८ वैशाख २०८१ शनिबार
खेल

इराक र इरान नकआउट चरणमा

अबुधाबी– समूहचरणका दुई खेलमा लगातार जित निकाल्दै इराक र इरानले शनिबार एसिया कपमा एक खेलअगावै नकआउट चरणमा स्थान बनाएका छन् । 

समूह ‘डी’अन्तर्गत शनिबार भएको खेलमा २०१५ मा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल इराकले यमनमाथि ३–० को सहज जित निकालेको हो  । तीन पटकको एसिया कप विजेता इरानले  भियतनाममाथि  २–० को जित दर्ता गराएको हो । 

यस्तै समूह ‘ई’ मा रहेको तीन पटकको विजेता साउदी अरेबियाले पनि समूहचरणका दुई खेलमा स्पष्ट जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । साउदी अरेबियाले शनिबारै राति भएको खेलमा लेबनानमाथि २–० को जित निकाल्न सफल भएको हो ।

लगातार दुई खेलमा जित निकाल्न सफल इरान र इराकले बुधबार समूहविजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै साउदी अरेबियाले बिहीबार राजनीतिक गतिरोधबाट ग्रसित कतारसँग प्रतिस्पर्धा गर्नेछ । कतारले समूहचरणको पहिलो खेलमा लेबनानमाथि २–० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । 

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । उत्कृष्ट तेस्रो हुने चार टोली पनि अन्तिम १६ मा प्रवेश  गर्नेछन् । 

शनिबार इराकलाई यमनविरुद्ध ३–० को विजयी नतिजा दिलाउन मोहनाद खादिमले ११औं मिनेटमा गोलको खाता खोलेका थिए । खादिमले मैदानको मध्यभागमा पाएको बललाई आकर्षक शैलीमा प्रतिद्वन्द्वी खेलाडीलाई छक्याउँदै एकल प्रयासमा सुरुआती अग्रता दिलाउन सफल भएका हुन् । त्यसको आठ मिनेटपछि बसार रेसनले भियतनामाविरुद्ध अन्तिम मिनेटमा विजयी गोल गर्दै ३–२ को जित दिलाएका अली अदनानको पासमा इराकलाई दोस्रो सफलता दिलाए । पहिलो हाफमा पाएको २–० को सफलतापछि उच्च मनोबलका साथ खेलेको इराकले अन्तिम मिनेटमा तेस्रो गोल गर्न सफल भयो । अला अब्बासले अहम्मेद यासिमको पासमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे । 

लगातार दुई खेलमा पराजित भएको यमनको अघिल्लो चरण यात्रा समाप्त भएको छ । अब यमनले समूहचरणको अन्तिम खेलमा प्रतिष्ठाका लागि भियतनामसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । भियतनामको पनि इरानसँगको पराजयसँगै अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

यस्तै शनिबारै सम्पन्न खेलमा लेबनानविरुद्ध २–० को जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल साउदी अरेबियाका लागि  फाहाद अल–मुआल्लदले १२औं मिनेटमा गोलको खाता खोलेका थिए । ६७औं मिनेटमा हुसेन अलमोक्वाहोईले टोलीका लागि दोस्रो गोल थपेका थिए । बाँकी सयमा लेबनान खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र लगातार दुई खेलमा पराजित हुँदा अघिल्लो चरणको यात्रा कठिन बनेको हो । साउदी अरेबियाले १९९६ पछि पहिलो पटक लगातार दुई खेलमा जित निकाल्न सफल भएको हो । 

एसिया कपअन्तर्गत आइतबार सम्पन्न समूह ‘ई’ को खेलमा कतारले उत्तर कोरियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । पहिलो खेलमा लेबनानमाथि २–० को जित निकालेको कतारले लगातार दुई खेलमा जित निकाल्दै ६ अंक बनाउँदा अघिल्लो चरणको यात्रा सहज बनेको हो । लगातार दुई खेलको पराजयसँगै उत्तर कोरियाको अघिल्लो चरणको यात्रा समाप्त भएको छ। एपी

प्रकाशित: ३० पुस २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App