७ वैशाख २०८१ शुक्रबार
अन्य

गन्तव्य : हनुमाननगर

रामभक्त हनुमानलाई विभिन्न नामले पूजिन्छ । कसैले संकटमोचक, कसैले महाबीर, कसैले बजरंगबली र कसैले मारुतीनन्दनका रुपमा पुर्काछन् । प्रायः हनुमानको मूर्ति रातो हुन्छ । तर, सप्तरीको सदरमुकाम राजविराज नजिकै हनुमाननगरमा अबस्थित मूर्ति कालो रंगको छ । जुन शालीग्राम शिलाबाट बनेको मानिन्छ । संकटमोचन हनुमान मन्दिरका पूजारी गोबिन्द मिश्र भन्छन्, ‘दुबै हात आशीर्बादी मुद्रामा भएको यस्तो मूर्ति अन्यत्र भेटिएको छैन । त्यसैले यो विश्वको एकमात्र कालो हनुमान हो ।’

हनुमाननगर कंकालिनि नगरपालिका–४ सप्तरीको मन्दिरमा हनुमानको बाल रुपको मूर्ति छ । त्यहाँ बाहिर नारायणेश्वर महादेवको मन्दिर र धर्मशाला छ । धराने पर्यटनकर्मी मित्र बासुदेब बरालबाट कालो हुनमानबारे केही दिन पहिला सुनेको थिएँ । पुस २६ गते हामीले तिनै हनुमानको दर्शन गर्यौ । साँच्चै यस्तो रुपका हनुमान मैले त्यस अघि देखेको थिइन । 

हनुमान दर्शनले शनिको प्रभावबाट बच्न सकिने हिन्दू मान्यता छ । पहिलोपटक मन्दिरमा आइपुगेका दुहबी नगरपालिका वडा नं २, सुनसरीका सामाजिक कार्यकर्ता नन्दलाल माझी हनुमानका दुबै हात आशीर्बादी देखेर छक्क परे । ‘मैले यस्तो कालो हनुमान देखेकै थिइन’, उनले भने, ‘हनुमानजीको राम्रो प्रचार हुन आबश्यक देखिन्छ ।’

रामनवमीका दिन मन्दिरमा मेला लाग्छ । शनिबार र मंगलबार हनुमानबार मानिन्छ । यि दुई दिन तिर्थालु बढी आउँछन् । भजनकिर्तन गर्छन् । रामायण पाठ गर्छन् । हनुमानचालिसा पाठ गर्छन् । हनुमानलाई लड्ड चढाउँछन् । भाकल पुरा भएपछि उनलाई खुशी पार्न ५० किलो तौलको एउटै लड्डु चढाउने चलन छ । वर्षको ३० वटा भन्दा बढी यस्ता अजंगका लड्डु चढाइन्छ । 

राजा पृथ्वीनारायण शाहदेखि शाह बंशका अन्तिम राजा ज्ञानेन्द्रसम्म आएर पूजापाठ गरेको मिश्रले सुनाए । साथै भारतका धामिर्क विद्वान र नेताहरु पनि बरोबर आउने गरेका छन् । हनुमान दर्शन गर्न नेपालीका साथै भारतका दिल्ली, मुम्बई, राजस्थान, कोलकाता, बिहार लगायतबाट दर्शनार्थी आउने गरेका छन् । तर, नेपालभित्रै यिनको राम्रो प्रचार भैसकेको छैन । 

यस्ता महत्वपूर्ण सम्पदाको राम्र्रो प्रचार गरी धार्मिक पर्यटन बढाउने अभियानमा स्थानीय नगरपालिका र प्रदेश सरकारले हातेमालो गर्नु पर्छ । सखडादेवी (छिन्नमस्ता) र हनुमाननगरमा आउने दर्शनार्थीले दुबैतिर दर्शन गर्ने वातावरण मिलाउन सके पनि ठूलै उपलब्धी हुनेछ । 

हनुमान मन्दिर क्षेत्र ४ कठ्ठा क्षेत्रफलमा फैलेको छ । मन्दिर ०४७ असारमा पुननिमार्ण गरिएको हो । जगद्गुरु रामानुजाचार्य स्वामी घनश्यामाचार्यको आज्ञाले सीताराम गनपतलाल कावराले पिता भागिरथ, माता सोनीदेवी र दाजू चान्दमुलको स्मृतिमा पुननिमार्ण गरेको शिलालेख मन्दिरमा राखिएको छ । 

मन्दिरको नाममा सुनसरीको कुशाहामा २० बिगाहा जमिन रहेकामा १० बिगाहामा बस्ती छ । त्यसैले बाँकी १० बिगाहाको आयस्ताले मन्दिर सञ्चालन भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार शर्माले जानकारी दिए । 

हनुमान मन्दिर बिहान ५ बजेदेखि मध्यान्ह १२ बजेसम्म र दिउसो ३ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । 

यिनैै बजरंगबलीका कारण वस्तीको नाम हनुमाननगर राखिएको रहेछ । पहिला सप्तरीको सदरमुकाम पनि हनुमाननगर नै थियो । पछि वरपर कोशी कटानले समस्या पारेपछि सदरमुकाम राजविराज सरेको पूजारीले सुनाए । उनका अनुसार विसं १९९९ सालमा कोशीले बस्तीलाई कटान गर्यो । त्यसपछि विसं २००६ सालतिर सदरमुकाम राजविराज सर्यो । 

राजविराजबाट पूर्व ११ किमिमा हनुमान मन्दिर छ । बस्तीमा पुराना घर छन् । त्यहाँ मण्डल, दास, मुसलमान, मारवडी लगायत समुदायको बसोबास छ । हनुमाननगरमा सामान्य खाजा पसल छन् । बास बस्न राजविराजमा सुविधायुक्त होटल छन् । bhadgaonle@gmail.com

प्राचीन मन्दिर

गोबिन्द मिश्र
पूजारी 

हनुमान मन्दिरको यकिन इतिहास पत्ता लागेको छैन । अध्येता एवं प्राध्यापक हरिशंकरलाल दासले राजा शक्रसिंहको पालातिरकै हुनु पर्ने अनुमान गरेका छन् । त्यो भनेको हजार वर्ष अगाडिको कुरा हो । त्यसैले यो पुरातात्विक महत्वको मन्दिरको विकासमा सबैको साथ चाहिन्छ । हामी दाताहरुको सहयोग लिएर मन्दिर क्षेत्र व्यबस्थित गरिरहेका छौं । हामीलाई थप धर्मशाला र पाकगृह बनाउन सहयोगीको खाँचो छ । 
सम्पर्क : ९८११७६६९६

प्रकाशित: २९ पुस २०७५ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App