अविनाश र किरणको २५ वर्षे दाम्पत्य

आइतबार, २९ पुष २०७५, १३ : ३१ राजु अधिकारी  | @rajuadhikari14

विश्वविद्यालयहरुमा धेरैथरी विषयको ‘व्यवस्थापन’ बारे पढाइ हुन्छ, ‘परिवार व्यवस्थापन’ बारे कोर्स बनेकै छैन । विश्वविद्यालयको ‘मेनु’ मा यो विषय उक्लेको छैन भन्दैमा परिवार चल्छ कसरी, दाम्पत्य जीवन अघि बढ्छ कसरी भन्ने ज्ञानबाट मान्छे अनभिज्ञ पनि छैन । सुखद् दाम्पत्य जीवन कसरी सम्भव हुन्छ ? यसको उत्तर हाजिरीजवाफ शैलीमा नआउन सक्छ । सफल र खुसी दाम्पत्यको एउटै सूत्र कतै पनि फेला पर्दैन बरु हरेक व्यक्तिको दाम्पत्य यात्राको अनुभवले आफैँ सूत्र बनाउँदै लैजान्छ । 

उद्योगपति अविनाश बोहरा र किरण (पिंकी) बोहराको जीवनमा पनि त्यस्तै सूत्रहरु बन्दै गएका छन् । यही वर्ष विवाहको २५ वर्ष (रजत जयन्ती) पूरा गर्न लागेको यो जोडीको सुखद् दाम्पत्यको सूत्र एउटै छ ‘आपसी समझदारी ।’ 
‘हामी पति–पत्नीभन्दा बढी असल साथी हौं’, हालैको एक बिहान परिवारसँगको गफको सुरुमै किरणले भनिन्, ‘पति–पत्नी जब असल र राम्रो साथी हुन्छन्, त्यसबेला सबै कुरा सजिलै अघि बढ्दोरहेछ ।’ पत्नी किरणले यसो भनिरहँदा अविनाश सहमतिसूचक भावमा सही थप्दै थिए । ‘हामी त एक अर्काको रगतमै बग्छौं कि जस्तो लाग्न थालेको छ’, २५ वर्ष लामो सहयात्राको उपलब्धि अविनाशले सुनाए ‘किनभने, जे कुराको योजना म बनाइरहेको हुन्छु, त्यो उनले पनि सोचिरहेकी हुन्छिन् । अनि उनले गरिरहेको योजना मेरो मनमा पनि खेलिरहेको हुन्छ । सबैकुरा ‘टेलिप्याथी’ हुने कारण सायद त्यही होला ।’ 

यति भनिसकेर दुवै मज्जाले हाँसे । 

उनीहरुको अनुभवलाई आधार मान्ने हो भने समझदारी, विश्वास, भावना, आत्मसम्मान, अनुभव, आर्थिक, सामाजिक, सांस्कृतिक धेरै अवयवहरुले दाम्पत्य नामको संस्थाको सफलता–असफलता निर्धारण गर्छ । त्यसमा एकापसको सम्मानले झन् धेरै काम गर्ने उनीहरुको बुझाइ छ । ‘यो २५ वर्षको हाम्रो अनुभवले यही भन्छ’, दुवैको एकैस्वर छ ‘तर, हाम्रो जस्तै बुझाइ अरुको नहुन सक्छ । त्यसैले यही कुरा अन्तिम सत्य भन्ने दाबी हाम्रो छैन ।’ 

........... 

अविनाश बोहराको छवि विराटनगरमा ‘उद्योगपति’ को मात्रै छैन । उनी सफल र चर्चित उद्यमी त हुन् नै, यसबाहेक उनी कहलिएका नेतृत्वकर्ता र अध्ययनशील युवा पनि हुन् । पारिवारिक विरासतमै प्राप्त आधा दर्जनभन्दा बढी उद्योग, आफैँले स्थापना गरेका नयाँ उद्योग र प्रोजेक्टहरुका कार्यकारी प्रमुख बोहरा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पनि हुन् । आफ्ना उद्योगधन्दाहरुबाट बचेको समय उनले उद्यमी–व्यवसायीको संस्थाको नेतृत्वकर्ममा लगाएका छन् । जसलाई उनले आफ्नो सामाजिक उत्तरदायित्व ठानेका छन् । 

यसबाहेक पूर्वमै विश्व अर्थतन्त्रबारे गहिरो अध्ययन भएका सीमित व्यक्तिमा गनिन्छन् उनी । त्यसैले आर्थिक विषयमा कलम चलाउने पत्रकारको सूचनाको भरपर्दो स्रोत हुन् उनी । उद्योगी–व्यवसायीहरुका लागि मुलुकको अर्थतन्त्र र सम्भावनाबारे पूर्व सूचना दिने साथी उनै हुन्छन् ।  नेपालको अन्तर्राष्ट्रिय व्यापार सम्भावना तथा व्यापार व्यवसायको अरु धेरै अप्ठ्याराहरुबारे उनी वर्षमा दर्जनौं ‘पेपर’ तयार पारिरहेका हुन्छन् । सफ्ट टेनसका पूर्व राष्ट्रिय खेलाडी उनी यी सबै काम र दायित्व निर्वाहका क्रममा ‘पारिवारिक साथ’ सबैभन्दा ठूलो आत्मबल बनेको बताउँछन् ।  ‘बिहान सबेरै सुरु हुने दैनिकी राति अबेर मात्रै टुंगिन्छ’, उनले भने, ‘यसक्रममा किरण र परिवारले दिएको साथले धेरै कुरा सहज भएको छ । आफ्नो  काममा निरन्तर लागिरहन प्रेरित गरिरहेको छ ।’ 

.........

भारतीय फिल्मनगरी मुम्बई माइती घर भएकी किरण (पिंकी) लाई कुनै दिन बिहे भएर नेपालको कुनै घरमा भित्रिनेछु भन्ने कल्पनासम्म थिएन रे । ‘मलाई त हाम्रो जातिका मान्छे नेपालमा छन् भन्ने पनि लाग्दैनथ्यो’ उनले सुनाइन् ‘तर, जाति मात्रै होइन, मेरै लागि बनेको मान्छे पनि अन्ततः नेपालमै रहेछन् ।’ किरणका अनुसार महिलाप्रति अनुदार हुने सासूससुरा र परिवार उनले धेरै देखेकी छन् । घरकै चार दिवालमा सीमित भइदिए हुने भन्ने चाहना राख्नेहरुले बुहारीको इच्छा आकांक्षाको सम्बोधन हम्मेसी गर्दैनन् । ‘तर, यो परिवारमा मैले विल्कुल फरक अनुभूति सुरुमै पाएँ’, उनले भनिन् ‘यहाँ आउनासाथ सासू आमाले पहिले गाडी कुदाउन सिक्न भन्नुभयो, उहाँकै प्रेरणाले ड्राइभिङ सिकेँ । घरको कामबाहेक व्यापारिक ‘डिल’ मा संलग्न हुन प्रेरित गर्नुभयो, त्यसले झन् आत्मविश्वास बढायो ।’ परिवारको अभिभावकको यस्तो सहयोगले बोहरा परिवारमा उनलाई बुहारीभन्दा बढी छोरीको अनुभव गरायो । आमा–बुबाका एक्ला सन्तान अविनाश र उनकी पत्नी किरणलाई लाग्छ ‘सफल दाम्पत्यको पहिलो जग  बलियो  अभिभावकीय छहारी पनि हो ।’

उनले यसो भनिरहँदा उनका उद्योगका सहयोगीहरु  कुराकानीस्थलमै आइपुगे । उनीहरुलाई पतिपत्नी दुवैले आवश्यक निर्देशन दिए । उद्योगमा कसको निर्देशन अन्तिम हुन्छ ? ‘हामी दुवैको’, किरणले भनिन् ‘हाम्रो धेरै फरक कुरै हुँदैन ।’ 

....

विराटनगरको पुरानो औद्योगिक घराना बोहरा परिवारमा तीन दाजुभाइ थिए । जेठा रामगोपाल, माहिलो नन्दकिशोर र कान्छा हदराज । रामगोपाल आफ्नो उद्योगधन्दामा व्यस्त हुन्थे, नन्दकिशोर पारिवारिक काममा । कान्छा हदराज चाँडै बिते । छोरा अविनाश बल्ल एक वर्षको हुँदै थिए, त्यहीबेला हदराजको देहान्त भयो । त्यसैले अविनाशले पिताको सानिध्य पाउन सकेनन् । तर, संयुक्त परिवारमा रमाउने माडवारी संस्कारका कारण अविनाशले पितृवात्सल्यको अभाव झेल्नु परेन । ‘ठूलोबुबाहरुको साथमा भएकाले त्यस्तो धेरै समस्या भएन’, अविनाश सम्झिन्छन्, ‘परिवारको साथ सहयोग र भरथेगले नै आजको अवस्थामा छु । हाम्रो परिवारको जग बलियो भएकै कारण मलाई पारिवारिक इँटाको तला थप्न सहज हुँदै आयो ।’ 

महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट व्यवस्थापन विषयमा स्नातक पढी सिध्याउनासाथ अविनाशले पारिवारिक व्यापार र उद्योगको उत्तराधिकार ग्रहण गरेका थिए । त्यसबेला भर्खर २३–२४ वर्षका थिए उनी ।  पढाइ सकेपछि पारिवारिक विरासतमा प्राप्त उद्योगबाहेक केही नयाँ गरौं भन्ने हुटहुटी र उत्साह थियो । त्यसैले उनले आफ्नै नेतृत्वमा ‘टेक्सटायल’ युनिट  सुरु गरे ।  यसबाहेक चालु अवस्थामा रहेका परिवारको धान–चामल उद्योग, सोलभेन्ट, दाल, मैदा, तेल, सलाई उद्योग र अन्य ट्रेडिङ फर्महरु छँदैथियो । २०५२ सालतिर सुरु गरेको टेक्सटायल अविनाशलाई फापेन । ‘धेरै उधारो कारोबार भयो, त्यति उँभो लाग्ने छाँट भएन’, उनले भने, ‘त्यसैले म फेरि पारिवारिक व्यवसायमै फर्किएँ ।’ 

तर, पाठ्यपुस्तक बाहेक विश्व अर्थतन्त्रका धेरैवटा किताब र जर्नलहरुसँग साइनो गाँसिसकेका उनले परम्परागत रुपमाभन्दा नयाँ तरिकाबाट काम अघि बढाए । ‘आफ्नो उद्योगहरुको बजार, लागत खर्च र सम्भावनाबारे रिसर्च गरेँ’, उनले भने ‘त्यसको फाइदा के भयो भने बजारको अवस्था र आफ्नो उद्योगको वास्तविकता अवगत भयो । नयाँ ढंगले काम अघि बढाएँ ।’ यी सबै उद्योगहरुसहित अहिले उनले निर्माण कम्पनी पनि चलाइरहेका छन् ।                         

यसरी जु-यो जोडी 

सन् १९९३ हिउँदको एक बिहान । 

मुम्बईस्थित किरण (पिंकी) को घरको फोनको घण्टी बज्यो । फोन उनका अभिभावकले उठाए । केहीबेरको कुराकानीपछि जे भयो, त्यो उनलाई आश्चर्यमा पार्ने खालको थियो । ‘तिमीलाई बिहेको प्रस्ताव आयो’, बुबाले फोनमा भएको कुराकानी पिंकीलाई सुनाए ‘नेपालको केटा हो रे, तिम्रो बारे सबै जानकारी मागे ।’ हुन पनि फोनमा सोध्नेले पिंकीको उमेरदेखि उचाइ, रुचि, पढाइलगायतका धेरै कुरा सोधेका थिए । चिनारुकै फोन आएका कारण उनका बुबाले पनि झर्को नमानी छोरीका बारे जानकारी दिए । यस्तो कुराकानी भएको अर्को बिहान अविनाशका अभिभावक किरणको हात माग्न उनको घर पुगेका थिए । 

अविनाशका माहिला बुबासहितको टोली एकजना नातेदारको विवाहमा सहभागी हुन त्यसबेला मुम्बई पुगेको थियो । विवाहमा किरण र उनका परिवारका सदस्य पनि सामेल थिए । त्यही बिहेमा अविनाशका माहिला बुबा नन्दकिशोरको नजर किरणमा परेछ । परिवारको सम्पूर्ण रेखदेख र अभिभावकीय जिम्मेवारी निर्वाह गर्दै आएका नन्दकिशोरले अरु धेरैको विवाहमा ‘लमी’ को काम गरिसकेका थिए । उनले किरणलाई देख्नासाथ छोरो अविनाशका लागि सुहाउँदो हुने ठहर गरे । पारिवारिक जरा खोज्न सिपालु उनलाई पिंकीका अभिभावकको सम्पर्कमा पुग्न समय लागेन । ‘मलाई केही थाहै थिएन, ठूलोबुबाले उनको उचाइदेखि पढाइ र रुचिसम्म सोध्न भ्याइसक्नुभएछ’, अविनाशले २५ वर्षअघिको कुरा सम्झे, ‘कुराकानी गरिसकेर उहाँले भोलि आउने जानकारी दिइसक्नुभएछ ।’ 

पूर्व जानकारीअनुसार अविनाशसहितको टोली किरणको घर पुग्यो । किरणका अनुसार उनलाई भनिएको थियो ‘टोलीमा आउनेमध्ये अग्लो केटो हो । मनपर्छ पर्दैन, भन्नु ।’ टोलीलाई चिया लिएर बैठकमा आइन् । उनी अलमलमा परिन् । ‘सबै जना अग्लैअग्लो थिए, को हो को हो चिन्नै सकिनँ’, उनले भनिन्, ‘उस्तै उमेरका तीन चारजना देखेपछि म अलमलिएकी थिएँ ।’ कुराकानीका क्रममा उनले अविनाशलाई र अविनाशले उनलाई चिने । पारिवारिक सहमतिमा उनीहरुको ‘छिट्टै’ इंगेजमेन्ट हुने तय भयो । ‘ इंगेजमेन्ट भएको एक वर्षपछि मात्रै हाम्रो बिहे भएको हो’, अविनाशले भने, ‘त्यो समयमा पनि हामीले एकअर्कालाई बुझ्ने मौका पायौं ।’ 

सन् १९९४ मा प्रणयसूत्रमा बाँधिएको यो जोडी अहिले एक छोरा र एक छोरीको अभिभावक भएको छ । छोराछोरी पढाइमा व्यस्त छन् । आमा, ठूलोबुबा सबैको देहान्त भइसकेका कारण परिवारको मुखिया बनेको जोडीले परिवारसँगै उद्योगधन्दा र व्यापारको रथ हाँकिरहेको छ ।  बितेको २५ वर्षमा यो जोडीले ठूलो मतभेदको सामना गर्नुनपरेको दुवैको दाबी छ । 

भनिन्छ अभावले मतभेद निम्त्याउँछ । के यो सम्पत्ति पुगिसरी भएर सम्भव भएको हो ? ‘होइन’, अविनाश र किरणको एउटै जवाफ छ ‘सम्पत्तिभन्दा ठूलो कुरा संस्कार हो । पारिवारिक मेलमिलापको संस्कारले यस्तो सम्भव हुन्छ ।’ अविनाश र किरण दुवैले देखेका छन्, प्रशस्त सम्पत्तिका मालिकहरुको पारिवारिक जीवन ध्वस्त भएको छ । तर, दिनरात मजदुरीमा रमाउनेहरुको घरसंसार सधैँ उज्यालो बनेको छ । ‘मैले पाएको संस्कार नै पारिवारिक समझदारी, आपसी सम्मान र दायित्व निर्वाहको संस्कार हो’, अविनाशको अनुभवले भन्छ ‘यदि त्यो कुरा पूरा गरियो भने परिवार राम्ररी चल्छ । पैसा र सम्पत्ति ठूलो कुरा हुँदैन ।’ 

उनका अनुसार पति र पत्नीले आपसी समझदारी नदेखाउने झै झगडा गरिरहने जस्ता व्यवहार देखाउँदा त्यसको असर सन्तानमा पर्छ । ‘अभिभावक हुनु भनेको सन्तानको भविष्य निर्माणको आधार बनाउनु पनि हो’, उनले थपे, ‘त्यसका लागि पति र पत्नीले असल संस्कार दिन सक्नुपर्छ । यो पुस्तागत रुपमा हस्तान्तरण हुँदै जान्छ ।’ 

किरणका अनुसार यति लामो सहयात्रामा ठूलो ठाकठुक नहुनुको मुख्य कारण पारदर्शी जीवनशैली पनि हो । ‘एकअर्काको काम पारदर्शी हुँदाको परिणाम पनि होला यो’, उनले भनिन्, ‘त्योभन्दा बढी हामी असल साथी भएर पनि होला ।’ 

यो लामो यात्रामा किरणसँग अविनाशबारे कुनै गुनासो नै छैन त ? ‘गुनासो त छ नि’, अविनाशतिर इंगित गर्दै उनले भनिन्, ‘व्यस्तता अलि घटाए हुने, परिवारलाई अझै समय दिए हुने भन्ने त लाग्छ । तर, त्यो बहानामा उहाँको उडान नियन्त्रण गर्न हुन्न भन्ने पनि थाहा छ ।’  उनी ‘डिपेन्डेन्ट’ नभएका कारण पनि ठूलो समस्या नआएको हो । ‘बाहिर केही काम प-यो भने म आफैँ कार ड्राइभ गरेर पुग्छु’, किरणले भनिन्, ‘स्कुटीमा एकैछिनमा विराटनगर चहार्न पनि भ्याउँछु, ‘उहाँले सबै काम गरिदिए हुने भन्ने अपेक्षा गर्दिनँ, त्यसैले धेरै समस्या आउनै दिँदैन ।’ 

एकअर्काको काम र रुचिमा सहयोग समन्वय गर्ने तथा दखल नदिने बानीले पनि दाम्पत्यलाई सहज बनाउने यो जोडीको अर्को ठहर छ । बिहान चार बजे ‘क्लब’ पुगेर दिनचर्या सुरु गर्ने अविनाशको काम राति कम्तीमा दुई तीन घण्टा पढिसकेपछि बल्ल सकिन्छ । ‘मेरो सम्पूर्ण कारोबार र जीवनको म्यानेजर उनी बनेकी छन्’, अविनाशले भने, ‘उनी गीत गाउन, नाच्न मन पराउँछिन् । त्यसका लागि वातावरण बनाउन हरदम लाग्छु ।  उनले नभ्याउँदा उद्योगमा उनले गर्ने काम पनि म आफँै भ्याइदिन्छु । अनि भान्छामा पनि कहिलेकाहीँ सँगै र कहिले एक्लाएक्लै एकअर्काको रुचिका परिकार बनाउँछौं । यसले हामीलाई रमाउने आधार दिएको छ । एकअर्काको सम्मान र दखल नदिने काम पनि दाम्पत्यमा महत्वपूर्ण हुँदोरहेछ ।’ अविनाशको कुरामा किरणले सहमति जनाइन् । 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad