रसुवा – रसुवाका पाँचवटै स्थानीय तह दुर्गमको सूचीमा परेका छन्। राज्यको पुनर्संरचनापछि पहिलोपटक भइरहेको स्थानीय तह वर्गीकरणको प्रारम्भिक नतिजाअनुसार जिल्लाका सबै स्थानीय तह दुर्गममा परेका हुन्।जिल्लामा गोसाइँकुण्ड, कालिका, आमाछोदिङ्मो, उत्तरगया र नौकुण्ड गरी पाँच स्थानीय तह छन्। देश संघीय संरचनामा जानुअघि जिल्लाको साविक टिमुरे गाविस मात्रै दुर्गमको सूचीमा परेको थियो।
सरकारले अहिले स्थानीय तहलाई चार वर्गमा विभाजन गरेको छ। जसअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तह ‘ख’ वर्ग अर्थात् दुर्गममा परेका हुन्। वर्गीकरण गर्दा यातायातको पहुँच, प्रदेश राजधानी तथा जिल्ला सदरमुकामदेखिको दूरी, दुरसञ्चार सुविधा, शिक्षा, स्वास्थ्य तथा विद्युत् सुविधा, भौतिक अवस्थिति र मानव विकास सूचकांक लगायतलाई आधार मानिएको छ।
सबै गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको, टेलिफोन, इन्टरनेट सुविधा भएको, कम्तीमा एउटा स्नातक वा सोभन्दा माथिको अध्यापन हुने शैक्षिक संस्था भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी जिल्लाका तीनवटा गाउँपालिकामा कालोपत्रे सडक बनेको जसमध्ये नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा बाह्रै महिना यातायात चल्ने गरेको प्रतिवेदनले देखाएको छ। अति दुर्गमलाई ‘क’, दुर्गमलाई ‘ख’, मध्यमलाई ‘ग’ र सुगमलाई ‘घ’ वर्गमा राखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका १ सय ६२ अति दुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ वटा स्थानीय तह सुगम छन्।
प्रकाशित: २९ पुस २०७५ ०३:०६ आइतबार