८ वैशाख २०८१ शनिबार
समाज

डा.केसीको मुटुको गति अनियमित, अस्पताल जान मानेनन्

इलाम - ५ दिनदेखि सत्याग्रहमा रहेका डा.गोविन्द केसीको मुटुको चाल अनियमित हुन थालेको छ। आइतबार गरिएको परीक्षणमा उनको मुटुको गति अनियमित भइ अस्पताल नै लैजानुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन्।

‘डा.केसीले आफै पनि मुटुको चाल निकै अनियमित भइसकेको अनुभव गर्नुभएको छ,’ इलाम अस्पतालका चिकित्सक डा.विजेन्द्रकुमार साहले भने, ‘उहाँ (डा.केसी) निकै सिकिस्त भएर अस्पताल लैजानुपर्ने अवस्थामा हुनुहुन्छ।’ चिकित्सकका अनुसार डा.केसीलाई निमोनियाको आशंका समेत गरिएको छ। ‘उहाँको छाती चेक गर्दा निमोनिया भएको हुनसक्ने देखिएको छ तर अस्पताल जान मान्नुभएन,’ डा.साहले भने, ‘सास फेर्न गाह्राे भएको छ, उठ्नेबित्तिकै चक्कर लागेर अडिन सक्नुभएको छैन।’ यो अवस्थामा अक्सिजन दिनुपर्ने भएपनि डा.केसीले अक्सिजन लिन नमानेको साहले बताए।

डा.केसीलाई समर्थन गर्दै आइतबार उनका अभियन्ता डा.अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र ३ नम्बर प्रदेशका सांसद रमेश पौडेल इलाम आएका छन्। सत्याग्रहस्थलमा आएर पत्रकार सम्मेलन गर्दै अभियन्ता त्रयले डा.केसीले उठाएका माग पूरा गर्न सरकार जिम्मेवार नभएको बताए। उनीहरूले संसदीय समितिले पनि सरकारकै सल्लाहमा काम गर्ने भन्दै उनीहरूले डा.केसीका मागमा सरकारले चासो नदिएको गुनासो गरे।

‘केदारभक्त माथेमा नेतृत्वको कार्यदलले धनगढी, बर्दिबास र इलाम वा ताप्लेजुङमा सरकारी मेडिकल कलेज र अस्पताल खोल्न दिएको सुझावअनुसार साउन १० मा डा.केसीसँग सम्झौता भएको छ,’ अभियन्ता सिंहले पत्रकार सम्मेलनमा भने, ‘धनगढीमा डा.केसीकै बलमा मेडिकल कलेजको भवन तयार भइसक्यो, बर्दिबासमा जग्गा अधिग्रहण भइ सीमांकन भएको छ, इलाममा चाहिँ सुरु हुन सकेको छैन।’ उनले डा.केसीको अहिलेको सत्याग्रह इलाममा सरकारी मेडिकल कलेज र अस्पताल खोल्ने दबाबस्वरूप भएको बताए। डा.केसीको अभियान र लामो सडक संघर्षका कारण राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आएको भन्दै डा.सिंहले पूर्वसहमतिविपरीत विधेयक पास भए दुर्गमका विद्यार्थी सधैं मारमा पर्ने अवस्था अझै कायम रहने जनाए।

३ नम्बर प्रदेशका सांसद पाैडेलले कुनै पनि माग राखेर सत्याग्रहमा बस्ने नागरिकको अधिकार भएको भन्दै डा.केसीको मागमा सरकार संवेदनशीन नभएको बताए। ‘सरकारले सम्झौता गर्दैजाने तर कार्यान्वयन नगर्ने हो भने सरकारप्रतिको निष्ठा हराएर जानसक्छ,’ उनले भने, ‘डा.केसीसँग जे सम्झौता गरिएको छ, त्यो पूरा गर्नुपर्छ।’ अभियन्ता वरिष्ठ अधिवक्ता भण्डारीले सरकारले सहमतिविपरीत विधेयक ल्याएर नागरिकको स्वास्थ्यमा खेलबाड गर्न खोजेको बताए। ‘डा.केसीको अभियान गरिबले पनि पढ्न पाउनुपर्छ भन्ने हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘सरकारको अबको विकल्प भएको पूर्वसहमतिको अक्षरशः पालना नै हो, अरू केही छैन।’ उनले १५ औं पटक सत्याग्रहमा बस्दा डा.केसीसँग गरेको बाचा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए।

डा.केसीलाई समर्थन गर्दै आइतबार पनि सदरमुकाममा र्‍याली र कोणसभा आयोजना गरियो। र्‍यालीमा जिल्लास्थित विभिन्न क्षेत्रका नागरिक सहभागी भए। उनीहरूले डा.केसीले इलामजस्ता दुर्गम ठाउँका विद्यार्थी पढ्न पाउनेगरी मेडिकल कलेज खोल्न राखेको माग सरकारले पूरा गर्नुपर्नेमा जोड दिए।

डा.गोविन्द केसी गत बुधबारदेखि इलाम सदरमुकामस्थित फूलगाछीमा रहेको एक निजी घरमा १६ औं सत्याग्रहमा छन्। आफू जति दिन सत्याग्रहमा रहनुपरेपनि सरकारसँग भएको पूर्वसहमति कार्यान्वयन गराएरै छाड्ने उनको अडान छ। सहमति अक्षरशः पालना गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन उनले माग गरेका छन्।

प्रकाशित: २९ पुस २०७५ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App