७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

कर्जा मागअनुसार निक्षेप नबढेको मात्रै हो

पर्शुराम कुवँर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, जनता बैंक नेपाल लिमिटेड

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीसँग करिब ३२ वर्ष बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनले सन् १९८६ जुनमा अहिलेको स्ट्यान्डर्ड चार्टर्ड त्यसबेलाको ग्रिनलेज बैंकमा प्रवेश गरी बैंकिङ क्यारियर सुरु गरेका हुन।

सन् २००३ को जुलाईमा चार्टर्ड छाडेर नेपाल बैंकको वित्तीय सुधार कार्यक्रममा करिब साढे तीन वर्ष काम गरेका थिए। विश्व बैंकसँग भएको सम्झौता सकिएपछि सन् २००७ को जनवरीमा सिटिजन्स बैंकमा गएका थिए। उनले त्यहा करिब डेढ वर्ष जिएम भएर काम गरे। त्यसपछि बैंक अफ एसियामा चार वर्ष प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरे।

सन् २०१२ को मेमा चारवर्षे कार्यकाल सकिएपछि बैंकिङ क्षेत्रबाट बाहिर निस्केका उनी विश्व बैंक, डिएफआइडीलगातयमा परामर्शदाताको रुपमा काम गरेका थिए। सन् २०१४ जुनदेखि ग्रान्ड बैंकको सिइओको कार्यभार सम्हालेका खत्रीले यतिबेला उक्त बैंकको खराब कर्जा असुलीलाई तीव्रता दिएका थिए। गान्ड बैंक प्रभु बैंकमा मर्जरमा जानुअघि नै उनले उक्त बैंक छाडेका थिए। कुवँरले करिब १९ महिना अघिदेखि जनता बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्।

आधुनिक र विश्वासिलो बैंक बनाउने योजना अनुरुप अगाडि बढेका उनले जनता बैंकलाई नेपाली जनताको बैंक बनाउने उद्घोष गरेका छन्। बैंकिङ क्षेत्रमा देखिएका समस्या, चुनौती, लगानीयोग्य पुँजी (तरलता) अभाव र यसले पारेको समस्या, जनता बैंकको अवस्था, भावी योजनालगायत विषयमा केन्द्रित रहेर कुँवरसँग नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानी :

जनता बैंकको नेतृत्व सम्हालेको कति भयो ?
२०७४ सालको असार १ गते जनता बैंकमा आएको हुँ। पुस मसान्तमा जनता बैंकमा आएको १९ महिना पुग्छ।

लामो समय भएछ त जनता बैंकमा आएको ?
लामै समय भयो भन्नुपर्‍यो।

यति लामो समयमा बैंकलाई सुधार गर्न के के काम गर्नुभयो ?
अहिलेको जनता बैंक सातवटा बैंक तथा वित्तीय संस्था मिलेर बन्न पुगेको हो। दुई अर्ब चुक्ता पुँजी आठ अर्ब माथि पुगेको छ। ३५ शाखामा सीमित जनता बैंकका अहिले एक सयभन्दा बढी शाखा पुगेका छन्। शाखा सञ्जाल विस्तारमा एक वर्षमै फड्को मारेका छौं। यसबीचमा सातवटा वित्तीय संस्था अर्थात बहुसंस्कृति (मल्टी कल्चर)बाट आएको कर्मचारीलाई व्यवस्थापन गर्न सफल भएका छौं। मर्जरपछिका चुनौैतीलाई एक वर्षमै सम्बोधन गर्न पुगेका छौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रायः सबै बैंकको नाफा दुई प्रतिशतले बढेको छ। तर, जनता बैंकको नाफा यस अवधिमा साढे चार प्रतिशतले बढाउन सफल भयौं। गत आर्थिक वर्षमा समग्र बैंकको नाफा १७.१ प्रतिशत भएको थियो। जनता बैंकले भने २०.१२ प्रतिशतले गर्न पुगेको थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा साढे ६ करोड मात्र नाफा गरेकामा चालु आवको सोही अवधिमा बैंकको नाफा साढे २५ करोड भएको छ। छोटो समयमा बैंकको यो प्रगतिलाई राम्रै मान्नुपर्छ।

तपाईंले बैंकको नेतृत्व सम्हालेपछि बैंकको प्रगति आक्रामक रुपमा बढेको छ भन्न खोज्नु भएको हो ?
धुमधाम रुपमा प्रगति भयो त भन्न खोजेको होइन। तर, प्रगति भएको छ। यसलाई सन्तोषको रुपमा लिएको छु। मैले सिइओको जिम्मेवारी सम्हालेपछि आकासको तारा नै खसाले त भनेको होइन्। तारा खसाल्ने गरी काम भयो भन्ने पक्षमा म छैन। तर, बैंकको प्रगति नै भएको छैन भन्ने अवस्थामा छैन।
बैंकमा लगानीयोग्य (तरलता) अभाव भयो भनेर बैंकका सिइओहरु रोइकराइ गर्न थालेको पनि धेरै भयो। जनता बैंकको सिइओले त्यस्तो रुनुपर्ने अवस्था त आएको छैन ?
लगानीयोग्य पुँजी अभाव त बैंकले भोग्दै आएका छन्। यसको असर सबै बैंकलाई पर्ने नै भयो। कहिले लगानीयोग्य पुँजी अभाव हुँदैन त कहिले हुने गरेको छ। अहिले लगानी गर्न पुँजी नभएको अवस्था छ। बैंक सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा छैनन्। अहिले कर्जाको माग बढेको छ। कर्जाको मागअनुसार निक्षेप नबढेको मात्रै हो। कर्जाको मागअनुसार निक्षेप संकलन बढेको भए यो समस्या आउने थिएन। बैंकमा संकट नै आएको त होइन लगानी गर्ने रकम अभाव मात्र भएको हो।

बैंकले कहिलेसम्म लगानीयोग्य रकमको अभाव खेपिरहने त ?
कर्जाको माग भएन भने पनि समस्या हुन्छ। विगतका वर्षहरुमा कर्जाको माग नहुने र निक्षेप बढी हुने गरेको थियो। द्वन्द्वकालमा कर्जाको मागै थिएन। निक्षेप संकलन बढी हुन्थ्यो। बैंकमा रकम राख्दा व्याज कम पायौं भन्ने गुनासो आउने गथ्र्यो। अहिले कर्जा माग बढेको छ। तर, निक्षेप बढेको छैन।
राजनीतिक अस्थिरता भएका बेला व्यापार व्यवसाय खुम्चिएको थियो। लगानी गर्न नाक खुम्च्याउनु पर्ने अवस्था थियो। तर, अहिले राजनीतिक स्थिरता आएको छ। व्यापार व्यवसाय गरिरहेकाले थप लगानी लगाउँदै छन् भने नयाँ व्यवसाय गर्नेहरुले पनि लगानी गर्न बैंकमा ऋण लिन आउने गरेका छन्। यसले बैंकमा लगानीयोग्य रकम अभाव हुन गएको हो।

बैंकसामु नयाँ चुनौतीका रुपमा लगानीयोग्य पुँजी अभाव थपियो भन्न खोज्नु भएको हो ?
हो, कर्जा माग बढेको छ। कर्जा माग अनुसारको स्रोत जुटाउन बैंकलाई समस्या परेको छ। अहिलेको यो चुनौती सबै बैंकले भोग्नु परेको छ। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सबै लगानीयोग्य पुँजी अभाव समस्या समाधान गर्न लागिपरेका छन्।

अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा लगानीयोग्य रकमले पारेको असर, पुँजी बजारमा देखिएको समस्यालगायत विषयमा सुझाव दिन राष्ट्र« बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले दिएको प्रतिवेदन कार्यान्वयन भए अहिलेको तरलता अभावको समस्या समाधान हुन्छ भन्छन्। यसमा तपाईं के भन्नुहुन्छ ?
समितिले दिएको प्रतिवेदन राम्रो छ। नेपाली अर्थ व्यवस्थाका संरचनागत समस्या छन्। राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग एकै रात वा दिनमा समस्या समाधान गर्ने जादुको छडी छैन। मुलुकको आयस्रोत भनेको रेमिट्यान्स हो। रेमिट्यान्सले क्रय शक्ति बढाएको छ। माग बढाएको छ। त्यस्तो माग नेपालमै उत्पादन गरेर पूरा गर्न सकेका छैनौं। विदेशबाट आयात गरेर माग पूरा गरिरहेका छौं। भुक्तानी सन्तुलन नकारात्मक छ। यो भन्दा ठूलो पीडा मुलुकका लागि अरु केही हुन सक्दैन।

लगानीयोग्य रकम अभाव हुनबाट बचाउन सरकारको ढुकुटीमा रहेको रकम खर्च गरेको भए पनि हुन्थ्यो नि। त्यो पनि सरकारले गर्न सकेको छैन। अहिलेको सरकार लगानीयोग्य रकम अभावको समस्या समाधान गर्न खोजिरहेको देखिँदैन नि ?
सरकारले जति खर्च गर्नुपर्ने थियो, त्यति गर्न सकेको छैन। सरकारले खर्च गरेको भए बैंकिङ प्रणालीमा रकम आउने थियो र तरलता समस्या केही हदसम्म कम हुने थियो। त्यो त छदै छ। सरकार उत्पादन बढाउनतर्फ लाग्नुपर्छ। आयातित वस्तुलाई कम प्राथमिकता दिएर स्वदेशी उत्पादनलाई बढाउनु पर्छ। गाडीमा जाने ऋणमा कटौती गरेको छ। यसले मात्र हुँदैन। अनुत्पादक क्षेत्रमा जाने कर्जा कटौती गरेर भए पनि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्छ। अहिले लोडसेडिङको समस्या समाधान भएको छ। नेपाल भित्रिने पर्यटक बढेका छन्। अर्को वर्षसम्म लुम्बिनीमा निर्माणाधीन अन्तर्राष्टिय विमानस्थल बन्ने भएको छ। यसैगरी, पोखरामा बनिरहेको विमानस्थल पनि चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सन् २०२० मा २० लाख पर्यटक भिœयाउने भनिएको छ। त्यसका लागि पूर्वाधार निर्माणको काम अगाडि बढाउनु पर्छ र बढिरहेका पनि छन्। काठमाडौंमै तीन–चारवटा तारे होटल थपिँदै छन्। नेपाल आउने एयरलाइन्स थपिएका छन्। नेपालले पनि एयलाइन्स थपेको छ। पर्यटन भिœयाउन अनेक समस्या छन्। तर, पनि मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएका छन्। हाम्रो अर्थतन्त्रले प्रगति गर्दै छ। अब तीन–चार वर्ष मात्रै हामीले दुःख पाउने हो। त्यसपछि सहज हुँदै जाने स्थिति बन्नेछ। स्थानीय तहमा पनि २० वर्षसम्म चुनाव भएको थिएन। निर्वाचनसँगै अनुभवी नेता आएका छन्। प्रदेशमा पनि अनुभवी कर्मचारी जादै छन्। अर्को वर्षसम्म मुलुकले फ्डको मार्नेमा म धेरै आशावादी छु। दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचमा नेपाल छ। तातो पानी भएका दुई गिलासको बीचमा चिसो गिलास राखिदियो भने त्यो पनि तातेजस्तै भारत र चीनबीचमा रहेको हाम्रो देश पनि आर्थिक रुपले तात्ने छ र मुलुक समृद्धिको मार्गमा अगाडि बढने छ।

तरलता अभाव हुन नदिन बैंकहरुले विदेशबाट ऋण ल्याएर यहाँ लगानी गर्न सक्ने सम्भावना तपाईंले कतिको देख्नु भएको छ ?
राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्नका लागि बाटो खोलिदिएको छ। यसलाई सकारात्मक नै मान्नुपर्छ। नेपालले विदेशबाट ऋण लिने र नतिर्ने गरेको छैन। अन्य मुलुकले विदेशबाट ल्याएको ऋण नतिर्ने र डिफल्ट गर्ने गरेका छन्। तर, नेपालले विदेशी ऋण खाएर डिफल्ट गरेको छैन। हाम्रो देशले विदेशी मुद्राको सञ्चिती राम्रो छ भनेर सकारात्मक सन्देश दिनुपर्छ। राजनीतिक रुपमा पनि हामी प्रजातान्त्रिक मुलुक भएको देशमा चिनिन्छौं। त्यसैले हामीलाई ऋण लिएर लगानी गर्न सहज भएको छ। तर, आर्थिक रुपमा हामी सक्षम हुन सकेका छैनौं। क्षेत्रफलका हिसाबले हामीभन्दा सानो मुलुक बंगालादेशले आर्थिक उन्नती गरेको छ। अर्थतन्त्रमा हामीभन्दा १० गुणा बढी बलियो छ। जनसंख्या पनि हामीभन्दा १० गुणा नै बढी भए पनि आर्थिक प्रगतिको पथमा अगाडि छ। हामी भने स्रोत कसरी जुटाउने भन्नेमै छौं। कर्जाको मागका लागि स्रोत कसरी जुटाउने भन्नेमै केन्द्रित भएका छौं। लगानीको स्रोत कसरी जुटाउने भन्नेमा राष्ट्र बैंक र सरकार लागिपरेको छ। आयातलाई प्रतिस्थापन गर्नुपर्ने चुनौती हामीमा छ।

विदेशबाट ऋण ल्याउँदा पनि महंगो व्याज तिर्नुपर्ने हुन्छ भनिन्छ। यसमा तपाईंको भनाइ के छ ?
विदेशी विनिमयका कारण यस्तो भएको हो। राष्ट्र बैंकले हेजिङ फन्ड ल्याउने अन्तिम तयारी गरेको छ। हेजिङ फन्डको व्यवस्था भयो भने एक्सचेन्ज रिस्क कम हुन्छ। विदेशबाट रकम ल्याउन सजिलो त छैन। विदेशीले नेपालको रेटिङ गर्छन् र त्यही अनुसारको कर्जा दिने गर्छन्।

राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएको छ। जनता बैंकले सबै स्थानीय तहमा शाखा खोलिसकेको छ कि बाँकी छ ?
हाम्रो भागमा १८ शाखा खोल्नुपर्ने परेको थियो। ती सबै शाखा खोलिसकेका छौं। सुरुमा शाखा खोल्नलाई बोझको रुपमा लिइएको थियो। हेलिकप्टरबाट सामान लैजानु परेको थियो। शाखा खोल्न निकै कठिन भएको थियो। तर, अहिले ती ठाउँमा शाखा खोलेको राम्रै भएछ भन्ने भएको छ। आगामी पाँच वर्षको परिस्थितिलाई हेरेर शाखा स्थापना गरिएको हो। त्यतिबेलासम्म बजार विस्तार भइसक्ने छ। शाखा विस्तार धेरै उपयोगी हुने छ। अहिलेका लागि अप्ठ्यारो भए पनि दीर्घकालका लागि वरदान सावित हुनेछ।

जनता बैंकका भावी योजनाहरु के के छन् ?
नयाँ प्रविधिको प्रयोग अर्थात डिजिटलाइजेसनलाई बढी फोकस गरेका छौं। सप्टवयर, हार्डवयर र इन्टरनेटका माध्यमबाट ग्राहकलाई सुविधा दिनु हाम्रो पहिलो प्रथमिकता हो। दोस्रोमा हामीले सानोतिनो कर्जा, धेरै लगानी र धेरै सर्वसाधारणबाट निक्षेप संकलन गर्ने कुरालाई प्राथमिकता दिएका छौं। हाम्रो अहिले पनि ४० प्रतिशतभन्दा बढी संस्थागत निक्षेप संकलन छैन। जबकी राष्ट्र बैंकले ४५ प्रतिशतसम्म संस्थागत निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ। तेस्रो प्राथमिकता हामीले विदेशबाट रेमिट्यान्स भिœयाउनेलाई दिएका छौं। विदेशबाट रेमिट्यान्स भिœयाउने अन्तिम तयारी गरेका छौं। कुवेत र युकेसँग हामीले ‘टाइ अफ’ गरिसकेका छौं। अहिले हामीले स्वदेशमा मात्रै गरेका छौं।

जनता बैंक पाँचवर्षे योजना बनाएर अगाडि बढेको छ भनिन्छ। उक्त अवधिमा बैंकलाई कस्तो अवस्थामा पुर्‍याउने योजना राख्नुभएको छ ?
करिब दुई वर्षअगाडि नै पाँचवर्षे योजना जनता बैंकले बनाएको थियो। त्यसबीचमा मर्जरका कुराहरु भए। मर्जरका कारण कतिपय योजनामा पुनर्विचार गर्ने अवस्था आएको छ। योजना रिभ्यु गर्दै छौं। योजनामा ठूल्ठुला सपनाका कुरा गरेका छैनौं। जनता बैंकलाई नेपाली जनताको बैंक बनाउने योजना बनाएका छौं। थप ११४–११५ शाखा खोल्दै छौं। स्थापनाको छोटो समयमा नै ठूलो उपलब्धि हासिल गरेका छौं। बैंक स्थापनाको आठौं वर्ष पूरा भएर नवौं वर्ष लागेको छ। अहिले पनि शाखाका हिसाबले सातौं ठूलो जनता बैंक बनेको छ। उपस्थितिका आधारमा साच्चिकै जनताको बैंक भइसकेको छ। आन्तरिक रेमिट्यान्स पठाउने र ल्याउन नेपालकै नम्बर एकमा छौं।

प्रकाशित: २९ पुस २०७५ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App