८ वैशाख २०८१ शनिबार
राजनीति

कालिन्चोकमा जंगल फँडानी तीव्र

दोलखाको कालिञ्चोक क्षेत्रस्थित जंगलमा बिनाअनुमति काटिएका रूख। तस्बिर : रमेश/नागरिक

कालिञ्चोक (दोलखा) - अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

कालिञ्चोक क्षेत्रको भोगाधिकारका विषयमा दुई सरकारी निकायबीच चलेको विवादको फाइदा उठाउँदै सार्वजनिक जग्गा अतिक्रमण गर्ने लहर चलेको छ। अतिक्रमण गरिएको जग्गामा घर बनाउन वरपरको जंगल मासेर काठ ल्याएको एक स्थानीयले बताए। ‘बाहिरबाट काठ ल्याउन महँगो छ। जंगलका रुख काट्न कानुनले दिँदैन’, उनले भने, ‘अनि आफूखुसी नकाटेर के गर्नु ? होटल चलाउन घर त बनाउनैपर्‍यो।’ कालिञ्चोकका कुरीबजार, घ्याङडाँडा, मन्दिर रहेको थुम्कासहितका भागमा सार्वजनिक जग्गा ओगटेर दुई सयभन्दा बढी घर बनेका छन्। जग्गाको भोगाधिकार विवादबीच एउटा निजी कम्पनीले केबलकारसमेत सञ्चालनमा ल्याएको छ।

कुरी बजारमा संरचना उठाउँदा वरपरका जंगलका रुख ढालेर काठ ल्याइएको छ। कुरीबजारबाट उत्तरतर्फको क्षेत्रमा पर्ने जंगलका ठूला–ठूला रूख काटिएका छन्। कुरीबजारबाट पश्चिमतर्फ फोक्टे सुन्धारा वनतर्फ बाटैभरि रूख ढालिएको छ। यो वन सिन्धुपाल्चोक जिल्लाको सिमानामा पर्ने एक स्थानीयले बताए। कुरीबजारबाट माथिल्लो डाँडाको पानी ढलो सिन्धुपाल्चोकतर्फ पर्छ। सिन्धुपाल्चोकको सिमानातर्फका उपभोक्ताको बस्ती निकै टाढा रहेकाले यो वनको रेखदेख गर्न आउन सक्ने अवस्था छैन।

आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्।

दोलखातर्फको झरेनी सामुदायिक वनमा समेत फँडानी व्यापक रहेको वन उपभोक्ता समितिका अध्यक्ष हीरा पाण्डेले जानकारी दिए। ‘हामी तल लापिलाङ गाउँमा बस्छौं, हाम्रो वन क्षेत्र कालिञ्चोकको कुरीबजार र घ्याङडाँडासम्मै पर्छ’, उनले भने, ‘त्यहाँबाट रातिराति रूप काटेर लगिन्छ भनेर वन कार्यालयलाई पटकपटक उजुरी गरे पनि सुनुवाइ भएन।’ उनले झरेनी सामुदायिक वन क्षेत्रमा मात्रै चार सय रूख काटिएको टेलिफोनमा सुनाए।

कालिञ्चोकमा एउटामात्र सामुदायिक वन छ। बाँकी माथिल्लो भेगको जंगल गौरीशंकर संरक्षण क्षेत्रमा पर्छ। संरक्षण क्षेत्रभित्रको जंगलसमेत उत्तिकै फँडानी भइरहेको स्थानीयले सुनाए। ती जंगलबाट कुरीमा संरचना तयार गर्न ठूलो मात्रामा रुख काटेर ओसारिएको बारे संरक्षण क्षेत्र आयोजना बेखबर छ। संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले भने जंगल संरक्षण गर्न स्थानीयलाई जिम्मा दिएको बताए।

‘हाम्रो नियमअनुसार त्यहाँको जंगल संरक्षण गर्न स्थानीय संरक्षण समितिलाई जिम्मा दिएका छौं’, उनले भने, ‘फँडानीबारे उजुरी आएको छैन।’ उनले फँडानी रोक्न र रेखदेख गर्न कालिञ्चोकमा पोस्ट स्थापना गर्न प्रयास गरे पनि असफल भएको सुनाए। ‘एकपटक फँडानी रोक्न र चेक बढाउन पोस्ट स्थापनाको प्रयास गरेका हौं’, उनले भने, ‘तर कालिञ्चोकको भोगाधिकार कुन निकायको भनेर विवाद रहेका कारण स्थापना गर्नै सकिएन ’जिल्ला वन अधिकृत प्रवीण बडारीले कालिञ्चोकको वन फँडानीबारे छानबिन गरिने बताए। ‘भर्खरै जिल्ला आएको छु’, उनले भने, ‘कालिञ्चोकको समस्याबारे अध्ययन गर्दैछु, फँडानी रोक्न सिन्धुपाल्चोकमा समेत समन्वय गरेर आवश्यक कदम चाल्छु।’ उनले वन कार्यालयअन्तर्गतको क्षेत्रमा भएको फँडानीबारे छानबिन गरिने बताए।

‘बाहिरबाट काठ ल्याउन महँगो छ। जंगलका रुख काट्न कानुनले दिँदैन। अनि आफूखुसी नकाटेर के गर्नु ? घर त बनाउनैपर्‍यो।’

जिल्ला वन कार्यालयका नायब सुब्बा राजेन्द्र सुवेदीले कालिञ्चोकको वन फँडानीबारे मौखिक उजुरी आएपछि छानबिन थालिएको बताए। ‘जंगलभरि रूख काटिएको जानकारी आएपछि छानबिन गरिरहेका छौं’, उनले भने, ‘कतिपय जंगल क्षेत्रमा विद्युत् प्राधिकरणले प्रसारण लाइनको काम गर्नसमेत रूख काटेको भेटियो, उसको ठेकेदार समितिसँग बुझिरहेका छौं।’

कालिञ्चोक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै जान थालेपछि यहाँको सार्वजनिक जग्गाको भोगाधिकारका विषयमा वन मन्त्रालय र गुठी संस्थानबीच विवाद छ। कालिञ्चोक भगवती, त्रिपुरासुन्दरी र भीमेश्वरका नाममा रहेको गुठीको आधारलाई टेकेर गुठी संस्थानले कालिञ्चोक क्षेत्र आफ्नो नाममा नाप नक्सा हुनुपर्ने दाबी गर्दै आएको छ भने वनले यो क्षेत्र आफ्नो रहेको बताउँदै आएको छ। केबुलकार सञ्चालन पनि कानुनविपरीत भइरहेको भन्दै विवादमा परेको छ।

प्रकाशित: २९ पुस २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App