यौन हिंसामा पुरुषको भूमिका

आइतबार, २९ पुष २०७५, ०९ : ५५ डा. कोषप्रसाद न्यौपाने

नेपालमा महिलामाथि हुने यौन हिंसा धेरै बाहिर आइरहनुले यस्ता घटनाहरू विगतमा भन्दा अहिले धेरै बढिरहेको अनुमान गर्न सकिन्छ। अमेरिकादेखि भारत हुँदै नेपालमा पनि भित्रिएको ‘मिटु’ अभियानको प्रभावले केही शक्तिशाली भनिने व्यक्तिको इतिहासलाई पनि उजागर गरिदिएको छ । यौन दुव्र्यवहार समाज, समय, व्यक्ति, उमेर र ठाउँअनुसार फरक फरक तरिकाले भएको देखिन्छ। जस्तैः कुनै युवती बाटोमा हिँड्दा आवारा केटाहरूले सुस्केरा हालेर जिस्क्याउने, सार्वजनिक बसहरूमा हिँड्दा युवतीहरूलाई अनावश्यक तरिकाले धकेल्ने, महिला तथा युवतीलाई नै असहज हुने गरी एकोहोरो हेरिरहने, महिलाहरूका अगाडि अपशब्दहरू बोल्ने इत्यादि दिनहुँजसो हुने दुव्र्यवहार हुन्। समाजमा भइरहने यस्ता दुव्र्यवहारबाट पुरुषहरू महिलाहरूबाट भन्दा महिलाहरू पुरुषहरूबाट बढी पीडित देखिन्छन्। आखिर महिलाहरू किन पुरुषहरूबाट यति धेरै दुव्र्यवहारमा पर्छन् र यसको रोकथाम कसरी गर्ने भन्ने अबको टड्कारो आवश्यकता देखिन्छ।

यौन सम्बन्ध जनावरदेखि मानिससम्म हुने प्राकृतिक सम्बन्ध हो। तर  मानव समाजमा यस्तो सम्बन्ध पारस्परिक सहमति, कानुन र सामाजिक परिवेशले स्वीकार्ने हुनुपर्छ। कुनै पनि पुरुषले महिलासँग नजिक हुन खोज्नु, प्रेम प्रस्ताव राख्नु वा डेटिङ जाने प्रस्ताव राख्नु अस्वाभाविक होइन । तर पुरुषको त्यो प्रस्तावमा महिलाको असहमति हुन्छ र पनि पुरुषले जबर्जस्ती गर्न खोज्छ भने यो  यौन दुव्र्यवहारहरूमा पर्छ । 

२१ औँ शताब्दीमा हाम्रा छोरी, दिदी, बहिनीहरू जन्मे–हुर्केको समाजमा निर्धक्क हिँडडुल गर्न नसक्नु, जोगिनु नै युद्ध जितेसरह हुनुले आज हामीले कस्तो समाज बनाइरहेका छौँ, सोच्ने बेला भएन र ? 

बलात्कार यौन हिंसाको सबैभन्दा ठूलो अपराध हो। समाजमा भएका केही दुव्र्यवहारहरू बलात्कार र बलात्कारपछि हत्यामा पनि परिणत भएका छन् । बलात्कार यौन चाहनाले मात्रै हुने नभई पुरुषले महिलालाई हेर्ने हेपाहा प्रवृत्ति र पुरुष शक्ति (पावर) दृष्टिकोणको उपज हो र यस्तो दृष्टिकोण पुरुषप्रधान समाजमा विशेष गरी अविकसित देशहरूमा प्रबल देखिन्छ । केही महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा नेपाल प्रहरीले पत्ता लगाउन नसकेपछि नेपाल सरकारका गृहमन्त्रीले बलात्कारका घटनाहरू बढ्दै जानुमा पुँजीवादलाई दोष दिए, कसैले सबको हातमा इन्टरनेटको सुविधाले पोर्न साइटको प्रभावलाई दोष दिए, कसैले धर्म र पापको ज्ञानमा ह्रास आएकामा दोष दिए, तर यी सबै उत्प्रेरक भए पनि मुख्य कारण भने समाजमा जरा गाडेर बसेको पुरुषत्व नै हो जसको कारण समाजमा महिला पुरुष दुवै बराबर हुन् भनेर स्वीकार गर्न नसक्नु र महिलालाई कसरी सम्मानजनक व्यवहार गर्ने भन्ने अज्ञानताले सृजित परिणाम हो।

२०१८ को नोबेल शान्ति पुरस्कार इराककी २५ वर्षीय नादिया मुरादले यौन हिंसाविरुद्धका अभियानमा उल्लेखनीय योगदान गरेबापत प्राप्त गरिन्। नादिया २१ वर्षको हुँदा इस्लामिक स्टेटका आतङ्ककारीबाट अपहरित भई यौन हिंसाबाट पीडित युवती हुन्। त्यस्तै २०१४ को नोबेल शान्ति पुरस्कार भारतका कैलाश सत्यार्थीले ‘बचपन बचायो आन्दोलन’को अभियन्ताका रूपमा दिएको योगदान गरेबापत पाएका थिए।  एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार यौन हिंसाबाट पीडित शक्ति समूहका चरिमाया तामाङ  र सुनिता दनुवारले संयुक्त रूपमा प्राप्त गरे।  चरीमाया तामाङ १६ वर्ष र सुनिता दनुवार १४ वर्षको उमेरमा भारतमा यौनकर्मीका रूपमा बेचिएका थिए।  दुवैको सफल उद्धारपछि नेपाल फर्किएर शक्ति समूह गठन गरी महिला बेचबिखनविरुद्धको अभियानमा सक्रिय रहँदै आइरहेका छन्। महिला तथा बालबालिकाहरूको बेचबिखनको विरुद्धमा र बेचिएर उद्धार गरिएका बालबालिकाहरूलाई आश्रय दिँदै  आइरहेकी ‘माइती नेपाल’की अध्यक्ष अनुराधा कोइरालाले पनि सिएनएन हिरो २०१० बाट विभूषित भइन्। यहाँ उल्लिखित सबै धेरैजसो  उदाहरणमा पीडक पुरुष र पीडित महिला देखिए। यद्यपि महिलाहरू पनि मानव बेचबिखनमा संलग्नता नभएका भने होइनन्, तर त्यस्ता धेरै कार्यहरूको नेतृत्व भने पुरुषहरूले गरेको पाइन्छ। 

पीडित महिलाहरूले आफूले पाएको पीडा अरूले नपाऊन् भन्ने उद्देश्यले समाजमा दिएको योगदानबाट माथि उल्लिखित व्यक्तिहरूले सम्मानित पुरस्कार पाए। हाम्रो समाजमा राम्रो काम गर्नेलाई अबिर र फूलमालाले सम्मान गरिन्छ भने नराम्रो काम गर्नेलाई कालो मोसो र जुत्ताको माला लगाइदिने प्रचलन पनि थियो। यद्यपि कालोमोसो र जुत्ताको माला लगाएर सार्वजनिक बेइज्जती गर्नु कानुन सम्मत हुँदैन।  अबिर र फूलमाला जितको सङ्केत हो भने कालो मोसो र जुत्ताको माला साङ्केतिक रूपमा नराम्रो काम गर्नेलाई दिने सजाय थियो।  पीडित पक्षले ठूला ठूला राशिका पुरस्कार पाइरहँदा पीडक जगत्ले त्यसरी र त्यति नै लज्जा हुनुपर्ने होइन र ? पीडित महिलाहरूको साहसलाई पुरस्कृत गरियो भने यो पुरस्कार पीडक पुरुष जगत्का लागि त्यति नै सजाय पनि हो। आधुनिक समयमा राम्रो काम गर्नेलाई समाजले उत्कृष्ट पुरस्कारले सम्मानित गर्छ भने अपराध गर्नेलाई जेलदेखि मृत्युदण्डसम्म पनि दिने गर्छ।

पुरुषहरूलाई कसरी यौन हिंसा नगर्ने भनी नसिकाई युवतीहरूलाई मात्र यौन हिंसाबाट कसरी बच्ने भन्ने मात्रै सिकाउँदा उनीहरूमा हामी कमजोर रहेछाैँ भन्ने मनावैज्ञानिक असर पर्न सक्छ। अर्काेतिर पुरुषहरूमा हामी महिलाहरूभन्दा शक्तिशाली छौँ भन्ने सोचले डेरा जमाउँछ। त्यसैले तालिमहरू एकतर्फी नभएर किशोर–किशोरी र महिला–पुरुष दुवैलाई संयुक्त रूपमा दिनुपर्छ। यसो गर्न सके दुवैले एकअर्काको सीमा बुझ्नेछन्।

नेपालमा दिनहुँजसो बलात्कार र हत्याका घटना बढ्न थालेपछि महिला हिंसाविरुद्ध केही महिना अगाडि धनगढी रङ्गशालामा १७ सय युवती तथा महिलाहरूले आत्मरक्षा तालिम (फाइट ब्याक) को भाग लिएका थिए। यस्तै, तालिम चरिकोट, जिरी, सिंगटी (दोलखा) को २० स्कुलहरूमा सुरु भइरहेको समाचार आएको थियो। अब पुरुषहरूलाई विशेषगरी किशोर उमेरदेखि नै महिलाहरूसँग कसरी व्यवहार गर्ने, बोल्दा कसरी सम्मान गरेर बोल्ने भनेर सिकाउनुपर्छ। हाम्रो समाजमा सदिऔँदेखि पुरुषहरूले महिलाहरूले भन्दा सेवासुविधा पाइरहेका थिए अझ पनि पाइरहेका छन् यद्यपि शिक्षित परिवारमा यो भेदभाव कम हुँदै गइरहेको देखिन्छ। यसरी पुरुषहरूलाई कसरी यौन हिंसा नगर्ने भनी नसिकाई युवतीहरूलाई मात्र यौन हिंसाबाट कसरी बच्ने भन्ने मात्रै सिकाउँदा उनीहरूमा हामी कमजोर रहेछाँै भन्ने मनावैज्ञानिक असर पर्न सक्छ भने अर्काेतिर पुरुषहरूमा हामी महिलाहरूभन्दा शक्तिशाली छौँ भन्ने सोचले डेरा जमाउँछ।  त्यसैले यस्ता तालिमहरू एकतर्फी नभएर किशोर किशोरी र महिला पुरुष दुवैलाई संयुक्त रूपमा दिनुपर्छ। यसो गर्न सके दुवैले एकअर्काको सीमा बुझ्नेछन्।

सन् १९८९ मा क्यानडाको मोन्ट्रियलमा मार्क लेपाइन भन्ने व्यक्तिले नारीवादीहरूले आफ्नो लाइफ चौपट पारिदिएको भन्दै १४ जना विश्वविद्यालयका युवतीहरूलाई बन्दुकले हानी हत्या गरेपछि १९९१ मा ‘ह्याइट रिबन अभियान’को सुरु भयो र यस अभियानमा धेरै युवक र पुरुषहरू सम्मिलित भई महिला हिंसाको विरुद्धमा आवाज उठाउँदै आएको छ।  यो संस्थाले विश्वका ५७ देशहरूमा महिला हिंसाविरुद्ध काम गरिरहेको छ।  त्यसैगरी  २००२ मा अमेरिकामा स्थापना भएको ‘अ कल ट्रुम्यान’ संस्थाले ‘लाइभ रेस्पेक्ट’ भन्ने पाठ्यक्रममार्फत मिडिल स्कुल र हाइ स्कुलका केटाहरूलाई फोकस गर्दै पुरुषत्वको स्वस्थ र सम्माननीय परिभाषा र उनीहरूको समाजमा हुने कर्तव्य सिकाउँदै आइरहेको छ र यसको मूलभूत उद्देश्य महिलाको अवमूल्यन, उनीहरूलाई वस्तुसरह व्यवहार गर्ने प्रवृत्ति, महिलाहरू पुरुषका सम्पत्ति हुन् भन्ने जस्ता समाजले स्थापित गरेका मान्यताबाट प्रेरित हुने हिंसाको विरुद्धमा अभियान चलाउने देखिन्छ। यस्ता अभियानहरूबाट यौन हिंसामा बिस्तारै न्यूनीकरण भएको अभियन्ताहरूले बताउँदै आइरहेका छन् र विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन्।

 नेपालमा पनि यस्तै किशोर र पुरुष सम्मिलित एउटा अभियान चलाउनुपर्ने देखिन्छ।  उक्त अभियान महिला  तथा बालबालिका विकास मन्त्रालय, स्कुल, विश्वविद्यालय, सामाजिक  संस्थाहरू, प्रहरी, सेना, सरकारका विभिन्न अङ्गहरूसँग सहकार्य गर्दै यौन हिंसाको विरुद्धमा लड्नुपर्ने देखिन्छ।  बलात्कार अब महिलाहरूको मात्रै समस्या हो भनेर बसिरह्याैँ भने एक दिन दिदी बहिनीले दाजुभाइ, छोरीहरूले बाबुसँग हिँड्न पनि डर मान्नुपर्ने दिन नआउला भन्न सकिँदैन। यस्ता दुव्र्यवहार समयमै रोक्न नसक्दा दुव्र्यवहार हिंसामा परिणत हुन पुगेका छन्। पीडित महिलाहरू एउटै समाजमा सम्मानजनक रूपले बाँच्न पाइरहेका छैनन्। २१ औँ शताब्दीमा हाम्रा छोरी, दिदी, बहिनीहरू जन्मेहुर्केको समाजमा निर्धक्क हिँडडुल गर्न, काम गर्न नपाइन्ज्यान जोगाउनु नै युद्ध जितेसरह हुनुले आज हामीले कस्तो समाज बनाइरहेका छौँ, सोच्ने बेला भएन र ? त्यसैले पुरुष र पुरुषत्वले सृजना गरेको समस्या भएकाले अब पुरुषहरू नै अग्रसर भई यो समस्याको समाधान गरी हाम्रा छोरी, दिदी बहिनी र आमाहरूलाई सुरक्षित बाँच्ने समाज निर्माण गर्न अब ढिला गर्नु हुँदैन।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad