coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कृष्णभूषणको लाटो सूर्य

कवितामय बनेको छ देश। पोखरामा नेपाल लिटरेचर फेस्टीभलको अन्तिम सेसनमा कविता वाचन भइरहँदा सबैका कविताप्रेमि उत्सुक थिए। आधुनिक नेपाली कविताको ‘ट्रण्ड’ कहाँ पुग्यो भन्ने देखियो त्यहाँ। फिल्ममा आइटम गीतको बोलवाला भए जस्तै कवितामा पनि आइटम कविताको प्रवेश भएकै हो त ? के तिनले सिंगो देशको प्रतिनिधित्व गरे त ? समयले नै दिनेछ जवाफ।  

जब कविताप्रति धेरै कर्म हुन्छन तब म सम्झिन्छु साहित्य साधक कृष्णभूषण बललाई। हुन त कविता भन्ने बित्तिकै देवकोटा, सम, रिमाल, भूपि, पारिजात नसम्झने को होला ! जोसँग संगत पाइयो उसैलाई सम्झिन्छ यो मन। आफैंमा सिंगो कविता थिए बल दाई। शेक्सपियरले भने झैं संसार एउटा रङ्गमञ्च हो र हामी यहाँका पात्र। हामी विभिन्न भूमिका निर्वाह गर्न धर्तिमा आएका। निश्चित समय भूमिका निर्वाह गरेर हामी बिदा लिन्छौ। कृष्णभूषण पनि विभिन्न भूमिका निर्वाह गर्दागर्दै संसारबाट बिदा भए। जब म कविताप्रति जिम्मेवारी महशुस गर्छु  तब उनप्रति नतमस्तक हुन्छु।

बल दाइका केटाकेटी साथीहरुले उनलार्य गम्भीर बालकका रुपमा चिने होलान ! दौँतरीहरुले अर्कै प्रकारले बुझे होलान ! अग्रजहरुले जिम्मेबार कवि माने होलान !  शोभा भाउजूले चिनेका बल दाइ बेग्लै थिए होलान ! हामी भने उनलाइ असल साथी, जिम्मेवार कवि, अभिभावक या कविता लेखनमा कुनै पनि हालतमा सम्झौता नगर्ने साधकका रूपमा चिन्थ्यौं। जब उनी कविताको शक्ति बोकेर वाणी प्रकाशनको अध्यक्ष भएर हिँड्दै थिए बिराटनगरमा त्यसैबेला उनको सङ्गत गर्न पायौं हामीले। हामी उनका अनुज, शिष्य पुस्ता हौं भन्दा गर्ब लाग्छ।  

आज नयाँ पुस्तालाई हौस्याउने कृष्णभूषण बल जस्ता अगुवा नपाएर हो कि या गुट उपगुटमा पुरानो पुस्ता बाँडिएर विराटनगरनमा नयाँ पुस्ता अन्योलमा छन् ! यहाँ कृष्णभूषण जस्ता द्रोणाचार्यको खाँचो छ जसले तमाम अर्जुन र एकलब्यहरूलाई समान रुपले हेरुन् न कि एकलव्यहरुको औला काटेर गुरु दक्षिणा मागून्।

मान्छेको जीवन त क्षणभङ्गुर छ र कविलाई अमर राख्ने भनेकै उसका रचनाले हो। आइए, बीए हुँदै एमएसम्म आधुनिक कविताको विकासक्रममा उनको नाम पटकपटक पढिँदै आएको थियो। उनका फाटफुट रचना बाहेक सङ्ग्रह पढेको थिइनँ। समयको छाल सँग हेलिंदै जब म बिराटनगर आइपुगें तब भेट भयो बल दाइसँग। साथी सविता गौतम दाहालले दाइको सङ्ग्रह ‘भोलि बास्ने बिहान’ पढन दिइन्। त्यसबाट साह्रै प्रभावित भएँ।

वाणी प्रकाशनमा पाक्षीक कविता गोष्ठी हुन्थ्यो। हाम्रो सौभाग्य थियो बल दाइका अगाडि कविता सुनाउन पाउनु। सामाजिक, राजनैतिक चेतलाई कलाले छपक्क छोपेर कसरी व्यक्त गर्न सकिन्छ त्यो बल दाइका कविताले देखाउँथे। ‘पर्खनु पर्छ’ कविता त्यसैको ज्वलन्त उदाहरण हो।

गोष्ठीमा थुप्रै नयाँ, पुराना कविको जमघट हुन्थ्यो। चानचुने कुरा थिएन बल दाइलाई कविता सुनाएर खुशी पार्न। जब म सवितासँग कविता सुनाउन गएँ, मन अलि अलि प्रफुल्लित थियो। बल दाइलाइ भेटने सपना पूरा हुँदै थियो भने उहाँको संरक्षकत्वमा कविता पढन पाउने रोमाञ्चकता पनि थियो। सविताले दाइसँग चिनजान गराइ दिइ। मैले अभिवादन गरें, बल दाइ सारै खुशी भएनन्। मोटो शरीर, कालो कालो मुहार मान्छे देख्दा सारै खुशी भइ हाल्ने अनुहार चाहिँ होइन। पछि थाहा पाए दाइलाई खुशी पार्न र अनुहारमा ज्योती ल्याउन सुन्दर कविता सुनाउनु पर्ने रहेछ। ‘कविता ल्याएको छ हैन सुनाउनु पर्छ।’

मेरो पालो आयो, हात थरथर काँपिरहेका थिए। हातमा बोकेका कविताको पाना पनि काँपिरहेको थियो। आवाज आधी घाँटी भित्र थियो आधी बाहिर। कतिखेर कविता पढिसकेछु। ताली बजेपछि स्टेजबाट ओर्लें। मुटुको धड्कन बढेको थियो। कार्यक्रम सकिएपछि बल दाइले भने, ‘कवित्व चेत छ, मञ्च कविता भयो, अब कला कविता लेख्नुपर्छ।’

बल्ल मन शान्त भयो। वाणी प्रकाशन जाने क्रम बाक्लियो। पहिला झट्ट देख्दा डर लाग्ने भूषण दाइको अनुज, शिष्यहरु प्रतिको प्रेम देखेर हराउँदै गयो डर। जबदेखि भूषण दाइको संगत भयो तब थाहा पाएँ जीवनमा कविता लेखन पनि एउटा साधना हो र आफुले समाज, राष्ट्रप्रति जिम्मेवार भएर लेख्नु पर्छ भन्ने। मनका भावना कापिमा उतार्दैमा कविता नहुने रहेछ !

भूषण दाइ बिराटनगरमा भएका बेला आफैं बसेर कविता बाचन गराउँथे। हाम्रा कविता सुनेर आफैं उत्साहित हुन्थे। जब हामी कविता बोकेर वाणी जान्थ्यौ, बल दाइले बाचनभन्दा पहिले हाम्रा कविता हेर्थे। हामी डराई डराई देखाउँथ्यौ, कतै गाली खाने पो हो कि भनेर। कहिले पास हुन्थ्यौ कहिले फेरी परीक्षा दिनु पथ्र्यो। कहिले स्याबासीको उज्यालो अनुहारमा ल्याएर भन्थे, ‘हो यस्तो कविता नयाँ पुस्ताले लेखे भने अब मैले कविता किन लेख्नु पर्‍यो !’

बल दाइका यस्ता प्रतिक्रिया सुन्दा गद्गद् हुन्थ्यो मन। हावामा बतासिन्थ्यो र थप उर्जा भरिएर आउँथ्यो किनभने बल दाइ झट्टै प्रशंसा गर्ने कवि होइन अनि झुटो प्रशंसा पनि। त्यसबेला बल दाइसँगै, कवि विवश पोख्रेल, नारायण तिवारी दाइले हामीलाई हौस्याउँथे। इटहरीबाट कवि मनु मञ्जिल, विराटनगरबाट मधु पोखरेल, ज्योति जङ्गल, सविता गौतम, जयन्ता पोख्रेल, गण्डकी पुत्र, राधीका गुरागाई, गोकुल अधिकारी, सुमन पोख्रेल, दीपा अविरल, मिन कुमार नवोदीत, सीमा आभाष, रमेश शायन, बोनम प्रताप, चुडामणि नेपाल आदि कविहरुको बाक्लो उपस्थिति हुन्थ्यो।

दाइको स्कुलिङबाट आएकाले माथिका कविहरुले कवितामाथि खेलवाड गरेको मैले कहिल्यै देखिँन। कुनै दिन कविता जमेन या ऊर्जा थपिएन भने बल दाइ आफैं कविता वाचन गर्थे। त्यतिबेला सबैको अनुहार धपक्कै बल्थ्यो। विराटनगर बाहिरका कार्यक्रममा बल दाइसँग थुप्रै चोटी जाने अवसर प्राप्त भयो। उर्लावारीका कवि मायामितु न्यौपाने र अरु साथीहरुले मातातीर्थ औंशीका दिन ‘कवितामा आमा’ शीर्षक  राखेर गुम्बामा कार्यक्रम राखेका थिए। बल दाइ प्रमुख अतिथि र हामीलाई कविता वाचन गर्न निम्तो थियो र शोभा भाउजु पनि सँगै। दाइको एउटा खुबी थियो जहाँ पनि समयमा पुग्ने। कार्यक्रम शुरु हुन एकछिन ढिला हुने भयो, ‘हिँड लु माथी गुम्बा दर्शन गर्न आज मातातिर्थ आँैशी पनि हो’ भने दाइले। भाउजु र म आज्ञाकारी बच्चा जस्तै लुरुलुरु पछि लाग्यौ।

निुहुँरेर ढोगें गुम्बामा, मज्जाले हासे बल दाइ। म छक्क परेर उभिएँ। ‘हामी लामाहरुको त निहुरेर होइन हात माथी उठाएर ठाडो पारेर ढोग्नु पर्छ’ भने उनले। मैले फेरी त्यसै गरें। पितृहरुको संझनामा सबैले बत्ती बाल्यौं। गुम्बामा पूजा अर्चनाले गर्दा शान्ति झल्किरहेको थियो दाइ भाउजुको अनुहारमा। मैले त्यस्तै महशुस गरें।

सम्पूर्ण शरीर सुगन्धमय भइरहेको थियो अष्टगन्धले। शरीरमा एक प्रकारको धुन बनेर कानहरुमा आनन्दको झंकार झन्किरहेको थियो। ॐ, ॐ, ॐ को अदृश्य झंकारले झुमिरहेको थियो मन। लामाहरुको ॐ मणि पद्यमे हुँको मन्त्र गुन्जयमान थियो। त्यसदिन आमाको बिषयमा लेखिएका सृजना सुन्यौं, सुनायौं। भावुक भयौं हामी।  सानैमा आमाको स्नेहबाट वञ्चित बल दाइका आँखा पनि रसिला भए। ति आँखाबाट मोतिका दाना खस्न खोज्दै थिए।

साँच्चै देशलाई मुटुमा बोकेर हिँड्ने बल दाइको आत्मामा इलाम बसेको थियो। अझ भनौ इलामको बाल्यकालभित्र लुकेका थिए दुःख, अभाव, पीडा अनि सुन्दर कविता। यतिविघ्न कविताप्रति प्रेम गरेको देख्न सकिन्थ्यो बल दाइलाई। कहिलेकाहिँ दाइ सारै रिसाएर अनुहारमा बादल भरेर बस्थे। पछि थाहा हुन्थ्यो कारण। कसैले सारै खराब कविता वाचन गर्‍यो भने उनको मुड बिग्रन्थ्यो। जसरी कालिगढले सुनलाई पिटीपिटी गहना बनाउँछ त्यसैगरी बलदाइ नयाँ कविका रचना  सुनेर काँट छाँट गर्न लगाएर सुझाव दिन्थे।

दाइसँग यात्रा गर्दा शरीरमा उर्जा भरिएर आउँथ्यो। एकदिन बिर्तामोडको कार्यक्रम सकेर फर्किदै थियौं विराटनगरतिर। हामी पूर्वबाट पश्चिम दिशातिर हुइँकिइरहेका थियौं। अस्ताउन आँटेको घाम प्रष्टै देखिन्थ्यो। घरी हामीलाई छोइहाल्ला जस्तो गथ्र्यो, घरी लुक्थ्यो। एकठाउँमा सिधा परेछ बाटो। हाम्रो सामुन्ने ठूलो गोलो रातो सूर्य हिँडिरहेको थियो। हाम्रो अगाडि अगाडि हामीलाई बाटो देखाउँदै।बल दाइले देखाए त्यतै–त्यो घाम हेर्नु त। अस्ताउन आँटेको सूर्य गजब देखियो। मनमनै सोचें के भन्न खोजेका होलान् दाइले। अस्ताउन आँटेको रातो घाम सधैं हेरिरहुँ जस्तो लाग्छ। हिजो पनि अस्ताएको थियो, आज पनि अस्ताउँछ।  प्रकृतिको नियम हो। फेरी बल दाइ बोले, ‘त्यो रङ्ग हेर्नु त घामको कस्तो रातो र गोलो राम्रो छ। अस्ताउन आँटेको घाम गोलो, रातो र लाटो हुन्छ अलि अलि। अब चित्रकारले विहानीको चित्रमा यस्तो घामको चित्र बनायो भने कस्तो हुन्छ।’ आश्चर्यमा पर्दै थियौ, हामी दाइले के भन्न खोजका होलान ! फेरी बोले बल दाइ, ‘बिहानको घाम अलि अलि पहेंलो, चारैतिर आभा फ्याँकिरहेका किरणहरु, झनझन झझलाकार उज्यालो हुन्छ। फेरी यस्तोमा चित्रकारले बिहानको दृश्यमा बेलुकाको घाम र बेलुकाकोमा बिहानको घाम बनायो भने कस्तो हुन्छ। हो, नमिलेको कविता पनि यस्तै हुन्छ। सलल बग्दैन दाँतमा ढुँगा लागे जस्तो हुन्छ।’

म त छक्क परें र भनें, ‘दाइ कविताको परिभाषा पनि यही होइन र ?’ उनी फिस्स हासे मात्रै। हो नि कसैको कविता त हुन्छ तर यस्तै घाम जस्तै नमिलेको, तर मिलायो भने मिल्छ है फेरी।

बल दाइको कविता प्रतिको बिम्बात्मक धारणा सुनियो त्यस दिन। अहिले पनि जबजब अस्ताउन आँटेको रातो घाम देख्छु, सम्झिन्छु दाइलाई। बल दाइले भने जस्तो रङ्ग मिलेका कविता त कहाँ लेख्न सकिएला र, कोशिस सम्म गर्ने न हो। वैज्ञानिक चाल्र्स डार्विनले भनेका थिए, ‘मैले जीवनमा जीउने अर्को मौका पाउने भए सबैले हरेक हप्ता कम्तीमा पनि एकपटक कविता पढ्ने अथवा गीत सुन्नुपर्ने नियम बनाउँथे।’ भूषण दाइ पनि कविता र गीतलाई उत्तिकै माया गर्थे र यस्तै नियम बनाउने की ?

बल दाइको अबसान (०६९ असार ११ गते ) सँगै कविता पनि कतै समाधिस्त बसेको त छैन ? निदाएको त छैन ? यसबेला विराटनगर आफ्नै इतिहास बनाउँदैछ कविताको। तर बलको अनुपस्थितिमा खै यहाँ कविताको नयाँ पुस्ता ? हामी पुरानै शैली बोकेर आत्मरतीमा रमाउँदै पो छौ कि ? सम र देवकोटाले कविता लेखेर सकेका भए भूपि, रिमाल, पारिजात किन चाहिन्थ्यो। वैरागी काँइला, इश्वर बल्लभ, बल, अशेष मल्ल, दिनेश अधिकारी र श्यामलहरु किन चाहिन्थ्यो।

आज कवि पुस्तालाई हौस्याउने बल दाइ जस्ता अगुवा नपाएर हो कि या गुट उपगुटमा पुरानो पुस्ता बाँडिएर विराटनठरमा नयाँ कवि अन्योलमा छन् ! यहाँ कृष्णभुषण बल जस्ता द्रोणाचार्यको खाँचो छ जसले तमाम अर्जुन र एकलब्यहरूलाई समान रुपले हेरुन् न कि एकलव्यहरुको औला काटेर गुरु दक्षिणा मागून्। 

प्रकाशित: २८ पुस २०७५ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App