coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नौ वर्षपछि जंगी अड्डामा प्रधानमन्त्री दाहाल

काठमाडौं- नौ वर्षअघि प्रधानसेनापति हटाउने निर्णयका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर सिंहदरबारबाट बाहिरिएका पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्रीकै हैसियतमा आइतबार जंगी अड्डा पुगे। सेनालाई साधनस्रोत सम्पन्न बनाउने आश्वासन दिँदै उनले केही मिनेट सेनाका कार्यको प्रशंसामा खर्चेका थिए। दाहालले निर्देशनमा सेना राज्यको अन्तिम शक्ति रहेको बताउँदै तयार रहन भने। संविधान कार्यान्वयनका विविध पक्षका लागि सेनाको आवश्यकता रहेको प्रधानमन्त्री दाहालले बोध गरेको र सहयोग, सद्भाव, सहकार्यको मर्म भ्रमणमा देखिएको सेना समायोजन विशेष समितिका पूर्वसंयोजक सेनाका रथी बालानन्द शर्माले बताए।

'उहाँको पहिलो भ्रमणमा लामो विद्रोहको प्रभाव र सत्ता–शक्तिको प्रयोगको अल्पज्ञान थियो, पछिल्लो नौ वर्षको राजनीतिक यात्राले धेरै सिकाएको हुनुपर्छ,' शर्माले भने। उनका अनुसार पहिलोपटक प्रधानमन्त्रीका हैसियतमा दाहालको जंगी अड्डा भ्रमणका आफ्नै एजेन्डा थिए। जसको प्रभाव उनको सम्बोधनदेखि सेनासँगको क्रियाकलापमा समेत देखिएको थियो। यसपटक त्यस्तो कुनै अवस्था छैन।

दाहाल उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री बालकृष्ण खाँड, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, वन तथा भू–संरक्षणमन्त्री  शंकर भण्डारीसहित जंगी अड्डा पुगेका थिए।

सामान्यतः प्रधानमन्त्री र विभागीय मन्त्रालय रक्षामन्त्रीसहित मुख्यसचिव र रक्षासचिव भ्रमणमा जाने गरेका छन्।

सेनासँग प्रत्यक्ष जोडिएका र सहकार्यको सम्भावना रहेका क्याबिनेट सदस्यलाई भ्रमणको सदस्यका रूपमा लगेकाले अघिल्लोपटक सेनाकै कारण सत्ताबाट बाहिरिएका दाहालले यसपटक सेनासँग सम्बन्ध सौहार्द बनाई सहयोग लिन खोजेको र साझेदारीसँग पनि सहकार्य लिन खोजेको बुझिन्छ। 

'औपचारिक ब्रिफिङ हो, भ्रमणमा आउने सदस्यका विषयमा प्रधानमन्त्रीज्यूको व्यक्तिगत निर्णय हो। हामीबाट आफ्ना विषयमा बिफ्रिङ भयो। उहाँबाट केही विषयमा निर्देशन भएको छ,' सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले भने।

प्रधानमन्त्री भएको साढे आठ महिनापछि वैशाख २१, ०६६ मा पदबाट राजीनामा दिएका दाहालले अघिल्लो दिन बिहान तत्कालीन प्रधान सेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाउने निर्णय गरेका थिए। आफ्नो निर्णयलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले उल्ट्याएपछि उनले राजीनामा दिएका थिए।

'लडाकु र केन्द्रीय नेताबीचको सोच, पार्टीभित्रको दबाब र सत्ता सञ्चालनमा देखिएको अनुभवको कमीले उहाँले त्यतिबेला सेनापति हटाउनेजस्तो गम्भीर निर्णय लिनुभयो,' लडाकु समायोजनमा प्रत्यक्ष संलग्न रहेका शर्माले भने। उनले सेना सत्तापक्ष र प्रतिपक्ष दुवैको समान रहने नीतिलाई नबुझ्दा दाहालले सत्ता छाड्नुपरेको तर्क गरे।

प्रकाशित: १७ आश्विन २०७३ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App