७ वैशाख २०८१ शुक्रबार
अर्थ

१५औं योजनाले असमानता घटाउने योजना समेट्ने

काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आफूहरू अहिले १५ औं पञ्चवर्षीय योजना बनाउँदै गरेकाले त्यसमा आर्थिक असमानता न्यून गर्ने खालका योजना समेट्ने जानकारी दिएका छन्। समानता र असमानताका विषयलाई आर्थिकमात्र नभई सामाजिक र राजनीतिकरूपले पनि हेर्नुपर्नेमा उनले जोड दिए। ‘मुलुकले ठूलो राजनीतिक रूपान्तरण गरेको छ अबको चरण भनेको आर्थिक रूपान्तरण हो,’ उनले भने, ‘त्यसपछि बल्ल नेपाली समाज सामाजिक रूपान्तरणको अभियानमा लाग्नेछ।’

‘समृद्धिका लागि समानता’ विषय अध्ययनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक योगदानमा नागरिक समाजले गर्ने खर्च पनि मूल्यांकन गरिनुपर्ने बताए। त्यस्तै जलवायु परिवर्तन, ‘ब्रेन ड्रेन’ पलायन आदिले पनि असमानता बढाउँदै लगेकाले यस्ता लुकेका विषयमा पनि छलफल गर्नुपर्ने धारणा उनको थियो। अक्सफाम, हामी र सापेले गरेका अध्ययनले योजना निर्माणमा सघाउने भनाइ उनको थियो।

कार्यक्रममा बोल्दै प्रदेश २ का योजना आयोग उपाध्यक्ष सुवोधराज प्याकुरेलले मानव अधिकार विकासकै सवाल भएकाले मानव अधिकार प्राप्तिबेगर समानता कायम हुनै नसक्ने ठोकुवा गरे। अध्ययनमा समेटिएका जस्ता तथ्यांक राष्ट्रिय स्तरमा मात्र नभई प्रदेश र स्थानीय तहसम्म नै खोजीनीति गरिनुपर्ने पनि उनले सुझाएका थिए। त्यस्तै नागरिक समाजका गौरी प्रधानले समानता नभए कोही पनि सुरक्षित नहुने भएकाले अहिले विश्वका धनी राष्ट्रले पनि यसतर्फ चासो दिन थालेको उल्लेख गरे।

कार्यक्रममा हरि शर्मा, डा. डिल्लीराज खनाल, मीनबहादुर शाहीलगायतले मुलुकमा असमानता बढ्नुको कारण स्वीकार्दै त्यसलाई सबै मिलेर न्यूनीकरण गर्नुपर्ने धारणा राखेका थिए। अध्ययनले सबैभन्दा बढी नेपालीले एक वर्षमा कमाउने धन कमाउन एउटा सर्वसाधारणले एक लाख वर्षसम्म काम गर्नुपर्ने, १० प्रतिशत धनीसँग ४० प्रतिशत गरिबभन्दा २६ गुणा बढी सम्पत्ति भएको, सात प्रतिशत धनी परिवारको स्वामित्वमा झन्डै ३१ प्रतिशत कृषियोग्य जमिन रहेको, गरिब महिलाभन्दा धनी महिलाको विद्यालय जाने सम्भावना चार गुणा बढी रहेको र धनी पुरुषको यस्तो सम्भावना ५० गुणाभन्दा बढी रहने जस्ता दर्जनौं तथ्यांक उल्लेख गरेको छ। जसले नेपाली समाजमा असमानता वृद्धि गरिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न ढिलाइ भइसकेको बताइएको छ।

यो अध्ययन सरकारी तथ्यांकहरूको विश्लेषण भएकाले सरकारकै लागि पनि निकै उपयोगी भएको अध्ययनकर्तामध्येकी एक गीता पाण्डेले जानकारी दिएकी थिइन्। त्यस्तै अक्सफामका बालकृष्ण कट्टेलले आफ्नो संस्थाले विश्वव्यापीरूपमा असमानताका वास्तविक कारण तथा समाधानका उपाय बाहिर ल्याउने क्रममा नेपालको यो अध्ययनलाई पनि सघाउन पाएको भन्दै खुसी व्यक्त गरे।

 

प्रकाशित: २९ पुस २०७५ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App