भनेर झण्डै दश वर्षसम्म अदिँया दिनमा रोक लगाएको र शान्ति प्रकृया आइसकेपछि आफ्नो नाममा माओवादीले जग्गा दिलाउन नसकेपछि पुन अदिँया दिन थालिएको लोकबहादर चलाउनेले बताए।

उनले भने “देवताकै नाममा जग्गा नापी हुन्छ भने आफुहरु सिकमाना देवतालाई चढाएर बचेको भोगचलन गर्न हामीहरु सहमत छौ तर देवताको त्रास देखाएर ब्यक्तिको नाममा जग्गा हुनु हुदैन यो सरासर अन्याय हो यसको बिरोध हुन्छ।”

के भन्छन जग्गाधनी ?

फुल्चिङ गाउँमा ४० प्रतिशत जग्गा आफ्नो नाममा रहेको बताउने डोल्पाका भूतपुर्व मन्त्री तथा समाजसेवी मोतिप्रसाद पहाडी कहिलेदेखि फुल्चिङ गाउँ रहेको भन्ने आफुलाई थाहा पनि नभएको र पुस्तौ पुस्ता बितेकाले जग्गा पनि पुर्खा देखिनै आफ्नै सन्तानमा नापी नक्सा भएको बताउँछन्।

फुल्चिङ गाउँको जग्गा बेचेर आफुलाई खानु पर्ने अवस्था नरहेको पहिला कुनसर्तमा जग्गा रहेको हो त्यो बुझि कुलाम्य देवताको आदेश भएमा एक रुपैयाँ पनि मुल्य नलिएर फुल्चिङबासिलाई जग्गा दिन आफु तयार रहेको पहाडीले बताए।

जग्गा किनबेचमा 'देवता' बाधक

फुल्चिङ गाउँ लालपुर्जा बिहिन बन्नुमा साबिकको लिकु गाबिस हालको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १० मा रहेका बिजुलडाँडा र बर्जमान नामक कुलाम्य देवता जग्गा किनबेचमा बाधक रहेको भनाई छ।

बस्ती बस्दाको समयमा लिकु गाउँबाटै फुल्चिङ गाउँमा चलाउने थरका एकजना गएर बसेको र त्यहाँको जग्गाजमिन भोगचलन गर्नेक्रममा परिवारमा अशुभ भएपछि पुन बिजुलडाँडा र बर्जमान देवतासंग सोधनी गर्न गएको किम्वदन्ती छ।

देवतालाई उव्जनी भएको अन्न्वाली सिक (प्रसाद) को नाममा चढाएर जग्गा पनि पुजारीको नाममा राखेर खानु शुभ हुन्छ भनेदेखि नै जग्गा पुरै देवताको पुजारी खलकको नाममा रहन गएको जनश्रुति छ।

२०२६ सालतीर पनि भूमिसुधार लागु हुँदाको बखतमा पुरै जग्गाको मुल्य २७ हजार ५०० सयमा बिक्री गरि जग्गाधनीहरु गएका थिए। तर जग्गा किनेर खाने र बेच्नेलाई देवता लागेर मर्न थालेको विश्वासमा पुन जग्गा लिकु गाउँकै मानिसहरुको नाममा रहने गरि भोगचलन हुदै आएको छ।

२०५२ को नापीमा लिकु गाउँका मोतिप्रसाद पहाडी,रत्नप्रसाद पहाडी, रबिलाल खत्री र नारायण गिरीको नाममा जग्गा नापी नक्सा भएको स्थानीय लोकबहादुर चलाउनेले बताए।

प्रकाशित: ३० पुस २०७५ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App