४ वैशाख २०८१ मंगलबार
कला

‘साइनो स्टार’मा १ सय १८ प्रतियोगी

खोटाङ– खोटाङमा जारी ‘हलेसी साइनो स्टार–२०७५’ का लागि १ सय १८ जना प्रतियोगी छानिएका छन्। जिल्लाका दश वटै स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन गरिएको यो गायन प्रतियोगिताको पालिकास्तरीय प्रथम अडिसनबाट १ सय १८ प्रतियोगी छानिएको आयोजक साइनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए। गत पुस ९ गतेदेखि साकेला गाउँपालिकाबाट सुरु गरिएको प्रतियोगिताको पालिका स्तरिय प्रथम अडिसन शनिबार दिक्तेलमा आएर टुंगिएको छ। 

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान र सम्बद्र्धन गर्दै गीत संगीतको व्यावसायिक विकासका लागि साइनो कला केन्द्र र हलेसी टाइम्स दैनिकको सहकार्यमा सुरु गरिएको प्रतियोगिताका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबाट २४, बुईपाबाट १३, साकेला गाउँपालिकाबाट १०, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट ८, खोटेहाङ गाउँपालिकाबाट ९, बराहपोखरी गाउँपालिकाबाट १२, जन्तेढुंगा गाउँपालिकाबाट ७, हलेसी तुवाचुङ नगरपालिकाबाट ११, रावाबेंसी गाउँपालिकाबाट ५, ऐसेलुखर्क गाउँपालिकाबाट १३ र केपीलासगढी गाउँपालिकाबाट ६ प्रतियोगी छानिएका केन्द्रका अध्यक्ष श्रेष्ठले बताए। 

जिल्लाका ११ स्थानमा सञ्चालन गरिएको अडिसनबाट छानिएका प्रतियोगीलाई जिल्ला अडिसनमा प्रतिष्पर्धा गराउँदै ‘हलेसी साइनो स्टार’को टुंगो लगाइने छ। जिल्लास्तरीय दोश्रो अडिसन आगामी माघ ९ गतेदेखि सुरु हुने जनाइएको छ। प्रथम अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ७ चरणमा सञ्चालन हुने जिल्लास्तरीय अडिसनमा प्रतिष्पर्धा गराएर उत्कृष्ट दशमा पुगेका प्रतियोगीबाटै फाइनल अडिसन सञ्चालन गरेर विजेता छनौट गरिने आयोजकले जनाएका छन्।

पालिका र जिल्लास्तर गरी ८ अडिसनमा सम्पन्न हुने गायन प्रतियोगिताको प्रथम हुने प्रतिभाले ५५ हजार ५ सय ५५ रुपैयाँका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसर पाउनेछन्। यस्तै दोस्रो हुने प्रतिभाले ३० हजार रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने र तेस्रो हुने प्रतिभाले १५ हजार ५ सय ५५ रुपैयाँका साथमा एक वर्ष संगीत कक्षा अध्ययन गर्ने अवसर पाउनेछन्।

प्रकाशित: २९ पुस २०७५ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App