संस्कृति

उत्तरगया बचाउने संघर्ष

शनिबार, २८ पुष २०७५, ०९ : ०७ दीपेन्द्रसिंह थापा

758


वारि नुवाकोट वेत्रावती, पारि रसुवा वेत्रावती। दुई जिल्लाको सिमाना मात्र छुट्टयाउँदैन वेत्रावतीले, दुवै तर्फका केही भूभागलाई यही नामले चिनाउँछ पनि। यति मात्र होइन वेत्रावतीको परिचय। सांस्कृतिक चिनारीको अलग्गै उचाइ छ यसको।  

वेत्रावतीलाई पवित्र उत्तरगया धामका रूपमा पुराणकालदेखि नै चिनिँदै आएको छ। तीन नदीको सङ्गमस्थल पर्छ यहाँ। भैरवकुण्डबाट बग्ने रुद्रगंगा, गोसाईकुण्डबाट बग्ने त्रिशूली र महादेवले वेत्र अर्थात् बेतको लट्ठीले कोपेर निकालिएको भनिएको वेत्रगंगा यहीँ जोडिन्छ। विसं २०१९ मा दुई ठूला नदीको बाढीको चपेटामा परी पुरिएको वेत्रगंगालाई विसं  २०४८ मा योगी नरहरिनाथले उत्खनन गराए पनि त्यसपछिको बाढीले अदृश्य गराएको छ र जमिन मुनिबाट मात्र त्यस स्थानमा जोडिएको छ। वेत्रगंगाको पानी केही फरक रङको र अन्य नदीको भन्दा तातो पनि रहको स्थानीय बताउँछन्।

पौराणिक कालमा समुद्र मन्थन गर्दा निस्केको कालकूट विषले संसार भस्म पार्न लागेपछि भगवान महादेवले नै उक्त कालकुट विष पिएर त्यसको डाह मार्न यस ठाउँमा बेतको लौरोले खोस्री वेत्रगंगा उत्पन्न गराएको जनविश्वास छ। यही नदीको पानीले शीतलता पाई महादेवको यात्रा गोसाईकुण्ड पुग्न सम्भव भएको पौराणिक प्रसङ्ग जोडिन्छ। पुराणअनुसार उनले यहींबाट गएपछि नै त्रिशूलले हानेर गोसाईकुण्डबाट त्रिशूलीको जलप्रवाह उत्पन्न गराएको उल्लेख गरिन्छ।

उत्तरगया धामकै पानीको बहाब सुक्ने गरी मध्य त्रिशूली गंगा जलविद्युत आयोजना बनाउने काम अघि बढेपछि स्थानीय आन्दोलित छन्। पुसे औँसीका दिन वेत्रावतीमा श्राद्ध गर्न आएका हजारौँ तिर्थालुले पनि उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाए।

पौष कृष्णपक्ष औँसीका दिन देशविदेशका हजारौँ हिन्दू र बौद्ध धर्मावलम्बी यस धाममा पितृ उद्धारका लागि श्राद्ध गर्न पुग्छन्, पिण्ड र तर्पण दिन्छन्। धार्मिक आस्था र मानवीय संस्कृतिसँग गहिरो सम्बन्ध जोडिएको उत्तरगया क्षेत्रलाई दक्षिणगया क्षेत्रको शिरोभागका रूपमा समेत चिनाइएको छ।

अपार आस्था र जनविश्वासकै कारण विभिन्न स्थानबाट पितृउद्धार कर्ममा पौष कृष्णपक्ष औँसीको तिथिमा वेत्रावती पुग्नेहरूको भीड लाग्छ। बगरभरि दसौँ हजार श्रद्धालुको घुइँचोले बिहान सबेरैदेखि दिनभरजसो बगर ढाकिएकै हुन्छ। श्राद्ध सम्पन्न गर्नुपर्ने तीर्थहरूमध्ये श्रेष्ठ तीर्थस्थलका रूपमा यस धामको महत्व पुराणहरूमा दर्साइएकाले पनि यस्तो आकर्षण रहेको पण्डितहरू बताउँछन्।

श्राद्ध मेला
पुस २१ गते बिहानदेखि नै वेत्रावतीको किनार मानवीय चहलपहलले भरिएको थियो। उनीहरू सबैको एउटै उद्देश्य मृत्यु भइसकेका आफन्तजनको आत्माको मुक्ति। कर्मकाण्डीय मान्यता अनुसार श्राद्ध सामग्री जुटाएका र साथमा पण्डित राखेका। पण्डितले बताउँदै जान्थे, त्यसै अनुसार शास्त्रसम्मत विधिबाट पितृको आत्माको शान्ति  कामना गरिदैँ थियो। स्कन्द पुराणको हिमवत खण्डमा समेत उत्तरगयाका रूपमा वेत्रावतीमा गरिने श्राद्धलाई श्रेष्ठ मानिएको कारण परापूर्वकालदेखि नै यहाँ पुसको औँसीमा श्राद्ध गर्न उल्लेख्य उपस्थिति हुँदै आएको रहेछ।

श्राद्धकर्ममा सहभागी हुन हेटौंडा, मकवानपुरका हरिप्रसाद बिँडारीले भने, ‘यहाँ श्राद्ध गर्दा पितृ तर्छन् रे भन्ने सुनेर नै यहाँ आएको हुँ।’
बौद्ध धर्मावलम्बीको पनि उत्तरगया धामप्रति उच्च आस्था र आकर्षण छ। उनीहरू पनि पुसको औँसीका दिन यही आउँछन् र आफ्नो रीति अनुसार पितृउद्धारमा जुट्छन्। उनीहरू श्राद्धलाई आफ्नो भाषामा ‘ङ्यो’ भन्छन्। धादिङको थाक्रेबाट श्राद्ध गर्न आएका सूर्यबहादुर लामाले जौको पिठो मिचेर आफ्नो हातको चक्र समेत आफ्ना स्वर्गीय आमाबुबासम्म पुगोस र मोक्ष मिलोस् भनेर पिण्डदान गर्न आएको बताए।

धार्मिक समन्वय
के हिन्दू, के बौद्ध। समान आस्था र समान आकर्षण। हिन्दू र बौद्ध दुबै सम्प्रदायका मानिस एउटै उद्देश्य लिएर एकै स्थान भेला हुनु धार्मिक समन्वय र मेलमिलापको अनुपम दृष्टान्त लाग्छ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्षको औँसीका दिन पनि वेत्रावतीको बगरमा यस्तै दृश्यहरू खचाखच भरिएका देखिन्थे। लाग्छ, संसारका लागि धार्मिक सहिष्णुताको सन्देश दिन वेत्रावतीको श्राद्ध मेला काफी छ। उद्देश्य र गन्तव्य एउटै छ भने मार्गको मौलिकताले के नै फरक पार्छ र ? संसारका अन्य धर्मावलम्बीले पनि यसबाट सकारात्मक प्रेरणा लिने नै छन्। आखिर सर्वहित नै त हो सबै धर्मको मूल।

स्त्रीको व्रतबन्ध  
वेत्रावतीका स्थानीय अग्रजहरूले बताए अनुसार विसं २०४८ मा योगी नरहरिनाथले वेत्रावतीमा कोटिहोम यज्ञ लगाएका थिए। त्यस क्रममा यही पवित्र धामबाट उनले पहिलो चोटि छोरीहरूको पनि व्रतबन्ध गराएर कुशको जनै लगाइदिएको प्रसङ्ग चर्चित छ। छोरीहरूले पनि धर्मशास्त्रको अध्ययन गर्न र काजक्रिया गर्न हुन्छ भन्ने जागरण उनले यसै क्षेत्रबाट चलाएका थिए। धर्मसंस्कृतिका आडमा कुनै पनि प्रकारका विभेद हुनुहुन्न भन्ने यो एउटा सार्थक साङ्केतिक अभियान थियो।

त्यति बेला उनले पण्डितहरूसँगै लामाहरूलाई पनि सहभागी गराएका थिए। हिन्दू र बौद्धबीचको सद्भाव बढाउन र धार्मिक सहिष्णुता सधैं अक्षुण्ण रहनुपर्छ भन्ने तात्पर्य यसबाट बुझ्न सकिन्छ।

वेत्रावतीका मेलाहरू
वेत्रावती क्षेत्रमा पुसमा पर्ने औँसीको श्राद्ध मेलाका अतिरिक्त अन्य मेलाहरूको आकर्षण पनि त्यत्तिकै विशिष्ट किसिमका छन्। गंगादशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुशेऔँसी, ठूलो एकादशी, बालाचतुर्दशी र माघे सङ्क्रान्तिजस्ता पर्वहरूमा पनि यहाँ सांस्कृतिक गतिविधि भई रहन्छन्। परापूर्व कालदेखि नै सांस्कृतिक धरोहरका रूपमा यस क्षेत्रको अस्तित्व स्थापित भएको पाइन्छ। मानवजीवनका सबै याम र आयामसँग सांस्कृतिक साइनो जोडिएका यस क्षेत्रका सबै मेलाहरूको महत्व विशेष रहेका छन्।

धार्मिक पर्यटन
बेलाबेलामा हुने धर्मसंस्कृतिसँग सम्बन्धित पर्व र वरपर अवस्थित विभिन्न पौराणिक महत्व दर्शाउने अनेक मठमन्दिरका कारण वेत्रावती क्षेत्र देशभित्र र देशबाहिरका धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ। राम मन्दिर, कृष्ण मन्दिर, नीलकण्ठेश्वर महादेव, आइतबारे नाट्यश्वरी, गणेश मन्दिर, सीतादेवीथान, वनदेवी, कालिकामाई मन्दिरजस्ता मठमन्दिरहरूले यस क्षेत्रको थप सांस्कृतिक परिचय दिएको छ। धार्मिक आस्थाभाव बोकेर आउने हरेक आगन्तुकका लागि यी मठमन्दिरले आकर्षित गरेकै हुन्छन्। उचित प्रचार हुन सके तिर्थालुको आवागमनमा वृद्धि हुनेमा सन्देह छैन। यस्ता सम्पदा र संस्कृति  धार्मिक पर्यटन प्रवर्द्धनका लागि बलियो आधार बन्न सक्छन्।

गुरुयोजना बन्दै
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले चिनिएको वेत्रावती क्षेत्रको संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि गुरुयोजना बनाएर अघि बढ्न लागिएको बताए। उनका अनुसार पहिले पहिले स्थानीय स्तरबाट मात्र पहल हुने गरेकामा यसपटक प्रदेश सरकारले नै यस धामको पूर्वाधार विकासका लागि एक करोड रुपैयाँ दिइसकेको छ। सरकारबाट प्रत्येक वर्ष विनियोजन हुने बजेट मार्फत काम गर्न उत्तरगया क्षेत्र विकास कोष गठन गरिएको छ। कोष मार्फत यस धामलाई व्यवस्थित गर्ने, धर्मशाला, धार्मिक पार्क आदि बनाउन लागिएको छ।

उत्तरगया बचाउ अभियान
उत्तरगया धामकै पानीको बहाब सुक्ने गरी निजी लगानीमा मध्य त्रिशूली गंगा जलविद्युत आयोजना बनाउने कार्य अघि बढ्न लागेपछि पुस २१ गते ऐतिहासिक उत्तरगयाधाम बचाउन हस्ताक्षर संकलन गरिएको छ। उत्तरगया बचाउ संघर्ष समितिले अभियान सुरु गरेको हो। उत्तरगया धाममा पुसे औँसीको श्राद्ध गर्न आएका हजारौँ श्रद्धालुहरूले हस्ताक्षर गरेका छन्। सङ्कलन गरिएका हस्ताक्षर नेपाल सरकारलाई बुझाइने र धामलाई सुक्खा बनाउने गरी निर्माण गर्न लागिएको जलविद्युत आयोजना रोक्न दबाब दिने तयारी सङ्घर्ष समितिको छ।
पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उत्तरगया धामको पानीको बहाब नै रोक्ने गरी पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा १९.४ मेगावाटको मध्यत्रिशूली गंगा जलविद्युत आयोजना निर्माण हुन लागेकाले स्थानीय रुस्ट छन्। यो आयोजानको निर्माण क्षेत्र नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे र रसुवाको उत्तरगया गाउँपालिका–५, वेत्रावतीको सिमानामा पर्छ।

कुनै पनि विकास निर्माण कार्य गर्दा उत्तरगया धामको अस्तित्व मेटिने अवस्था आएमा उक्त कार्य अगाडि बढाउन नदिन आफू जनताकै पक्षमा उभिएर आन्दोलन गर्न  तयार रहेको प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले सङ्घर्ष समितिद्वारा आयोजित विरोध सभामा बताए। धार्मिक आस्था र संस्कृतिसँग जोडिएको धरोहर जोगाउन रसुवाका सबै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयको एउटै स्वर छ।
‘उत्तरगया धामको पहिचान मेट्न हामी दिँदैनौं,’ गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले भने, ‘गाउँसभाबाट नै हामीले यो क्षेत्रमा विद्युत् निर्माण गर्न नदिने निर्णय गरिसकेका छौँ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...