७ वैशाख २०८१ शुक्रबार
समाज

चितवन राष्ट्रिय निकुन्जमा प्लास्टिक प्रतिबन्ध

जिपमा चढेर चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्दै पर्यटक। फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले अब प्लास्टिकका झोला ल्याउन नपाउने भएका छन्। फोहोर समस्या हटाउन निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो। यहाँ आउने पर्यटकले अब प्लास्टिकको सट्टा कपडाको झोला बोक्नुपर्ने हुन्छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार पर्यटकले लिएर आउने प्लास्टिकका झोला तथा बोतल निकुञ्जभित्रै फालेर जाने गरेका कारण फोहोर बढेकाले यस्तो नियम लगाइएको हो। यही पुस १७ गतेदेखि निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको उनले जानकारी दिए। ‘भित्र लगिएका पानीका बोतलहरू फिर्ता ल्याएर काउन्टरमा बुझाउने नियम लागू गरिएको छ,’ उनले भने, ‘निकुञ्जभित्र छिर्नुअघि झोलाको जाँच र पानीका बोतल इन्ट्री गर्ने व्यवस्था गरेका छौं।’ भित्र फोहोर नहोस् भनेर फर्किंदा बुझाउनुपर्ने नियम लागू गरिएको संरक्षण अधिकृत घिमिरेले बताए।

दुई वर्षदेखि निकुञ्ज कार्यालयले प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गरेको प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए। घुम्न आउने पर्यटकले मात्र होइन, निकुञ्जभित्र बस्ने नेपाली सेना, कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोललगायतका सामग्री जथाभाबी फाल्न नपाउने उनले बताए। निकुञ्जभित्र सुरक्षाका लागि सेनाका ५० वटा पोस्ट राखिएका छन्। त्यहाँ बस्ने सेनालाई पनि प्लास्टिकका झोलाको विकल्पमा कपडाका झोला प्रयोग गर्न लगाइएको उनले जानकारी दिए।

घुम्न आउने पर्यटकले मात्र होइन, निकुञ्जभित्रै बस्ने नेपाली सेना, कर्मचारीले पनि प्लास्टिकका झोला, खानेकुराका प्याकेट, खोललगायतका सामग्री फाल्न पाउने छैनन्।

निकुञ्जभित्र विभिन्न स्थानमा डस्टबिन राखिएका छन्। पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने सामानका लागि फरक–फरक डस्टबिन छन्। प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नुअघि एक साता लगाएर निकुञ्ज भित्र रहेका फोहोर संकलन गरिएको सूचना अधिकारी घिमिरेले बताए। ‘निकुञ्जभित्र जथाभाबी प्लास्टिक छरिएको देख्दा पर्यटकले पनि नराम्रो मान्थे,’ उनले भने, ‘वन्यजन्तु चराचुरुङ्गीले ती प्लास्टिक खान्थे। अनि रोगी हुन्थे।’ प्लास्टिक खाएकै कति वन्यजन्तुको मृत्यु पनि भइरहेको उनले बताए। यसैकारण प्लास्टिकमुक्त क्षेत्र बनाइँदा निकुञ्ज क्षेत्र सफा हुनाका साथै वन्यजन्तुको स्वास्थ्य पनि राम्रो हुने अपेक्षा गरिएको छ।

उक्त अभियानलाई सफल पार्न यसबारे सूचना बोर्ड, पोस्टर र स्टिकर प्रयोग गर्ने तयारी निकुञ्ज कार्यालयले गरेको छ। निकुञ्जभित्र र्छिने १० वटा प्रवेशद्वार छन्। सुनाचुरी, खगेन्द्रमल्ली, सौराहा, घटगाई, कसरा, वनकट्टा, भिम्ले, लौखानी, अमलटारी, कुजौलीबाट पर्यटक निकुञ्ज प्रवेश गर्न सक्छन्। सौराहा, कसरा, भिम्ले, अमलटारी केन्द्रबाट धेरै पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन्। चालु आर्थिक वर्षको मंसिरसम्म ७१ हजार ७ सय २० पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन्। जसमध्ये १३ हजार ६ सय ५९ नेपाली पर्यटक रहेको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

प्रकाशित: ३० पुस २०७५ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App