७ वैशाख २०८१ शुक्रबार
खेल

प्रदेश १ माथि एपीएफको फराकिलो जित, कुमालले लिए ७ विकेट

इटहरी – एपीएफले सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। शुक्रबार भएको समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा एपीएफले ९२ रनले प्रदेश नं. १ लाई हराउँदै विजयी भएको हो।

इनरुवा खेल मैदानको पिचमा भएको खेलमा १ सय ५५ रनको झिनो लक्ष्य पछ्याउदै मैदान उत्रिएको प्रदेश नं. एक  १७ दशमलव ५ ओभरमा अलआउट हुन पुग्यो।  प्रदेश एकलाई सस्तैमा समेट्न एपीएफका यज्ञमान कुमाल एक्लैले ७ विकेट लिए।

कसिलो बलिङ् गरेका कुमालले ५ दशमलव ५ ओभरमा एक मेडन राख्दै १६ रन दिएर प्रदेश नं. १ का ७ ब्याट्सम्यानलाई पेविलियन फर्काएका थिए। खेलमा कमल सिंह ऐरीले ५ ओभरमा केवल ३ रन दिएर १ विकेट चटकाए। टिमका लागि भुवन कार्कीले २ विकेट हात पारे।

प्रदेश नं. १ का लागि फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन जोडे। दिपेश कंडेलले १८ रन जोड्दा मुकुन्द यादवले १५ रन बटुलेका थिए। प्रदेश १ का सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शुन्य रनमा आउट हुन पुगे।

१ दशमलव ६ ओभरमै पहिलो विकेट गुमाएको प्रदेश १ का ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन् र एकपछि अर्को विकेट गुमाउन पुग्दा टिमले लज्जास्पद हार बेहोर्न पुग्यो। प्रतियोगितामा कम स्कोरमा कुनैपनि टिम समेटिएको यो पहिलो पटक हो। 

यसअघि टस जितेर पहिलो ब्याटिङ् गरेको एपीएफले मजबुत सुरुवात गरेपनि चौथो ओभरमा पहिलो विकेटको क्षतिसँगै लय गुमाएको थियो। प्रदेश नं. १ का बलर र फिल्डरहरुले राम्रो प्रर्दशन गरेपछि दबाब महसुस गरेका एपीएफका ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन्।  पुरा टिम ३६ ओभरमा अलआउट हुन पुग्यो।  

अलआउट हुनु पूर्व एपीएफले आसिफ सेख र कमलसिंह ऐरीको समान ३३ रन मद्दतमा १ सय ५४ रन बनाएको थियो। टिमका लागि पुरन विकले २८ र प्रज्वल साहीले १४ रन जोडेका थिए। प्रदेश नं. १ का दिपेश कडेलले ४ र सिद्धान्त लोहनीले ३ विकेट लिए। प्रतियोगिताको म्यान अफ दि म्याच एपीएफका यज्ञमान कुमाल घोषित भए।

प्रकाशित: २८ पुस २०७५ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App