भक्तपुर- देशका अन्य भूभागमा सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकले अनेक झन्झट बेहोरीरहँदा भक्तपुर नगरपालिकाका जेष्ठ नागरिकले भने आफूलाई पायक पर्ने ठाउँमै सजिलै भत्ता पाएका छन्। भक्तपुरस्थित बैकका कर्मचारीले वृद्धवृद्धालाई पायक पर्ने वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि जेष्ठ नागरिकको अनुहार खुसीले उज्यालियो।
'दसैंको मुखमा आएको भक्ताले चाड रमाइलो हुने भयो,' भक्तपुर–१० व्याँसीका ८१ वर्षीय बिष्णुभक्त सुवालले भने, 'भक्ताको रकमले मासु–चिउरा र लत्ताकपडा किन्छु।' ८ हजार रुपैयाँ भक्ता बुझेका सुवालले नातिनातिनालाई पनि नयाँ लुगा हाल्दिने बताए।
व्याँसीस्थित १० नम्बर वडा कार्यालयमा आइतबार भत्ता बुझेका सुवालजस्तै धेरै वृद्धवृद्धाको मुहार हँसिलो थियो। हाकुपटासीमा सजिएर शिरमा फूल सिउरेर आएका वृद्धवृद्धा हातमा परेको रकम गनेर मुस्कुराएका थिए । 'यो त हाम्रो आफ्नै रकम हो,' ७५ वर्षीया कान्छी प्रजापतिले भनिन्, 'मन लागेको कुरा किनेर खाइन्छ।' दूध, बिस्कुट किन्ने सोच बनाएकी प्रजापतिले औषधि उपचारमा पनि भत्ता रकमले सजिलो हुने बताइन्। 'चाड पनि रमाइलो हुने भो,' उनले हाँस्दै भनिन्।
यसै वर्ष दोब्बर भएको सामाजिक भत्ताले वृद्धवृद्धाको खुसी पनि दोब्बर नै पारेको छ। हातमा रकम परेसँगै उनीहरूले दसैं खर्चको योजना समेत सुनाए। 'मासु, चिउरा, तेल, कपडा, सबै यसैले किन्ने हो,' नारायणभक्तले सुनाए, 'दसैंमा चढाउने हाँस पनि यही पैसाले किन्छु।'
वृद्धहरूले भत्ता पाएर गाउँ नै उज्यालो भएको भक्तपुर नगरपालिकाका पर्यटक सूचना अधिकृत दामोदर सुवालले बताए। 'मूल जरोमा हालेको पानीले रुख रसिलो बनाउँछ भनेजस्तै वृद्धवृद्धाको हातमा परेको भक्ताले उनीहरूको परिवारमै खुसी छाएको छ,' उनले भने, 'कम्तीमा यो सामाजिक सुरक्षा भत्ताकै कारण जेष्ठ नागरिकले आफूलाई राज्यले हेरेकेा ठानेका छन्।'
नगरपालिकाले स्थानीयको सजिलोका लागि बंैकसँग सम्पर्क गरेर सम्बन्धित वडा कार्यालयमै भक्ता वितरणको बन्दोबस्त मिलाएको थियो। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सूर्यविनायकले शनिबार वडा नम्बर ७, ८, ११, १२ र १४ का कार्यालयमै भत्ता वितरण गरेको थियो भने नेपाल बैक शाखा कार्यालयले आइतबार वडा नम्बर १, २ र १० का कार्यालयमा भत्ता वितरण गर्यो।
वडा नम्बर ३, ६, र १३ का कार्यालयमा सोमबार र वडा नम्बर ५ , ९ र १५ मा मंगलबार भत्ता वितरण गरिनेछ। त्यस्तै वडा नम्बर ४ र १६ मा बुधबार र वडा नम्बर १७ मा बिहीबार भत्ता वितरण गर्ने कार्यक्रम छ। अशक्तलाई घरमै भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ। भत्ता लिन छुटेकालाई फेरि वितरण गरिने पनि नगरपालिकाले जानकारी दिएको छ।
'जेष्ठ नागरिकको सुविधाका लागि हामीले यो पहल गरेका हौं,' भक्तपुर नगरपालिका समाज कल्याण अधिकृत भूपाल मूलले भने, 'भत्ता वितरणसँगै जेष्ठ नागरिकको अनुहारमा खुसीको चमक छ।' नगरपालिकाभर ५ हजार ७ सय ७५ जनाले सामाजिक सुरक्षा भत्ता पाउने उनले जनाए।
प्रकाशित: १७ आश्विन २०७३ ०२:३६ सोमबार