coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तारुकामा २३ हल गोरु जुधाइने

काठमाडौं – आगामी माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा २३ हल गोरु जुधाइने भएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो।नुवाकोट, रसुवा र धादिङमा पनि व्यवस्थित रुपमा गोरु जुधाउने तयारी भएको सम्बन्धित मेला व्यवस्थापन समितिले जनाएका छन्। शनिबार रसुवा–नुवाकोट पर्यटन समाजद्वारा आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका सञ्चालक दिपक महतले गोरु जुधाइ विस्तार हुँदै गएको तथा यसको ऐतिहासिक पक्षबारे खोज आवश्यक रहेको बताए।  

कार्यक्रममा तारुको गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताए। रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य रामशरण थपलियाले आन्तरिक पर्यटन विकासमा मेलाको योगदान रहने बताए।

कार्यक्रममा तारुका गोरु जुधाइ संरक्षण संस्थाका सदस्य विष्णु तारुकोले गोरु जुधाइ परिमार्जित हुँदै आएको र यसलाई महोत्सवको रुपमा विकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराए। तारुका गोरु जुधाइ मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रधानले बताए।
गोठमा पालिएका बहर गोरुलाई बारीका पाटामा लगेर जुधाइको रिहर्सल सुरु गरी मेलाको तयारी भइरहेको मेला व्यवस्थापन समितिका सचिव केशव रिमालले बताए। तारुकाको चन्दनी पाटोमा मल्लकालमै गोरु जुधाउने परम्परा सुरु भएको बताइन्छ।

‘माघे संक्रान्ती गोरु जुधाइ संरक्षण संस्था’का अध्यक्ष शिवबहादुर अधिकारीका अनुसार तारुकामा जुधाउन यस वर्ष २३ हल गोरु दर्ता भएको छ। साना र मझौला गोरुलाई समितिले स्थान दिएको छैन। ठूला र लडाकु गोरुमात्र मेलामा जुधाइने समितिका सदस्य विशाल केसीले बताए। प्यारापिट र मञ्च निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको उक्त वडाका वडाध्यक्ष तथा मेला सञ्चालक संस्थाका संरक्षक सम्मरबहादुर आलेमगरले जानकारी दिए।

मेलामा तामाङ झाँकी, मगर झाँकी, पञ्चे बाजा, स्थानीय बालन, भजनको समेत प्रस्तुति रहनेछ। दर्शकलाई मनोरञ्जन दिन राष्ट्रिय कलाकारको प्रस्तुति पनि राखिएको छ। तारुकमा सीमित गोरु जुधाइ केही वर्षयता रसुवा–नुवाकोटको सिमाना बेत्रावती, नुवाकोटको पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङ, धादिङको धुवाकोट र मैदीमा पनि सुरु भएको छ। तारुकामा २३ हल बेत्रावतीमा आठ हल र पञ्चकन्यामा १८ हल तथा धादिङको धुवाँकोटमा १६ हल गोरु जुधाउने तयारी भएको सम्बद्ध आयोजक संस्थाले जानकारी दिएका छन्। 

प्रकाशित: २९ पुस २०७५ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App