७ वैशाख २०८१ शुक्रबार
अर्थ

घटेको हवाई भाडा आजबाट लागू

फाइल फाेटाे

काठमाडौं – आन्तरिक वायुसेवा कम्पनीले घटाएको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम चार सय ४० रुपैयाँसम्मको भाडा आइतबार (आज)बाट लागू हुँदैछ।

नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएपछि निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको थियो। प्रचलितमा ९.६ प्रतिशतका दरले घटाएको भाडा दर आइतबारबाट कार्यान्वयनमा आउनेछ।

‘हवाई इन्धनको भाउ घटेपछि हामीले पनि बैठक गरेर हवाई भाडा घटाउने निर्णय गरेका हौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले भने, ‘दुरी अनुसार न्यूनतम ९० देखि अधिकतम चार सय ४० रुपैयाँसम्म भाडा घटाइएको छ।

आयल निगमले बिहीबार मध्यरातबाट लागू हुने गरी हवाई इन्धनको भाउ आन्तरिक जहाजका लागि प्रतिलिटर एक सय चार रुपैयाँ ५० पैसाबाट १० रुपैयाँका दरले घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो। हवाई इन्धन सस्तिएसँगै भाडादर पनि घटाउने निर्णय संघले गरेको हो।

जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुन्छ। हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँसम्म तलमाथि भए हवाई भाडा त्यही अनुपातमा घटबढ गर्ने व्यवस्था छ। त्यसैगरी, प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति पनि छ।

घटेको भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमराका लागि ९० र सबैभन्दा टाढा धनगढीका लागि चार सय ४० रुपैयाँ घटाइएको छ।

नयाँ भाडादर अनुसार आइतबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीको सिमरा जान तीन हजार एक सय २० रुपैयाँ तथा सबैभन्दा टाढा (एक घन्टा २० मिनेट) दुरीको धनगढी जान १२ हजार ६ सय ६० रुपैयाँ तिर्नुपर्छ।
गन्तव्य               नयाँ भाडा    प्रचलित भाडा
माउन्टेन फ्लाइट     ११६५०         ११३०५
पोखरा                  ५२००           ५०४५
भरतपुर                 ३७५०           ३६४०
बिराटनगर             ७८००           ७५६०
सिमरा                   ३२१०          ३१२०
भैरहवा                ६४००             ६१९५
धनगढी               १३१००          १२६६०
नेपालगन्ज           १०३००          ९९७५
भद्रपुर                 ९४००            ९१००
तुम्लिङटार           ६२००             ६०१५
जनकपुर              ४४००             ४२७०

प्रकाशित: २९ पुस २०७५ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App