coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बाह्रविसेको नगरसभा बस्न सकेन, सदस्यलाई बन्धक बनाएको प्रमुखको आरोप

बाह्रविसे (सिन्धुपाल्चोक) - बहुमत सदस्यले ‘बहिस्कार’ गरेपछि बाह्रविसे नगरपालिकाको चौथो नगरसभा बस्न सकेन। विभिन्न ६ प्रस्तावमा छलफल गरी निर्णय गर्न नगरकार्यपालिकाले शुक्रबारलाई नगरसभा बोलाएको थियो।

कांग्रेसबाट निर्वाचित बहुमत सदस्यहरु अनुपस्थित भएपछि नगरसभा बस्न सकेन। नगरप्रमुख निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिनले शनिबार बाह्रविसे बजारको सडकमै पत्रकार सम्मेलन गरेर कांग्रेस नेताले नगरसभामा नजान उर्दी लगाउँदै सदस्यहरुलाई बन्धक बनाएको आरोप लगाए। ‘बहुमतको दम्भ देखाइयो। यसले विकासमा राम्रो गर्दैन,’ सम्मेलनमा प्रमुख शेर्पाले भने।

फरक विचार बाकेकैले आफूलाई व्यक्तिगत रुपमा असफल बनाउन कांग्रेसका केही स्थानीय नेताको निर्देशनमा सदस्यहरुलाई नगरसभा बहिस्कार गर्न बाध्य बनाइएको उनले दाबी गरे। ‘नगरसभामा आइसकेका सदस्यहरुलाई टेलिफोन गरेर फिर्ता बोलाइ एक होटलमा दिनभरी बन्धक बनाएर राखियो,’ शेर्पाले भने।

बाह्रविसे नगरसभामा कांग्रेसकाे स्पष्ट बहुमत छ। ५० सदस्यीय नगरसभामध्ये ३० सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्। प्रमुख र उपप्रमुखसहित नेकपाका २० सदस्यले मात्र नगरसभामा प्रतिनिधित्व गर्छन्। नगरकार्यपालिकामा कांग्रेसको एकलौटी छ। नगरसभामा भाग लिन कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्य आइसकेका थिए। सभा सुरु हुनै लाग्दा उनीहरु एक–एक गर्दै हिँडेका थिए। ‘विकासमा मिलेर जाऔँ। राजनीतिमा प्रतिस्पर्धा गरौँ,’ प्रमुख शेर्पाले सडकबाटै चेतावनी दिए। उनले यसअघि पनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले दुई पटक कार्यपालिका बैठक बहिस्कार गरेको बताए। ‘बहुमतको दम्भ देखाउँदा कुनै पनि निर्णय र प्रस्ताव पारित हुन गाह्रो छ,’ प्रमुख शेर्पाले गुनासो गर्दै भने, ‘यस्ता गतिविधिले विकासमा बाधा पुर्‍याइरहेको छ।’ बहुमतकै बलमा बजेट विनियोजनमा समेत अफ्ठेरो पारिँदै आएको उनले सुनाए।

पुस ९ गतेको नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगरसभा बोलाइएको थियो। एकीकृत घुम्ति शिविरका लागि बजेट विनियोजन गर्ने, आर्थिक सहायता अनुदानको लागि रकम बाँडफाँड गर्ने, म्याचिङफण्ड र नगरस्तरीय योजनाहरुको रकम रकमान्तर गर्ने लगायत प्रस्ताव नगरसभामा लैजाने तयारी थियो। ‘नगरसभामा लैजाने प्रस्ताव उहाँहरु (बहिस्कार गर्ने सदस्य) सम्मिलित कार्यपालिका बैठकले निर्णय गरेको थियो,’ प्रमुख शेर्पाले प्रस्ट्याए।

नगरसभामा अनुपस्थित वडा नं. २ का वडाध्यक्ष बमबहादुर तामाङले आफूहरुले सभा बहिस्कार नगरेको जिकिर गरे। ‘नगरकार्यविधि बनाउँदा हाम्रो कुरा सुनिएन,’ कांग्रेसबाट निर्वाचित उनले भने, ‘संशोधन हुनुपर्ने मागमा हामीहरु छलफलमा बस्दा नगरसभामा जान भ्याएनौँ।’ कांग्रेस समर्थित जनप्रतिनिधिको भेलामा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेत सहभागि रहेको उनले जनाए। आफूहरुलाई बन्धक नबनाइएको भन्दै उनले थपे, ‘नेताहरुको उपस्थितिमा नगर कार्यविधिबारे धारणा तय गरेका छौँ।’ पूर्व सञ्चारमन्त्री समेत रहेका मोहन बस्नेत बाह्रविसे नगरपालिकाकै हुन्। उनी र प्रमुख शेर्पाबीच व्यक्तित्व टकराव छ। यसको असर नगरपालिकाले लिने निर्णय र विकास गतिविधिमा पर्दै आएको छ।  

प्रकाशित: २८ पुस २०७५ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App