राष्ट्र निर्माताको सम्मानमा संकीर्णता

सोमबार, ३० पुष २०७५, ०९ : ०४ डा. सुरेश आचार्य

पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइरहँदा खुइल्याउने र उजिल्याउने दुवै प्रवृत्ति देखा परे। राज्यले घोषितरूपमा पृथ्वीजयन्ती मनाउन कञ्जुस्याइँ गर्‍यो। पर्व बिदामा अडान राख्न नसकेको सरकारले राष्ट्र निर्माताका नाममा बिदा दिने र उत्सव मनाउने उदारता देखाउन सकेन। तर पृथ्वीजयन्तीका नाममा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश आयो। प्रधानमन्त्री पनि पृथ्वीजयन्तीका नाममा भएका कार्यक्रममा भाषण गर्न कुदेर पुगेको देखियो। भलै प्रधानमन्त्रीका अभिव्यक्ति सकारात्मकमात्रै रहेनन्। सन्देशमूलकभन्दा पनि प्रधानमन्त्रीको आफ्नो स्वभावअनुसारका उडन्ते पनि सुनिए। आलंकारिक राष्ट्रपतिले सरकारको अनुमतिबिना नै आफ्नै लहडमा मात्रै पक्कै सन्देश दिएको होइन। पृथ्वीनारायण शाहका बारेमा सरकारले दोहोरो चरित्र देखायो।

पृथ्वीनारायण शाहका बारेमा द्वैध चरित्र राख्नुपर्ने कारण नै छैन। उनी राष्ट्र निर्माता हुन्। उनले खडा गरेको राज्य नेपालका नागरिक भनेर हामी गर्व गरिरहेका छौँ। नेपालमा बस्नेहरूमात्र होइन, नेपालमा जन्मेर नेपालबाहिर बस्नेहरू पनि आफूलाई नेपाली भनेर गर्व गरिरहेका हुन्छन्। विदेशमा जन्मेका नेपालीभाषीले समेत आफूलाई नेपाली भनेर चिनाउँदा गर्व गर्छन्। यो नेपाल खडा गर्न पृथ्वीनारायण शाहले नेतृत्व गरे र उनका भाइ र छोराहरूले उनको यो प्रयासलाई निरन्तरता दिए। सुगौली सन्धिले आजको सीमा निर्धारण गरिदियो र आज हामी आफ्नो भूभागमा छिमेकीले गर्ने अतिक्रमणविरुद्ध रगत उमाल्ने गर्छौँ। के पृथ्वीनारायण शाहले नेपाल बनाइदिएर अपराध गरेका हुन् ?

हामी ज्ञानेन्द्रलाई संवैधानिक राजाका रूपमा समेत फेरि फर्काउने कुरालाई प्रतिगामी ठान्छौँ भने पुस्तौँअगाडि खोसिएको सत्ता फर्काउन माग गर्नेहरूको कुरा कति गुणा प्रतिगामी होला ?

जति पनि विश्वका मुलुक छन्, त्यसको निर्माणमा कसै न कसैको योगदान छ। जर्मनीका अटोभान विस्मार्क निरंकुश शासकका रूपमा इतिहासमा बदनाम छन्। तर जर्मनी बनाउन उनले गरेको योगदानका विषयमा जर्मनीमा कुनै विवाद छैन। इटलीका निर्माता गेउसेपी मेजनिर गैरिवाल्डीलाई असल शासकका रूपमा स्वीकार गरिँदैन। तर राष्ट्रनिर्माताका रूपमा उनको सम्मान आज पनि उत्तिकै छ। जर्ज वासिंगटनका नाममा अमेरिकामात्र खडाछैन, अमेरिकी राजधानी आजपर्यन्त कायम छ। गोरखाली सेनाको विश्व चर्चा आज पनि सेलाएको छैन। आजका गोरखावासीका नाममा वीर गोर्खाली कोहीबन्थ्यो भने त्यत्रो युद्ध लडेर आएका डा. बाबुराम भट्टराईले यो जश किन छाड्दा हुन्। तर उनका कारणले होइन, पृथ्वीनारायण शाहका सेनाको जश विश्वमा आजपर्यन्त निरन्तर छ। परमाणु अस्त्रको विकास हुँदा पनि उनै गोर्खालीका नाममा विश्वमा सैनिक बन्ने अवसर नेपालीले पाइरहेका छन्।

राष्ट्र निर्माताका नाममा पृथ्वीनारायण शाहको स्मरण गर्न किन कञ्जुस्याइँ? यो हीनमनोग्रन्थीको उपज हो। जतिबेला पृथ्वीनारायण शाह शासक बने, त्यसबेला यो देशमा राष्ट्रपतिको अभ्यास थिएन। जति टुक्रा राज्य थिए, त्यति नै राजा÷महाराजा थिए। हिजो पृथ्वीनारायण शाहको युद्धमा पराजित भएर राज्य खोसिएकामा घोर गणतन्त्र पक्षधर भएर उग्रता व्यक्त गर्नेहरूको राज्यमा पनि राष्ट्रपति थिएन, त्यहाँ पनि महाराजा नै थिए। यो देशमा मात्र होइन, आज गणतन्त्र भएका वा कुनै बेला कम्युनिस्ट राष्ट्र बनेकाहरूमा पनि त्यो बेला राजा महाराजाकै शासन थियो। उसबेलाका महाराजाहरू आजका नेता जति पनि सामन्तवादी सोच र संस्कृतिका थिएनन्। कम्तीमा पृथ्वीनारायण शाहका हकमा यति भन्न सकिन्छ। अन्यथा, युद्धको खर्च जुटाउने सल्लाह गर्न बिर्से नगर्चीकहाँ उनी जाने थिएनन्। आजका कुन नेता आफ्ना सामान्य कार्यकर्ताको सल्लाहमा कति चल्ने गर्छन् ? आजसमेत दलित मानिएको दमाइँसँग उसबेलाका महाराजाले सल्लाह गर्ने कुरामा सामन्तवादको गन्ध कहाँ देखियो ?

युद्धमा हिंसा हुन्छ। यो स्वाभाविक प्रक्रिया हो। दुश्मनलाई मारेर वा छलेर सत्ता कब्जा गर्नु नै युद्धको घोषित नीति हो। एक्काइसौं शताव्दीमा आइपुग्दा राज्य सत्ता कब्जा गर्न मात्रै त निर्दोष र निरपराध नागरिकको हत्यालाई युद्धको संज्ञा दिइयो। अठारौँ शताव्दीको युद्धमा मारकाट हुनु कुनै आश्चर्यको विषय होइन। अझ त्यो राज्य खोस्ने कुरा थियो, शासनसत्ताको मात्र विषय थिएन। युद्धमा बल प्रयोग पनि हुन्छ। छल प्रयोग पनि हुन्छ। महाभारतको लडाइँमा कृष्णले बलले जीत हासिल गर्न नसक्दा छल प्रयोग गरेको ऐतिहासिक तथ्य धेरै नेपालीले पढेका सुनेका छन्। ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः’ युद्ध थिएन, छल थियो।

माओवादीले पछिल्लो समय १० वर्ष चलाएको जनयुद्धमा प्रशासनिक निकायमा आक्रमण गर्दा सूचना दिएर गरेको थिएन। न त सामान्य नागरिकलाई कुनै कारण देखाएर आक्रमणको सूचना दिइएको थियो। नागरिकमाथिको आक्रमण राज्य सुरक्षा निकायलाई कमजोर देखाउन अपनाइएको रणनीति थियो। निदाएका नागरिक र सुरक्षाकर्मीमाथि धावा बोलिएको थियो। शत्रु कमजोर भएको अवस्थामा नै आक्रमण गरेर जीत हासिल गर्नु युद्धको अभीष्ट हो। त्यसैले युद्धमा कसले कसलाई कस्तो व्यवहार गरेको थियो भनेर न हार्ने पक्षले हिसाव खोज्ने हो, न जित्ने पक्षले बदलाको भाव राख्ने हो। युद्ध सकिएपछि सबै कुरा सकिँदैनथे भने मेलमिलाप आयोग जरुरी हुने थिएन।
लामो समय आफैँ बन्दी बनेको नेपालको राजतन्त्र पछिल्लो समयमा लोकतन्त्रको दुश्मनका रूपमा देखा पर्न थाल्यो। आज पनि कतिपय लोकतान्त्रिक मुलुकमा राजतन्त्र छ। जापान, बेलायतलगायत विकसित देशलाई राजतन्त्रसँग कुनै वैरभाव छैन। तर गणतन्त्र भएका कतिपय मुलुकमा अहिले पनि लोकतन्त्रको ग्यारेन्टी छैन। त्यसैले राजतन्त्र वा गणतन्त्र सम्बन्धित मुलुकका आफ्ना आफ्नै समस्या हुन्। राजाका रूपमा कसैप्रति सम्मान भाव नआउने कुनै कारण नेपालमा छ भने त्यो राजसंस्था आफैँले खडा गरेको समस्या हो। मुलुकमा राणाशाहीविरुद्ध लोकतन्त्रको लडाइँ चल्दा महाराजा त्रिभुवन पनि कम क्रान्तिकारी देखिएका थिएनन्। राजगद्दीको बाजी लगाएर नै उनी भारतको शरणमा पुगेका थिए। तर उनका सन्तानले लोकतन्त्रको सम्मान गर्न नजान्दा राजसंस्था नै उखेलियो। यसको अर्थ पृथ्वीनारायण शाहलाई राजपात्रका रूपमा उभ्याएर उनको बदनाम गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।

हिजो आफ्ना पूर्वजसँग युद्ध गरेका कारणले उनलाई दुश्मन देख्ने हो भने महाराज ज्ञानेन्द्रले अहिलेका राजनीतिक दललाई शत्रु ठान्नुलाई अन्यथा लिन मिलेन। हिजो युद्धका नाममा रुखको फेदमा बाँधेर मारिएका शिक्षक वा भलिबल कोर्टको पोलमा बाँधेर रेटिएका पत्रकारले कुन अर्थमा त्यसो गरेर हिँड्नेलाई राजनीतिक प्राणी मान्ने ? कसरी घर करेसो जोडेर छिमेकी ठान्ने ? आज पुस्तौँपछि आएर पृथ्वीनारायण शाहले मेरो पुर्खाको राज्य खोसेको थियो भन्नेहरूले ज्ञानेन्द्रलाई मेरा पुर्खाले आज्र्याको राज्य भन्ने अधिकार छैन भनेर कुन मुखले भन्ने ? जसरी राजनीतिक आन्दोलनमा ज्ञानेन्द्रले हारे, त्योभन्दा फरक भीषण युद्धमा हिजोका राजा राजौटाले हारेका हुन्। अब ज्ञानेन्द्रले कसैसँग गुहार गरेर राज्य पाउँदैनन्। नागरिकले चाहेर फेरि ज्ञानेन्द्रका नातिका दिन फिरेछन् भने त्यो अर्कै कुरा हो। तर यतिबेला उनले आफ्नै कुबुद्धिले राजसंस्था सिध्याएका हुन्। हामी ज्ञानेन्द्रलाई संवैधानिक राजाका रूपमा समेत फेरि फर्काउने कुरालाई प्रतिगामी ठान्छौँ भने पुस्तौँअगाडि खोसिएको सत्ता फर्काउन माग गर्नेहरूको कुरा कति गुणा प्रतिगामी होला ?

शासकहरूको महत्वाकांक्षा नै सही, नेपाल राज्य बनाउन पृथ्वीनारायण शाहको योगदान कुनै अर्थमा पनि अपमानको विषय हुन सक्दैन। उनलाई अवमूल्यन गर्नु अहिले आफूलाई राष्ट्रवादी भन्नेहरूको संकीर्ण सोच हो। उनले नेपाल एकीकरण गरेका हुँदैनथे भने विश्व साम्राज्यवादको चपेटामा नेपालको नामोनिसान रहने थिएन। कसैगरी नेपाल शब्द कसैको मानसपटलमा रहेको हुन्थ्यो भने पनि यो कुनै अर्कै मुलुकको सानो प्रान्तका नाममा सीमित रहने निश्चित थियो। आज सार्वभौम नेपालका नाममा राष्ट्रवादी गीत गाउनेहरूले पृथ्वीनारायण शाहलाई कुन मुखले विस्तारवादी भन्ने ?राष्ट्रनिर्माताका रूपमा स्वीकार गरिरहँदा उनलाई राष्ट्रिय विभूतिका रूपमा स्वीकार गर्न किन लजाउने ? उनको जन्मजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउन किन आनाकानी गर्ने ?







यसमा तपाईको मत

अन्य समाचार

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

तपाईंको आइफोनले पाउँदै छ नयाँ iOS अपडेट

iOS १३ आइफोन सिक्स एसभन्दा पछि र सँगै रिलिज भएका आइफोनहरूमा उपलब्ध हुनेछ ...

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

Ncell Footer Ad