६ वैशाख २०८१ बिहीबार
कला

करियर ध्वस्त हुने डरले बोल्दैनन् : रेखा थापा

काठमाडौं - संसारभर महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्ध सुरु भएको ‘मिटु’ अभियानले चर्चा पाए पनि यो अभियान नेपालमा भने लोकप्रिय हुन सकेको छैन। हलिउड र बलिउड अभिनेत्री र कलाकारहरु सक्रिय रुपमा यो अभियानमा लागे पनि नेपाली अभिनेत्रीहरुले भने बोल्ने आँट नगरेको ठहर छ, अभिनेत्री रेखा थापाको।

शनिबार राजधानीको मार्टिन चौतारीमा आयोजित ‘आह्वान संवाद’ मा बोल्दै थापाले महिलाहरु एकजुट हुन नसक्दा र अझ पनि दुव्र्यवहारसम्बन्धी घटनामा महिलालाई दोषी मान्ने प्रवृत्ति हावी हुँदा नेपाली फिल्म क्षेत्रमा ‘मिटु’ अभियान प्रवेश हुन नसकेको प्रतिक्रिया दिइन्। ‘पुरुषहरुको नैतिकता नै नराम्रो भए पनि उनीहरु कहिल्यै दोषी मानिदैनन्। बरु कुनै व्यक्तिसँग नाम जोडिएका महिला नै दोषी हुन्छन्,’ उनले भनिन्। सात वर्षअघि पति निर्माता छवि ओझासँग सम्बन्धविच्छेद हुँदा धेरैले आफूलाई नै दोषी ठानेको उनले बताइन्। ‘मेरो सम्बन्धविच्छेदको विषयमा मलाई नै दोषी ठानेर आरोप लगाइयो। जबकी छवि ओझाका त्यसअघिको दुई वटा विवाह असफल भएका थिए।’

नेपाली फिल्म क्षेत्रमा काम गर्ने महिला कलाकार र प्राविधिकहरु यौन दुव्र्यवहारमा परेको कुरालाई भने उनले नर्कान सकिनन्। ‘यो विषयमा कसैले बोलिहाले पनि उनले तिरस्कारबाहेक केही पाउँदैनन् र करियर ध्वस्त हुन्छ। बोल्ने आँट गरे हामी साथ दिएर दुरव्र्यवहार गर्नेलाई सजाय दिन्छौं भनेर हौसला दिनेहरु नहुँदा कसैले पनि बोल्न आँट गर्दैनन् र ‘म त यौन दुव्र्यवहारमै परेकै छैन’ भन्छन्। काम पाउने लोभमा शोषित भएर बस्ने प्रवृतिविरुद्ध नैतिकतामा बाँचे केहीले आँट गरेर बोले।’

सन् २००६ मा अमेरिकी अभियन्ता टुराना बर्कले सुरु गरेको यौन दुव्र्यवहारविरुद्धको ‘मिटु’ अभियान सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले दुव्र्यवहारमा परेकाहरुलाई प्रोत्साहित गर्दै ‘मिटु’ लेखेर आ–आफ्नो अनुभव साटासाट गर्न लेखिएका ट्वीटमार्फत संसारभर ‘ह्यासट्याग मिटु’ अभियानले चर्चा पाएको थियो।

हलिउडकी लेडी गागादेखि बलिउडकी तनुश्री दत्तलगायत हुँदै
नेपालमा केही समयअघि प्रवेश गरेको यो अभियानबारे नेपाली मनोरञ्जन क्षेत्रमा काम गर्ने केही कलाकारहरुले बोलेका थिए। उनीहरुले मिटु अनुभव सुनाएपछि मनोरञ्जन क्षेत्रबाट विस्थापित हुनेपर्ने अवस्था सिर्जना भएको थियो।
कार्यक्रममा साहित्यकार अर्चना थापाले ‘पदमा पुगेपछि मिटुबारे बोल्न सकिने हो ?’ भन्ने प्रश्नमा उनले यसको लागि आँट गर्नुपर्ने बताएकी थिइन्। ‘नेपाली फिल्म क्षेत्रमा पुरुषहरुलाई प्राथमितामा राख्ने प्रवृत्ति हावी छ। यसरी महिला हेप्ने प्रवृत्ति देखाउने प्रोडक्सन म्यानेजरदेखि धेरैलाई पिटेको छु। यसपछि उनीहरुको व्यवहार सुध्रिएको थियो,’ अभिनेत्री थापाले भनिन्।

फिल्म क्षेत्रमा हुने महिला र पुरुष कलाकारहरुका बीचको उमेर हदबन्दीमाथिको विभेद आफ्नो हकमा भएको दाबी गरिन्। आह्वान समूहले आयोजना गरेको कार्यक्रममा आफूले सामाजिक विषयलाई केन्द्रित गरेर बनाएको फिल्महरु व्यपारिक रुपमा सफल नभए पनि आत्मसन्तुष्टी दिएको प्रतिक्रिया दिइन्। त्यस्तै नेपालमा बनेका नारीप्रधान फिल्महरुले तुलनात्मक रुपमा महिलाहरुलाई प्रोत्साहित गरेको उनको अनुभव थियो। ‘सुुरुवाती दिनमा महिला पात्रलाई केन्द्रित गराएर केही फिल्महरु निर्माण भएका थिए। तर, त्यसमा महिलालाई पीडितको रुपमा देखाइएको थियो। महिलालाई रुवाएर नारीप्रधान फिल्म बन्दैनन्। मैले निर्माण गरेका फिल्महरुमा महिला पात्रहरुले प्रतिकार गरेर समाज सुधार्न जोड दिएका हुन्छन्।’

प्रकाशित: २९ पुस २०७५ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App