coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट रोके लोकतन्त्रका लागि दुर्भाग्य हुने चेतावनी

लन्डन – बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने चेतावनी दिएकी छन्। आइतबार देशका सांसदहरुसँग बोल्दै प्रधानमन्त्री मेले ब्रेक्जिट गर्न नसके त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने चेतावनी दिएकी हुन्। युरोपेली संघबाट बेलायतको बहिर्गमनबारे ब्रसेल्ससँग प्रधानमन्त्री मेले गरेको सम्झौतालाई लिएर मंगलबार बेलायतको संसद्मा निर्वाचन हुने अनुमानकै बीच उनको यस्तो चेतावनी आएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। प्रधानमन्त्री मेले युरोपेली संघका नेताहरुसँग गरेको सम्झौतालाई बेलायतको संसद्ले अस्वीकार गर्ने आशंका गरिएकै बेला मेले सो प्रस्ताव पारित गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको बताइएको छ।

बेलायतले यसै वर्षको मार्च २९ बाट युरोपेली संघको सदस्यता छोड्दै छ। सो मिति नजिकिँदै गर्दा युरोपेली संघबाट बेलायतको बहिर्गमनबारे लन्डनले असजिलो बाटो भएर हिँड्न परिरहेको छ। बेलायतको राजनीति ब्रेक्जिट र युरोपेली संघमै बस्नुपर्ने धारणामा विभाजित भइरहेको छ। प्रधानमन्त्री मेले युरोपेली संघका नेताहरुसँग गरेको सम्झौता देशको संसद्ले पारित नगरे बेलायतले जथाभावी रूपमा युरोपेली संघ छोड्न सक्ने वा त्यसैमा कायम रहिरहन सक्ने अवस्था सिर्जना हुनसक्ने अनुमान पनि गर्न थालिएको छ।

प्रधानमन्त्री मेले युरोपेली संघबाट बेलायत बाहिरिएपछि लन्डन र ब्रसेल्सबीच कस्तो सम्बन्ध हुने भनेर सम्झौता गरेकी थिइन्। तर उनले गरेको सम्झौतालाई लिएर बेलायतको राजनीति विभाजित भएका कारण संसद्ले सो सम्झौता पारित गर्ने सम्भावना नरहेको बताइएको छ।

ब्रसेल्ससँग गरिएको सम्झौतालाई लिएर बेलायतको संसद्मा डिसेम्बर महिनामै मतदान हुने कार्यतालिका भए पनि प्रधानमन्त्री मेले सो कार्यतालिका स्थगित गरेकी थिइन्। उनले आफूले गरेको सम्झौता संसद्बाट अस्वीकृत हुने डरले मेले सो कार्यतालिका स्थगन गरेको बताइएको थियो। प्रधानमन्त्री मेले सन् २०१६ को जनमत संग्रहमा जनताले युरोपेली संघबाट बाहिरिने विषयमा मतदान गरेकाले सांसदहरुले जनतालाई निराश पार्न नहुने तर्क गर्दै आएकी छन्।
‘ब्रेक्जिटमा जनतालाई धोका दिनु भनेको त्यसले लोकतन्त्रमा प्रकोप निम्त्याउने र लोकतन्त्रप्रति जनताको विश्वास उड्नु हो,’ प्रधानमन्त्री मेले सन्डे एक्सप्रेसमा लेखेकी छन्।

‘त्यसैले यो सप्ताहन्तमा देशको संसद्लाई मेरो यो नै सन्देश हुने छ की यो बेला राजनीतिक गेम नखेली देशको हितका लागि काम गरौं,’ मेको लेख उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। यसैबीच बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि कुनै पनि सम्झौताबिनै युरोपेली संघ छोड्नु विनाशकारी कदम हुने चेतावनी दिएका छन्। उनले यस्तो हुन नदिन आफ्नो दलले जस्तोसुकै कदम चाल्ने पनि उनले बताएका छन्।

प्रकाशित: ३० पुस २०७५ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App