निबन्ध

सन्दिग्ध वर्तमान

शनिबार, २८ पुष २०७५, ११ : २२ नागरिक

लक्ष्मी घिमिरे
म भूतसँग पहिले नै डराउन छाडेकी हुँ। त्यसैले अहिले मलाई वर्तमानसँग निकै डर लाग्छ। म वर्तमानसँग डराउँछु, भूतसँग होइन। म जिउँदा, जाग्दा, सभ्य र भव्य भनिने पुरुष मान्छेहरूसँग डराउँछु। निष्पट्ट रातमा त के दिनदहाडै घरबाहिर हिँड्न पनि डर लाग्छ अचेल मलाई।

म सानी थिएँ। सबैकी प्यारी थिएँ, आँखाकी नानी थिएँ। न कुनै कुराको दुःख थियो न चिन्ता। न हर्ष न बिस्मात ! त्यसैले भूत, वर्तमान र भविष्य तीनैप्रति म निश्चिन्त थिएँ। अचेल बेलाबेलामा मेरो मानसपटलमा ती दिन ताजा तस्बिर बनेर सलबलाइरहन्छन्। महसुस गर्दैछु म फूलबारीमा रमाइरहेको पुतलीजस्तै आनन्दित रहेछु। झलझली सम्झन्छु ती दिन– आहा ! दाङको रामपुर गाविस–१ निमुरियामा बितेको मेरो त्यो लोभलाग्दो बाल्यकाल !

संयुक्त परिवारमा हुर्कदै गरेकी मलाई बाहिरी साथीसंगीको खासै आवश्यकता थिएन। हजुरबुबा, हजुरआमा, बुबा, आमा, काका, काकी, सानो काका, काकाकी छोरी अर्थात् मेरी बहिनी र म गरी परिवारमा नौ जना थियौँ। हामी दिदीबहिनी हजुरबुबा–हजुरआमाको लाडप्यारमा हुर्कंदै थियौंँ। सातजना अभिभावकको काखमा रमाउँदै हाम्रो बालापन सुखपूर्वक अघि बढिरह्यो।

बहिनी र मेरो उमेरमा ६ महिना अन्तर थियो। ऊ मेरी खेल्ने साथी थिई। घरमा प्रशस्त खेल्ने सामग्री थिए– गुच्चा, गेदा, डोरी, भकुन्डो, लुडो, चेस, ब्याडमिन्टन, क्यारामबोर्ड र रिङ। हामी ती खेल्ने कुरामै रमाउँथ्यौँ। कतिखेर उज्यालो हुन्थ्यो, कतिबेला रात पथ्र्यो पत्तै पाउँदैनथ्यौँ। अभिभावक पनि हाम्रा हरेक आवश्यकता र चाहना सबै पूरा गरिदिनुहुन्थ्यो। पहिलोपल्ट बुबाले कालोपाटी र चक ल्याएर मलाई लेख्न सिकाउनुभएको दिन सम्झँदा अहिले पनि मन फुरुंग हुन्छ।

बुबा बिहान आठै बजे कार्यालय जानुहुन्थ्यो। आमालाई प्रायः बिहान घरमा देख्दैनथेँ। उहाँ सबेरैदेखि बाहिरको काममा व्यस्त हुनुहुन्थ्यो। भान्छा हजुरआमाले सम्हाल्नुहुन्थ्यो। बिहानबेलुका म बुबासँगै हुन्थेँ। कार्यालयबाट फर्केपछि मलाई र बहिनीलाई बुबाले पढ्नलेख्न सिकाउनुहुन्थ्यो। एवंरीतले हामी दिदीबहिनीको दैनिकी बितिरहेको थियो। हामी खेल्दै कहिले पर खोलासम्म पुग्थ्यौं। कहिले नजिकैको बुट्यानमा गएर लुकामारी खेल्थ्यौँ। हामीलाई डर लाग्दैनथ्यो। घरबाहिर भेटिएका सबै व्यक्ति दाजु, बुबा, काका, मामा जस्ता लाग्थे, आदरणीय थिए। सबैको स्नेह र मायामा हुर्कियौँ हामी।

केही समयपछि पहाडबाट एउटा परिवार बसाइँ सरेर हाम्रो छिमेकी बन्न आयो। त्यो परिवारसँग हाम्रो परिवारको हेलमेल हुन थाल्यो। परिवारमा मेरै उमेरकी छोरी थिइन्– शान्ति। हाम्रै उमेरकी उनका लागि नयाँ ठाउँ थियो। उनलाई मजस्तै खेल्ने साथी आवश्यक रहेछ। हामी दिदीबहिनी पनि घरपरिवारभन्दा बाहिरको व्यक्तिलाई संगी बनाउन चाहन्थ्यौँ। बिस्तारै शान्ति र हामी एकअर्काप्रति आकर्षित भयौंँ। हामी दुईबाट तीन भयौँ खेल्ने साथी। रमाइलो संसार थप रमाइलो हुन थाल्यो।

शान्ति हजुरआमासितै बस्थिन्, खेल्थिन् र रमाउँथिन्। उहाँलाई उनी आमा भन्थिन्। उनको बाबा रोजगारीको सिलसिलामा बाहिर हुनुहुन्थ्यो भने मामुलाई हामीले कहिल्यै देखेनौँ। मैले उनको मामुका बारेमा सोध्ने कुरा उठाइनँ। किनकि त्यो मेरो सरोकारको विषय बनेन। हामी मात्र होइन, बिस्तारै हाम्री हजुरआमा र शान्तिकी हजुरआमा पनि साथी बन्नुभयो। अब शान्ति पनि नियमित रूपमा हाम्रो घरमा आइरहन थालिन्।

सधैंझैँ एक दिन शान्ति हजुरआमासँग हाम्रो घरमा आइन्। म, बहिनी र शान्ति खेल्न थाल्यौँ। शान्तिकी हजुरआमा कतिबेला जानुभयो हामीलाई पत्तै भएन। एकछिनपछि मेरी हजुरआमाले शान्तिलाई सम्झाउँदै भन्नुभयो, ‘नानी ! तिमी आज हामीसँगै बस है। तिम्री हजुरआमा कामले पहाडतिर जानुभएको छ।’ शान्तिले एक सासमा ‘हुन्छ’ भनी। ऊ हाम्रोमा बस्ने कुराले खुसी देखिई। म र बहिनी त सधैं हजुरआमासँग सुत्थ्यौँ। आज हाम्री सहेली पनि थपिएकी थिई। हामी निकै दङदास भयौँ। खाईपिई बिछ्यौनामा पुग्दानपुग्दै निदाउने बानी थियो मेरो। तर त्यो दिन निदाउनै सकिनँ। हजुरआमाले सुनकेस्रा मैयाको कथा सुनाउनुभयो तर पनि निद्रा आएन।

शान्तिले एक्कासि भूतको कुरा उठाई। हजुरआमा उसको कुरा सुनेर हाँस्नुभयो। म त डरले लल्याक्लुलुक भएँ। हजुरआमाले भूत हुँदैन भनेर सम्झाउनुभयो। ऊ झन् जोडतोडले भूतको कुरा गर्न थाली। उसको पहाड घरमा भूत छ रे ! रातिराति आउँछ रे ! भूतले सातो लगेर उसकी मामुको मृत्यु भएको रे ! त्यही भूतसँग डराएर उनीहरू मधेस झरेका रे ! उसले सारा कुरा एक सासमा भनी। म डराएर हजुरआमाको काखमा टाँसिन पुगेँ। कति बेला निदाएँ पत्तो भएन। ब्युँझिँदा हजुरआमा घरधन्दामा लागिसक्नुभएको थियो। भूतको कुराले डराएर म पिसाब फेर्न जान पनि सकिनँ। शान्ति नै साथी गइदिई। त्यस दिनपछि म भूतसँग निकै डराउन थालेँ। काल्पनिक भूत मेरो मन मस्तिष्कभरि सलबलाउन थाल्यो। अँध्यारोमा बाहिर झुम्प परेको रूख देख्दा पनि म भूतको आशङ्काले तर्सन्थेँ। रातिको समयमा चोटाकोठामा पस्न डर लाग्न थाल्यो। बुबाले भूत हुँदैन भनेर धेरै सम्झाउनुभयो। तर मेरो बालमस्तिष्कमा भूतको छाप गडिरह्यो। म भूत शब्दबाट निकै डराउन थालेँ।

दिन, महिना, ऋतु र वर्षसँगै मानिसका सोचाइ र धारणा पनि अचम्मसँग फेरिँदा रहेछन्। उच्चशिक्षाका लागि एक्लै काठमाडौं छिर्दा मलाई बिस्तारै भूतसँग डर लाग्न छाड्यो। जिन्दगीको शिखर चुम्न अभिलाषा बोकेकी ममा जस्तोसुकै चट्टानी अवरोधलाई पनि चिर्न सक्ने सामथ्र्य उत्पन्न भयो भने त्यस्ता अदृश्य भूत भगाउने साहस जन्मियो। त्यसैले अहिले मलाई भूतसँग पटक्कै डर लाग्दैन। ममात्र होइन, अचेल मेरा सन्तान पनि भूतसँग अभ्यस्त भइसकेका छन्, उनीहरू डराउँदैनन्।

घरको ल्यापटपमा चार–छ ओटा भूतका फिल्म छन्, कैयन् कमेडीहरू छन्। ती सबै मेरी छोरीका इच्छाअनुसार राखिएका हुन्। मलाई मेरी छोरीको बहादुरी देखेर गर्व लाग्छ। ऊ रमाईरमाई भूतको फिल्म र कमेडी हेर्छे। सानो छोरोचाहिँ अलि डराउँछ। तर पनि ऊ साहस बटुलेर हेर्न खोज्छ। डर लाग्यो भने दिदीको पछाडि मुन्टो लुकाउँछ तर चियाउन छोड्दैन। उसले त्यहाँबाट मनोरञ्जन लिइरहेको हुन्छ। म छोराको यस्तो क्रियाकलाप सहज रूपमा लिन्छु। मलाई विश्वास छ– उसमा पनि समयक्रमसँगैै मलाई जस्तै परिवर्तन आउनेछ, निडर र निर्भीक बनेर सफल जीवनको उचाइ प्राप्त गर्नेछ।

विगत केही दशकदेखि म भूतसँग डराउन छाडेकी हुँ। अहिले मलाई वर्तमानसँग निकै डर लाग्छ। म वर्तमानसँग डराउँछु, भूतसँग होइन। म जिउँदा, जाग्दा, सभ्य र भव्य भनिने पुरुष मान्छेहरूसँग डराउँछु। रातमा त के दिनदहाडै घरबाहिर हिँड्न पनि डर लाग्छ अचेल मलाई। परचक्री वा अज्ञात त के हाडनाता र आफन्तबाटै डराउँछ मेरो मन। वर्तमानका प्रत्येक सिँढीमा म सावधानीपूर्वक बिस्तारै पाइला राख्न खोज्छु। तथापि मेरो मनको कुनाबाट डर भाग्दैभाग्दैन। घरपरिवार, गाउँ, टोल, छिमेक, कार्यालय चारैतिर म पटकपटक भयभीत रहन्छु। म डराउँछु पाइलैपिच्छे। त्यसैले मलाई मेरो वर्र्तमान सन्दिग्ध लाग्छ।

साना नानी हुन् वा युवती। अधबैंसे हुन् वा हुन् प्रौढ महिला र वृद्वा यहाँ चिमोटिएका छन्, निमोठिएका छन्, उनीहरूको अस्मिता दिनहुँ लुटिइरहेको छ। नारीको इज्जत लुटिएका र हत्या भएका विषयमा लेखिएका अखबारका भँगेरे टाउके समाचार शीर्षकहरू म हेरिरहन्छु टोलाएर। ती अक्षर देख्दा मलाई रिस उठ्छ, धुजाधुजा पारिदिन मन लाग्छ। यस्तै न्यायको याचना गर्दै सडकमा सुतेका तस्बिर मस्तिष्कमा आइरहन्छन्। म झन् झस्कन्छु वर्तमानसँग। मलाई कहाली लाग्छ। एकैपटक हजारौं बिच्छीले डसेको अनुभव हुन्छ। म धुवाँको मुस्लोमा निसास्सिँदै रोइरहेको महसुस गर्छु। सहायताका लागि याचना गर्दछु। अहँ कतैबाट पनि मेरो पुकार सुन्ने प्रयास गरिँदैन। म झन् निरूपाय भई एक्लो महसुस गर्न थाल्छु।   आफू नेपालकी छोरी भएकामा गर्व गर्ने तागत एक्कासि शिथिल हुन्छ। म पसिनाले निथ्रुक्क हुन्छु।

कक्षाकोठामा पढाइरहँदा हरेक किशोरीको अनुहारमा न्याय पाउन नसकेकी निर्मला पन्त देख्छु। ती किशोरीको भविष्य सम्झँदा झन्–झन् अत्यास लाग्छ मलाई। न्यायको याचना गर्दै पोलपोलमा झुन्डिएका निर्मलाको तस्बिरले मानवतालाई नै गिज्याइरहेको आभास हुन्छ। मानवअधिकार, बालअधिकार, महिला अधिकार जस्ता शब्द कमाइखाने भाँडो बन्दै गएकोमा मलाई ग्लानि हुन्छ।

यस्तो भयभीत वातावरणमा कसरी म आफूलाई सुरक्षित गरूँ ? आफैं बेलाबेला असुरक्षित पो छु कि भन्ने चिन्ताले मन भतभत पोल्न थाल्छ। अनि कसरी मजस्ता असंख्य नारीहरूको सहयोगमा जुट्न सकूँला ? मैले कसरी छोरीको अस्मिताको रक्षा गर्न सकूँला ? कसरी नेपाल आमाका समग्र छोरीहरूको अस्तित्व जोगाऊँला ? यस्ता अनेकौं प्रश्नको उत्तर मसँग छँदैछैन, सायद तपाईंसँग पनि छैन होला। त्यसैले म त्रास र आशंकाले मर्माहत हुन्छु। वर्तमानको कहालीलाग्दो परिवेश देख्दा किशारीहरूको भविष्यप्रति झन् विक्षिप्त हुन पुग्छु। कसरी मैले मेरी छोरीको भविष्य सुनिश्चित गरूँ ? कसरी म मेरा किशोरी चेलीहरूको अस्मिता जोगाऔँ। म कसरी भतिजी, भान्जी, बहिनी, दिदीलगायत लाखौंलाख महिलाको सहयोगार्थ जुटूँ ? म गम्भीर सोचमा हुन्छु चौबिसै घन्टा।

म मेरी छोरीमा देखिँदै गरेको शारीरिक परिवर्तनले डराउन थाल्छु। डरको बीचमै म उसमा मानसिक वा भनौं बौद्धिक परिवर्तनको अपेक्षा यति धेरै गरेकी छु, ऊ स्वयम् तरबार र ढाल भएर उभिन सकोस्। ऊ बलियो खम्बा बनोस्। यतिमात्र होइन म अचेल पटकपटक अदृश्य शक्तिलाई पुकारिरहेकी छु। हरेक नेपाली छोरीहरूमा डर, त्रास भागोस्। निडर, सहास, आँट भरियोस्। जीवनका हरेक मोडमा चाहिने पुरुषत्व हिंस्रक रूपमा परिणत नहोस्। म बारम्बार भगवान् पुकारिरहेकी छु– मेरो, मेरा किशोरी छात्राहरूको, छोरीहरूको र सम्पूर्ण नेपाली चेलीहरूको इज्जत रक्षाका लागि।
(हाल भण्डारा मावि, चितवन)







यसमा तपाईको मत


अन्य समाचार

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...