८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदी युवतीलाई क्यानडाले शरण दियो

टोरोन्टो- धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताएका छन्। 

क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री ट्रुडोले बताए। रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले स्पष्ट पारे। 

साउदी जेलमा राखिएका महिला अधिकारवादीलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो। तर पनि क्यानडाले साउदी महिलाको शरणार्थी रुपमा सहजै स्विकार गरेको छ। 

आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन्। उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो। उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत रहेको थियो। 

तर बैंककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन। त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो। भागेर बैंककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए। 

रहाफले बैंकक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन। 

साउदी अरेबियामा इस्लाम त्याग्नु भनेको मृत्युदण्ड समेत दिनसक्ने अपराध मानिन्छ। रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुव्र्यव्यवहार भोगेको एएफपीलाई बताएकी थिइन। कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाई थियो। 

यद्यपी रहाफको परिवारका एक सदस्यले बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केबल रहाफको सुरक्षालाई लिएर चिन्तित भएको बताएका छन्। 

प्रकाशित: २८ पुस २०७५ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App