७ वैशाख २०८१ शुक्रबार
विचार

इतिहासको महत्व र मतलब

कांग्रेसबाट निर्वाचित सदस्यले नगरसभा बहिस्कार गरेपछि यसबारे जानकारी दिन सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका प्रमुखले शनिबार सडकमै आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित स्थानीय। तस्बिर : ध्रुव/नागरिक

इतिहास कुनै पनि ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरूको जग हो। इतिहासको धरातलमा नै उभिएर यी सबै विषय हुर्केर, बढेर, फलेर, फुलेर आज यो विश्वलाई र मानव जातिलाई नै सभ्यताको शिखरमा पुर्‍याउन सफल भएको छ। जबसम्म यो विश्वमा मानव जाति रहन्छ, तबसम्म इतिहासले मानव जातिलाई अझ बढी सभ्य र सुसंस्कृत हुन प्रेरित गरिरहेको हुन्छ। 

आजको विश्वमा इतिहासको महत्व झन् झन् बढिरहेको छ। विश्वभर सबै विश्वविद्यालयहरूमा इतिहासको पढाइ हुन्छ। कुनै जमाना थियो, इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट् र शासकहरूको जीवनी र गाथालाई मात्र लिइन्थ्यो। तर आज इतिहासले कोल्टो फेरिसकेको छ। आज इतिहास युद्धको वर्णन र आविष्कारहरूको घटनामा मात्र सीमित छैन। यस विषयमा गन्थन गरिरहँदा धेरै लम्बिएर जान्छ। त्यसैले आज इतिहास भनेर साधारणतया हाम्रो जस्तो मुलुकमा बुझ्ने के हो त भन्ने विषयतिर लागौँ।

मैले २०२० सालमा इतिहास विषय लिई त्रिविविबाट एमए पास गर्दा इतिहास पढ्ने विद्यार्थीहरूको संख्या करिब एक दर्जन जति थियो। हुनत त्यति बेला विश्वविद्यालयभर नै सबै एमएका कक्षहरूमा करिब २०० को हाराहारीमा मात्र विद्यार्थीहरू थिए। हामीलाई पढाउने शिक्षकहरूमा नेपालीभन्दा भारतीय शिक्षकहरूको बाहुल्य थियो। त्यसबेला नेपालको इतिहासको एक विषय मात्र थियो भने विश्व सभ्यता, मध्यकालीन युरोप, राजनैतिक दर्शन, विश्व संविधान र भारतको इतिहास आदि विषयहरूको मात्र पढाइ हुन्थ्यो। कसरी चाँडै एमए पास गर्ने र जागिर खाने दाउमा सबै विद्यार्थीहरू हुन्थे। त्यतिबेला एमए पास गर्नेहरूमध्ये धेरैले शिक्षण पेसा अपनाए भने केही व्यक्ति सरकारी जागिरतर्फ लागे। वास्तवमा त्यतिबेला इतिहास पढ्नु भनेको जागिर खाने माध्यम मात्र थियो। 

यसैबीच मलाई भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखालयमा अभिलेखालय विज्ञानमा पोस्ट ग्राजुयट डिप्लोमा गर्ने अवसर प्राप्त भयो। सरकारी एवं महत्वपूर्ण गैरसरकारी अभिलेखहरूको सुरक्षा, संरक्षण, अभिलेखीकरण, सूचीकरण, सम्पादन आदि इत्यादि गर्नुका साथै यी अभिलेखहरूको अध्ययन–अनुसन्धान गरी राज्यको प्रशासनलाई के कसरी सहयोग पुर्‍याई सबल पुर्‍याउन सकिन्छ भन्ने विषयबारे जानकारी प्राप्त भयो। 

त्यसपछि मैले स्वदेश फर्की नेपालको पुरातत्व विभागमा इतिहास र अभिलेख विज्ञान पढेकै नाताले शाखा अधिकृत भई जागिर खाए। तर अभिलेख विज्ञान पढ्न जाँदा मैले भारतको राष्ट्रिय अभिलेखालयमा दर्जनौँ व्यक्तिहरूले खास गरी इतिहास र राजनैतिक शास्त्रका विविध विषयहरूमा अनुसन्धान र उच्चस्तरीय अध्ययन गरिरहेको देखेँ। भारतका विभिन्न विश्वविद्यालयहरूबाट मात्र होइन, भारबाहिरका विभिन्न मुलुकहरूवाट पनि शोधकर्ताहरूले त्यहाँ अध्ययन अनुसन्धान गरिरहेको देखेँ। त्यहाँको यस्तो वातावरणले मलाई गहिरो छाप पारेको थियो। तसर्थ मैले मौका पाउनासाथ जागिर र विदेश जाने प्रलोभन त्यागी बेतलबी बिदा लिई भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजको इतिहास विभागमा एमफिल र पिएचडी प्रोगाममा भर्ना भए। 

नेहरु विश्वविद्यालयमा शोधग्रन्थका लागि अध्ययन अनुसन्धान गर्ने, सामग्री संकलन गर्ने र शोधग्रन्थमा हुनुपर्ने अन्य गुणहरूको विश्लेषणात्मक पद्धतिबारे ज्ञान प्राप्त गरी करिब ३ वर्षभित्र मैले एमफिल र पिएचडीको उपाधि हासिल गरे। उक्त विश्वविद्यालयमा इतिहास, राजनीतिक शास्त्र, भूगोल, समाजशास्त्र, अर्थशास्त्र, प्रादेशिक योजना, नेतृत्व शास्त्र आदि इत्यादि विषयहरूमा उच्चस्तरीय अध्ययन गर्ने सबैजसो विद्यार्थीहरूमध्ये धेरैजसोले उच्चस्तरीय अध्ययनका साथसाथै संघीय लोक सेवा आयोग (युपिएससी) को जाँचका लागि पनि तयार गर्ने गर्दोरहेछ। विश्वविद्यालयमा पुस्तकालयको सुविधा, प्राध्यापकहरूको सहयोग र मार्गदर्शनले गर्दा धेरै विद्यार्थीहरूले युपिएससी जाँचमा राम्रो नतिजा ल्याई भारतीय विदेश सेवा (आइएफएस) भारतीय प्रशासन सेवा (आइएएस) र भारतीय प्रहरी सेवा (आइपिएस) मा सफल हुने रहेछन्। बाँकी रहेका शोधकर्ताहरूले पिएचडी गरी राष्ट्रका विभिन्न विश्वविद्यालयहरूमा प्राध्यापकको काम र अन्य अनुसन्धान केन्द्रहरूमा पनि काम पाउने रहेछन्।

अरु विषयका विद्यार्थीहरूले भन्दा इतिहासका विद्यार्थीहरूले युपिएससीको जाँचमा राम्रो अंक ल्याई भारतको परराष्ट्र सेवा, प्रशासन सेवा र प्रहरी सेवा आदिमा धेरै मौका पाउँदो रहेछ। त्यसको मुख्य कारण हो, विश्वविद्यालयको एमएको पाठ्यक्रम र युपिएससीको पाठ्यक्रम एउटै रहेछ। लिखितमा पास गरिसकेपछि अन्तर्वार्तामा चाहिँ सामान्य ज्ञान र भाषामा विशेष दखल हुनुपर्ने रहेछ। यसरी हाम्रो देशमा पनि विश्वविद्यालयको पाठ्यक्रम र लोकसेवा आयोगको पाठ्यक्रमा सामजस्य हुनु जरुरी छ। त्यसपछि इतिहासका विद्यार्थीहरूले पनि नेपालको परराष्ट्र, प्रशासन र अन्य सेवाहरूमा मौका पाउन सजिलो हुनुका साथै इतिहासमा चाख राखेर पढ्ने विद्यार्थीहरूको पनि संख्या वृद्धि हुने कुरा स्वतः सिद्ध छ। 

हाम्रो इतिहास विभागको पाठ्यक्रमलाई समय समयमा सुधार गरी समय उपयोगी बनाउन जरुरी छ। नेपालको इतिहासमा राजनैतिक मात्र होइन, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक सबै विधाहरूको इतिहासका साथै सार्क मुलुकहरूको सामान्य इतिहास चीन, युरोप र अमेरिकाको सामान्य इतिहास आदि विषयहरूको पनि पढाइ हुनुपर्छ। यदि कसैले पछि नेपालको इतिहासबाहेक अन्य देशको इतिहासबारे शोधग्रन्थ लेख्न चाहेको खण्डमा तिनीहरूलाई एमएको पढाइले पुग्दो सहयोग पुर्‍याओस्। हाम्रो विश्वविद्यालयवाट पिएचडी गर्ने शोधकर्ताहरूमध्ये शतप्रतिशत विद्यार्थीले नेपालको इतिहासका विविध विषयहरू मात्र लिने गरेको पाइन्छ। तर नेहरु विश्वविद्यालयमा चीन, रुस, इन्डोनेसिया, श्रीलंका, नेपाल आदि देशहरूको इतिहासको विषयमा पनि शोध गर्ने विद्यार्थीहरू प्रशस्तै देखेँ। यसरी विदेशी मित्र राष्ट्रहरूको इतिहासबारे शोध गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालय अनुदान आयोग  (युनिर्भसिटी ग्रान्ट कमिसन) ले भत्ता र आर्थिक सहयोग दिई उक्त व्यक्तिलाई आफूले शोधग्रन्थ तयार गर्न लाएको देशमा गई केही समय अध्ययन अनुसन्धान गर्न चाहिँदो न्यूनतम खर्च व्यहोर्ने गर्दो रहेछ। 

इतिहासमा उच्चस्तरीय अध्ययन गरेका विद्यार्थीहरू खपत हुने मूल थलो विश्वविद्यालयहरू र विभिन्न कलेजहरूबाहेक राष्ट्रिय अभिलेखालय पनि एउटा हो। तर जहाँसम्म मलाई लाग्छ, नेपाल राष्ट्रिय अभिलेखालयमा इतिहासमा उच्चस्तरीय अध्ययन गरेका व्यक्तिहरू प्रायः शून्य छन्। राष्ट्रिय अभिलेखालयमा देशभरबाट आउने सरकारी कागजातहरूको संरक्षण, वर्गीकरण, सम्पादन र समय समयमा उपयोग गर्न सरकारलाई आवश्यक सूचनाहरू उपलब्ध गराउने काम अभिलेख विशेषज्ञहरूको हुन्छ र ती अभिलेख विशेषज्ञहरूसँग इतिहासको ज्ञान हुनु अति आवश्यक छ। राष्ट्रिय अभिलेखालयमा मात्र होइन, सबैजसो मन्त्रालय, विभाग र ठूल–ठूला आयोग, कमिसन र कार्यालयहरूमा समेत अभिलेख विशेषज्ञसहितको अभिलेख कोठा हुनु जरुरी छ। 

जुन विषय पढेर भविष्यमा के गर्ने भन्ने कुराको अन्यौल हुन्छ, त्यो विषयमा कसैले पनि रुचि राख्दैन। विकसित मुलुकहरू जस्तै बेलायत, अमेरिका, फ्रान्स, जर्मनी आदिमा इतिहास विषय राम्रो दखल भएका शोधकर्ताहरूलाई सरकारी र विश्वविद्यालयहरूको जागिरको मुख ताकेर बस्नुपर्ने स्थिति छैन। ती मुलुकहरूमा विभिन्न ठूलठूला उद्योग बंैक र कम्पनीहरूले पनि आ–आफ्नो कम्पनीहरूको अभिलेख कोठाहरूमा अभिलेखहरूको संरक्षण, वर्गीकरण, सम्पादन गर्ने र अन्य विविध समस्याहरूमा अध्ययन–अनुसन्धान गराई अभिलेखहरूबाट फाइदा लिने चलन व्यापकरूपमा बढ्दै आइरहेको छ। 

तर दुःखको कुरा छ हाम्रो देशमा निजी कम्पनीहरूको त कुरै छोडौँ। सरकारी कार्यालयहरूले समेत अभिलेखलाई काम नलाग्ने कागजात ठानी अँध्यारो छिँडी कोठाहरूमा फ्याँकिराखेका हुन्छन्। यसरी हाम्रा पुर्खाहरूले धेरै मेहनत र परिश्रम गरी विभिन्न समस्या सुल्झाउन तयार गरेका अभिलेखहरूको जबसम्म महत्व र मूल्य बुझ्दैनन् तबसम्म इतिहास पढ्ने र पढाउनेहरूको पनि महत्व र मतलब हुँदैन। 

 

प्रकाशित: २९ पुस २०७५ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App