बन्ड मार्केट आवश्यक

शनिबार, २८ पुष २०७५, १५ : ३४ उपेन्द्र खड्का

113


करिब एक वर्षदेखि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भूमिकामा रहेका सुमन शर्मा अहिले बैंकलाई उत्कृष्ट बनाउने अभियानमा लागेका छन् । विभिन्न बैंकमा दुई दशकभन्दा बढी काम गरिसकेका अनुभवी शर्मा फिजिक्स लिएर स्नातकोत्तर (माष्टर डिग्री) गरे पनि त्यतातिर नलागी बैंकिङ क्यारियरतिर लागे । नेपाल एसबिआई बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकको उच्च ओहदामा बसेर काम गरिसकेका शर्मा बैंकिङ क्षेत्रमा आउनुअघि सामाजिक अनुसन्धानमा पनि लागे तर, काम आफूले गर्नुपर्ने त्यसको जस अरुले लिने भएपछि त्यो बाटो पनि बन्द गरेर बैंकिङ क्यारियरतिर लागेको उनी बताउँछन् । विज्ञान विषय पढेर पनि किन बैंकिङ क्षेत्रमा लाग्नुभयो भन्ने जिज्ञासा राख्दा उनले जता सन्तुष्टि मिल्छ त्यतैतिर काम गर्दा सफल हुन सकिने छोटो प्रतिक्रिया दिए । बैंकिङ क्षेत्र प्रवेश गर्नुको कारण, सिइओलाई समाजले हेर्ने दृष्टिकोण, समयको व्यवस्थापन, बैंक सञ्चालकले व्यवस्थापनलाई दिने दबाब, लगानीयोग्य पुँजीको अभावको व्यवस्थापन, निक्षेपको ब्याज बढ्दा ऋणको पनि ब्याजदर बढ्ने हुँदा यसले अर्थतन्त्रमा पार्ने प्रभाव, सेयर बजार ओरालो लाग्नुका कारणलगायतका विषयमा सिइओ शर्मासँग नागरिक परिवारका लागि विष्णु बेल्वासेले गरेको कुराकानी :

विज्ञान विषय लिएर पढ्नुभएको रहेछ किन त्यतातिर नलागी बैंकिङ क्षेत्रमा आउनु भयो ?

फिजिक्समा माष्टर डिग्री गरेँ । फिजिक्स पढेको क्याम्पसमा पढाउनका लागि मात्र थिएन । अनुसन्धान गर्न मन थियो । हुन त अर्थतन्त्रमा माष्टर डिग्री गर्नुअघि सामाजिक अनुसन्धानमा करिब एक वर्ष काम गरेँ । त्यहाँ आफूले अनुसन्धान गरेको प्रतिवेदन त प्रकाशित हुन्थ्यो । तर, त्यो अनुसन्धान गर्ने व्यक्ति को थिए भनेर नाम प्रकाशित हुँदैन थियो । केवल अनुसन्धान गर्ने संस्थाको मात्र नाम प्रकाशित हुने गर्दथ्यो । काम हुने आफ्नो नाम नहुने भएपछि त्यो संस्थामा काम गर्न छाडि दिए । नेपाल एसबिआई बैंकमा जागिर खुलेको थियो । त्यसमा निवेदन दिएपछि जागिर मिल्यो । त्यसपछि लागे बैंकिङ क्षेत्रतिर । सानो पोष्टबाट सुरु गरेको हुँ, अहिले उच्च पदमा पुगेको छु । निरन्तरको मिहिनेतले यो पदमा पुग्न सफल भएको हुँ ।

बैंकको उच्च पद र अन्य पदमा बसेर काम गर्दा के फरक हुने रहेछ त ?

बैंकको उच्च पद भनेकै सिइओ हो । सिइओमा बसेर काम गर्दा बैंककै सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा आउँछ । तर, कुनै शाखाको जिम्मेवारी लिँदा त्यो शाखाको मात्रै जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । सिइओ भएर काम गर्दा बैंकमा हुने साना–तिना समस्याको जस वा अपजस पनि आफँैले लिनुपर्ने हुन्छ । तर, सम्बन्धित शाखाको जिम्मेवारी लिँदा त्यस शाखाको मात्रै जस वा अपजस आफूले लिने हो, अन्य कुराको जिम्मेवारी लिनु पर्दैन । शाखा प्रमुख हुँदा सिइओको मातहतमा हुने भएकाले सिइओले जे भन्छ त्यही गर्दा पनि हुन्छ । शाखा प्रमुख वा त्यो भन्दा सानो पदमा रहँदा आफ्ना कुरा राख्ने हो, त्यो कुरा सिइओले जायज छ भन्यो भने त्यतातिर लाग्ने हो अन्यथा सिइओले जे भन्छ त्यतैतिर लाग्दा हुन्छ । तर, सिइओको भूमिकामा हुँदा भने सम्पूर्ण कुराको जिम्मेवारी लिनुुपर्ने हुन्छ । सिइओको काम बढी चुनौतीपूर्ण हुन्छ । सानो कर्मचारीले बिगारेको कामको जिम्मेवारी पनि सिइओले नै लिनु पर्छ । भूमिका धेरै हुने हुँदा बढी दौडधूपमा हुन्छन् सिइओ । 

निकै व्यस्त हुने सिइओहरुले कसरी समयको व्यवस्थापन गर्छन् त ?

सिइओको र अरुको पनि एक दिन र रातको सयम त २४ घण्टा नै हो । समयको व्यवस्थापन गर्ने कुरा मात्रै हो । सबै काम आफँैले नगरी अधिकार प्रत्यायोजन गर्दै जानुपर्छ । डिपार्टमेन्ट हेडलाई शक्तिशाली बनाउनु पर्छ । सिइओहरु खासगरी आन्तरिक रुपमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । बाह्य एजेन्सीसँग पनि त्यत्तिकै व्यस्त हुन्छन् ।

सिइओलाई ग्लामर अर्थात् फिल्मको हिरोको रुपमा हेर्ने चलन छ नि यसमा तपाईंको भनाइ के छ ?

एउटा संस्था चलाउन सिइओले मात्रै सक्दैन । संस्था चलाउन एउटा पूरै टिम सक्रिय हुनुपर्छ । डिपार्टमेन्ट हेडको त्यत्तिकै भूमिका हुन्छ । संस्थालाई कसरी डो-याउने भन्ने बारेमा मुख्य रोल (भूमिका) त सिइओको नै हुन्छ । राम्रो कामको जस पनि पाइन्छ र नराम्रो कामको अपजस पनि दिइन्छ । संस्थाको जिम्मेवारी सबै सिइओमा आउने हुँदा र आम जनताले पनि सिइओप्रति बढी विश्वास गरेकाले हिरोको रुपमा चित्रण गर्नुलाई स्वाभाविकै ठान्छु । 

बैंक सञ्चालकहरुले सिइओले गर्ने काममा हस्तक्षेप गर्ने गर्छन् भनिन्छ । यसमा कत्तिको सत्यता छ ?

अरु बैंकमा के छ मलाई थाहा छैन । तर, हाम्रो बैंकमा भने त्यस्तो छैन । बैंकले वार्षिक बजेट बनाउँछ । त्यो बजेटअनुसार चल्ने हो । बोर्डले बजेटअनुसार चलेको छ वा छैन भनेर हेर्ने गर्छ । बजेटको कार्यान्वयन गर्न एउटा कमिटी गठन गरिएको हुन्छ । त्यसले बेला–बेलामा प्रतिवेदन बुझाउने गर्छ । बजेटअनुसारको काम भए नभएको सञ्चालक समितिले हेर्ने हो । कुन व्यक्ति वा समूहलाई ऋण दिने वा नदिने भन्ने बारेमा सञ्चालकले हेर्दैन र त्यसमा हस्तक्षेप गर्ने कुरा पनि भएन ।

केही बैंकका त सञ्चालकले नै फलानो ग्रुपलाई ऋण दिउ र फलानो ग्रुपलाई ऋण दिनु हुँदैन भन्दै सिइओको काममा हस्तक्षेप गर्छन् भनिन्छ नि ?

अरु बैंकमा के हुन्छ, त्यो त त्यत्ति थाहा भएन । केही बैंकका सञ्चालकले कसैलाई ऋण दिँदा हेरिदिउ न भन्ने कुरा गर्न सक्छन् । तर, त्यतिबेला हुँदैन वा गर्न सकिँदैन भन्ने क्षमता सिइओमा हुनुपर्छ । त्यति भन्न सक्ने खुवी छैन भने अप्ठ्यारो पर्न सक्छ । सञ्चालकले भनेको कुरा हुँदैन भनियो भने रिसाउँछ कि वा जागिर जाला कि भन्न थालियो भने त बेग्लै कुरा भयो । हैन, यहाँबाट निस्के पनि अन्यत्र काम पाइन्छ भन्ने हिम्मत भयो भने सञ्चालकले भनेको मान्नुपर्छ भन्ने छैन । सिइओले स्वतन्त्र रुपमा आफ्नो निर्णयअनुसारको काम गर्नुपर्छ र त्यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन ।

यो वर्ष यति लाभांश वितरण गर्नुपर्छ भन्नेजस्ता कुरा सञ्चालकले नै तोकिदिएका हुन्छन् र सिइओले त्यतिअनुसार काम गर्नुपर्छ भन्ने गरिन्छ नि ?

निक्षेप कति संकलन गर्ने, कति कर्जा लगानी गर्ने, पुँजी कति पु-याउने, नाफा कति गर्ने भन्ने बजेट बन्छ । निकै आशावादी भएर बजेट बनाइन्छ । बजेटका बारेमा सञ्चालक र व्यवस्थापनबीच छलफल हुन्छ र निर्णयमा पुगिन्छ । त्यही अनुसार काम गर्ने हो । त्यसपछि लाभांश कति दिने भन्ने कुरा त स्वतः हिसाबमा निस्कन्छ । पुँजी बढाउने भए बोनस दिने हो अन्यथा नगद लाभांश दिने हो । यति लाभांश नदिई हुँदैन भन्ने खालको प्रेसर सिइओलाई दिइँदैन ।

चालु आर्थिक वर्षको बैंकको बजेट कहिले बनाउनुभएको थियो ?

वैशाख महिनामै बनाएका थियौं । तर, लगानीयोग्य पुँजीको अभावले त्यसलाई प्रभावित पार्ने काम ग¥यो । लगानीयोग्य पुँजीले गर्दा बजेटमा केही परिवर्तन गर्नु प-यो ।

लगानीयोग्य पुँजीको अभावको समस्या के कारणले आउन पुग्यो त ?

पहिलो कुरा, त हामी आयातमा बढी निर्भर छौं । आयात गरेका वस्तुहरुले जीविका निर्वाह गरेका छौं । आयात गर्ने वस्तुका लागि खरिदका लागि ठूलो रकम खर्चनु परेको छ । यसले गर्दा पनि लगानीयोग्य पुँजीको अभाव हुन पुगेको हो । दोस्रो कुरा, सरकारी ढुकुटीमा रहेको रकम समयमै खर्च हुन सकेको छैन । यसले पनि लगानीयोग्य पुँजीको अभाव हुन पुगेको हो । तेस्रो कुरा बन्ड मार्केटको विकास गर्नुपर्ने थियो । त्यो भयो भने देशको पैसा देशमै रहन्थ्यो । बन्ड मार्केट भयो भने फास्टट्र्याक, एयरपोर्ट छिटोछरितो रुपमा बनाउन सकिन्छ । 

लगानीयोग्य पुँजीको अभाव कसरी समस्या समाधान गर्न सकिन्छ जस्तो तपाईंलाई लागेको छ ?

सरकारी ढुकुटीमा रहेको रकम समय–समयमा खर्च गर्दा पनि यति ठूलो विकराल आउने थिएन । अर्को कुरा कर्मचारी संचय कोष, नागरिक लगानीकोष, बिमा कम्पनीलगायतसँग ठूलो रकम छ त्यो रकम लगानी गरेर पनि लगानीयोग्य पुँजीको अभावलाई केही कम गर्न सकिन्छ ।

लगानीयोग्य पुँजीले धेरै बैंकलाई समस्यामा पारेको छ । ऋण माग्न आउनेलाई ऋण दिन सकेका छैनन् भनिन्छ नि ?

सर्वसाधारणले राखेको पैसा दिनलाई केही समस्या छैन । तर, लगानीयोग्य रकम मात्र बैंकमा नभएको हो । एक सय रुपैयाँ निक्षेप गर्दा ८० रुपैयाँभन्दा बढी लगानी गर्न पाइँदैन । एक सय रुपैयाँमा २० रुपैयाँ त त्यत्तिकै थन्किने गरेको छ । प्रायः सबै बैंकको कर्जा पुँजी निक्षेप दर (सिसिडी रेसिया) ७९ प्रतिशत पुगेको छ । ८० प्रतिशत पुग्दा बित्तिकै नेपाल राष्ट्र बैंकले कारबाही गर्ने गर्छ ।

गत वर्षभन्दा यस वर्ष छिट्टै लगानीयोग्य पुँजीको अभाव बैंकले खेप्नु प-यो भनिन्छ । यसमा कत्तिको सत्यता छ ?

गत वर्ष पुसको १५ देखि मात्र लगानीयोग्य पुँजीको अभाव देखिएको थियो । तर, यो वर्ष असोजदेखि नै लगानीयोग्य पुँजीको अभाव देखिएको हो ।

के अहिले बैंक सानातिनो रकम पनि ऋण लगानी गर्न सक्ने अवस्थामा छैनन् ?

सानोतिनो रकम ऋणको रुपमा दिन सक्ने भए पनि ठूलो ऋण दिन सक्ने अवस्थामा बैंक छैनन् ।

लगानीयोग्य पुँजी अभावका सम्बन्धमा नियामक निकाय नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय त्यति धेरै चिन्तित नदेखिएको हो ? 

सिरियस नै छ । पछिल्लो समय अर्थमन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समस्या समाधानका लागि समिति गठन गरेको छ । समितिले लगानीयोग्य पुँजीको अभावबाट सिर्जना भएको समस्या समाधानका उपाय निकाल्ने अपेक्षा गरिएको छ । तरलताका कारण एउटा बैंकमा समस्या आयो भने त्यसले सम्पूर्ण बैंकिङ प्रणालीमै असर पार्ने गर्छ । सर्वसाधारणको बैंकप्रतिको नकारात्मक भावना पैदा हुन्छ । त्यसैले समस्या समाधानका उपायका बारेमा सबैले सोच्नु पर्छ । सरकारले पनि समय–समयमा ढुकुटीमा रहेको रकम खर्च गर्न सक्नुपर्छ । नीति नियम बाधक छन् भने त्यसलाई हटाउनु पर्छ । 

लगानीयोग्य रकम अभावमा पनि बैंकको नाफा त बढेको छ । यस्तो अवस्थामा पनि कसरी नाफा बढ्न पुग्छ ?

बैंकहरुले वर्षौंदेखि नै लगानी गरिरहेका हुन्छन् । बैंकले छोटो अवधि, मध्यम र दीर्घकालीन लगानी गरेका हुन्छन् । त्यस्तो लगानीबाट ब्याज आइरहन्छ र बैंकको नाफा हुने हो । तरलताको अभाव हुँदै जाने हो भने कर्जाको ब्याजदर पनि बढ्छ । कर्जाको ब्याजदर बढ्दै जाँदा ऋणीले तिर्न नसक्ने अवस्था आउन सक्छ । त्यसपछि बैंकको ऋण फस्ने र बैंकको खराब कर्जा बढ्ने गर्छ । बैंकले अघिल्लो वर्ष गरेको लगानीको केही अंश यस वर्ष, केही अर्को वर्ष गर्दै निरन्तर आइरहन्छ । लगानी गरेको रकमबाट निरन्तर ब्याज आइरहन्छ र त्यसले बैंकलाई नाफा दिन्छ । त्यसरी नआउने हो भने त बैंकको अवस्था नाजुक हुन्छ र हुनु स्वाभाविकै पनि हो । सन् २०१० मा बैंकिङ प्रणालीमै समस्या आएको थियो । सबै बैंकले घरजग्गामा लगानी गरेका थिए । घरजग्गामा गएको पैसा उठेको थिएन । त्यसले गर्दा बैंकको खराब कर्जा बढेको थियो । त्यसले समग्र अर्थतन्त्र नै समस्यामा पारेको थियो।

अहिले त त्यस्तो स्थिति आइपुगेको छैन नि ?

समग्र मुलुकको अर्थतन्त्र त स्वस्थ छैन । व्यापार घाटा बढेको छ । विदेशमा गएका नेपालीले पठाउने रकम रेमिट्यान्स नआउने हो भने नेपाल पनि जिम्बाबे जस्तै भइसक्थ्यो । धन्न रेमिटेन्सले देशको अर्थतन्त्र धानेको छ । वित्तीय संकट निम्तिबाट रेमिटेन्सले रोकेको छ ।

विदेशी वित्तीय संस्थाबाट ऋण लिएर लगानीयोग्य रकमको अभावको समस्या समाधान गर्ने पहलस्वरुप राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको ५० प्रतिशतसम्म विदेशी ऋण लिनका लागि सहज बाटो तयार गरिदिएको छ । यसले विदेशी रकम ल्याउन कत्तिको मद्दत गर्ला ?

केही बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन त सक्लान् । तर, त्यसरी ऋण लिँदा पनि देशको रेटिङ हुने हुँदा ल्याउन सजिलो छैन । अर्को कुरा त्यसरी ऋण ल्याउँदा त्यसको ब्याज महँगो पर्न जान्छ । त्यसरी ल्याएको रकम उनीहरुले भने अनुसारका क्षेत्रमा लगाउनुपर्ने हुन्छ । कुल २५ देखि ३० अर्ब त्यसरी ल्याउन सकिन्छ । 

शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजना सरकारले ल्याएको छ । यो कत्तिको व्यवहारिक छ ?

त्यस्तो ऋणमा जोखिम कसले बेहोर्ने भन्ने समस्या छ । कदम कदाचित ऋण डिफल्ट भयो भने त्यस्तो ऋण कसरी उठाउने भन्ने समस्या छ । बिमा पनि नहुने भएकाले त्यस्तो ऋण उठाउन सक्ने आधार बैंकसँग हुँदैन । शैक्षिक प्रमाण पत्र राखेर जो जसले ऋण माग्न आएपछि दिने भन्ने हुँदैन । सम्बन्धित क्षेत्रमा काम गर्दा रकम अभाव हुन गयो भने त बैंकले यसअघि पनि ऋण दिएकै छन् । आगामी दिनमा दिँदै जाने छन् । व्यवस्थापन पढेको मानिसले कृषि गर्छु भनेर ऋण माग्न आयो भने दिन सकिँदैन । किनकि उसले पढेको एउटा विषय छ, तर काम अर्को गर्छु भनेर भन्छ भने त ऋण दिन सक्ने अवस्था रहँदैन । 

माछापुच्छ्रे बैंकको वित्तीय अवस्था कस्तो छ ? 

माछापुच्छ्रे बैंकका सबै सूचक सकारात्मक छन् । बैंकले गत वर्षभन्दा चालु आर्थिक वर्षको तीन महिनामा ४८ प्रतिशतले नाफा वृद्धि गरेको छ । खराब कर्जा ०.५ प्रतिशतभन्दा कम छ । संस्थागत डिपोजिट ३५ प्रतिशत मात्र छ । व्यक्तिगत निक्षेप ६५ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले संस्थागत डिपोजिट ४५ प्रतिशतभन्दा बढी हुन नहुने भनेको छ । त्यो मापदण्डभन्दा हामी निकै तल छौँ । बैंकको वित्तीय स्वास्थ्य स्थिति राम्रो छ । बैंकका सबै कर्मचारीको प्रयत्नले यस्तो स्थितिमा पुग्न सकेका हौं ।

अहिलेको सेयर बजारलाई कसरी हेर्नुभएको छ ? 

केही समयअघि धेरै सञ्चारमाध्यममा आयो अर्थमन्त्रीले भनेको कुराले बजार घट्न पुग्यो भनेर । तर मलाई लाग्दैन त्यस्तो । सेयर बजार मूल्यलाई धेरै चिजले असर गर्छ । त्यसमा सबैभन्दा बढी बजारको ब्याजदरले । यदि व्यक्तिले बैंकमा निक्षेप गर्दा १२ प्रतिशत ब्याज पाउँछ । तर, त्यही पैसाबाट सेयरमा लगाउँदा ६ प्रतिशत मात्र आम्दानी हुन्छ भने किन सेयरमा लगाउने । उदाहरणका लागि तीन सयमा किनेको सेयरबाट १८ प्रतिशत प्रतिफल मात्रै प्राप्त ग¥यो भने पनि उसले पाउने भनेकै ६ प्रतिशत हुन आउँछ । यस्तो अवस्थामा कसले सेयर किन्छ र ? सेयरबाट भन्दा बैंक ब्याजबाट बढी फाइदा हुन्छ भने सबैले सेयर बेचेर बैंकमा डिपोजिट गर्न चाहन्छ । जसले सेयरको आपूर्ति बढ्छ र मूल्य घट्छ । 

नेपाली बैंकहरुले सम्पत्ति राखेर धितोमा ऋण दिने गरेका छन् । तर, विदेशमा त ऋण लिनका लागि सम्पत्ति धितो राख्नु पर्दैन भनिन्छ । नेपालमा पनि विनाधितो ऋण दिन सकिँदैन ? 

यहाँ विश्वसनीयताको कमी छ नि त । तर, विदेशमा विश्वसनीयता बढी छ । त्यसैले गर्दा धितो राख्नु परेको हो । हामीले पनि जलविद्युत आयोजना निर्माण गर्ने व्यक्तिलाई विनाधितो ऋण दिने गरेका छौं । आयोजनालाई हेरेर ऋण दिने हो कि व्यक्तिलाई । निकोन एयर डुब्यो । त्यसरी डुबेपछि कसले ऋण तिर्ने त ? यस्ता समस्या आउँछन् । त्यही भएर सम्पत्ति धितो राखेर ऋण दिन बाध्य हुनु परेको हो । यहाँ पारदर्शिताको कमी भएकै कारण विनाधितो ऋण दिन नसकिएको हो ।

सिइओहरु निकै व्यस्त हुन्छन् । परिवारबाट समय नपाएको गुनासो पनि त त्यत्तिकै आउँछ होला नि ?

परिवारलाई पनि कति व्यस्त हुन्छन् भन्ने थाहा हुन्छ । त्यसो भएकाले त्यति धेरै गुनासो आउँदैनन् । कहिले महत्वपूर्ण कार्यक्रम हुँदा भने समय निकाल्नु पर्छ है भन्ने कुरा बारम्बार दोहोरी रहन्छ । त्यसबेलामा भने समय व्यवस्थापन गर्न निकै कठिन हुन्छ । 

समय तालिका कसरी मिलाउनु हुन्छ ? 

बिहान ५ः३० बजे उठ्छु । त्यसपछि व्यायाम गर्छु । सामान्यतया ९ः५० तिर अफिस पुग्छु । दिनभर काम, मिटिङ र भेटघाटमा बित्छ । बेलुका ७ः३० बजेतिर घर आइपुग्छु । 

घर परिवारमा को को हुनुहुन्छ ?

परिवारमा बुबा, आमा, श्रीमती, छोरा छन् । बुबा फूलप्रसाद शर्मा, आमा शारदा शर्मा, श्रीमती दीपिका शर्मा र छोरा विभोर शर्मा छन् । श्रीमतीले अर्थशास्त्र पढाउँछिन् । छोरा सप्टवेयर इन्जिनियर हो ।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad