१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सिकेर सिकाऊ, सिकाएर सिक

एकप्रसाद दुवाडी

नेपाली शिक्षा क्षेत्रका एक तारा गम्भीरमान मास्के २०७५ साल मंसीर १६ गते यस संसारबाट बिदा भए तर उनले छोडेका शैक्षिक विरासत देशविदेशमा रहेका उनका हजारौं शिष्यमार्फत फिनिक्स बनेर शताब्दीयौंसम्म जग्मगाइरहनेछ। अहिलेको  जस्तो व्यक्तिवादी समाजमा पनि उनी जस्ता केही सपूतहरु जन्मेर देशलाई त्राण दिन्छन्।

विभिन्न सामाजिक र दैविक प्रहारहरुले जेलिएका यी माड्साबले जीवनमा कहिल्यै हरेस खाएनन् बरु आफ्नो कर्ममा अनवरत लागिरहे। गम्भीरमान मास्केको जन्म विस १९८८ जेष्ठ पूर्णिमाका दिन काठमाडौंको बांगेमूढामा भएको थियो। उनी नेपालका अग्रज कलाकार चन्द्रमान मास्केका जेठा छोरो थिए। उनी जन्मेको दुई वर्षपछि नै आमाको देहान्त भयो। त्यसको केही समयपछि नै उनलाई रेखदेख गर्ने वीरबहादुर पनि बिते। घोडालाई घाँस काट्न जाँदा भूकम्पले मन्दिर ढल्दा वीरबहादुर बिते। वीरबहादुर उनलाई सधैं बोकीबोकी हिँड्थे तर त्यस दिन भाग्यले बाँचे।

प्रजापरिषद्को सदस्य बुवा चन्द्रमान मास्के बरोबर जेल पर्थे। पहिलो पत्नी बितेपछि उनको दोस्रो विवाह भएको थियो।  बुवालाई जेलमा खाना पुर्‍याउन गएको पनि बेलाबेला स्मरण गरिरहन्थे। उनका ठूलोबा वज्रमान निःसन्तान थिए। उनीहरुले नै गम्भीरमानको पालनपोषण गरे। उनलाई ठूली फुपू, बज्यै र मामाहरुले औधी माया गर्थे। त्यसैले पाटनस्थित मामाघर आउजाउ बाक्लै हुन्थ्यो।

गम्भीरमानको सुरुवाती पढाई जैसीदेवलस्थित रामचन्द्र विद्याश्रममा भएको हो। जुन उनकै पिताको पहलमा खोलिएको थियो। पछि ठूलोबाले मखन गल्लीमा रहेको जेपी स्कुलमा कक्षा २ मा भर्ना गरिदिए। समय क्रममा दरबार स्कुलमा निःशुल्क पढ्न तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्र शमशेरलाई भनसुन गरी उनी दरबार स्कुलमा ४ कक्षामा भर्ना गरिए। ठूलोबा आफ्नो भतिजको पढाइ बिग्रेला भनी बडो चिन्तित थिए। स्कुलको पढाइ त नियमित भयो तर लामो समय बिरामी भएका कारणले उनको परीक्षा छुट्यो।  पढाइ दोहोर्‍याउनु पर्‍यो। एकपटक त लहलहैमा लागेर ‘इनक्लाब जिन्दावाद’ नारा लगाउँदै हिँडे। शिक्षा डाइरेक्टर त्यो कुरा थाहा पाएर संलग्न सबै विद्यार्थीलाई हकारे। उनी पढाइमा एकोहोरिए। समय क्रममा २००७ सालमा पद्मोदय माविबाट म्याट्रिकको जाँच दिए।

समय क्रममा आइए, बिए पनि पास गरे। नेवारी, नेपाली, हिन्दी र अंग्रेजी साहित्यका पारखी भए। एकपटक विराट साहित्य सभामा ‘तिनको नबुझिने भाषा’ कथा वाचन गरे। उनको सो कथा सुनेर हृदयचन्द्र सिंह प्रधान, ईश्वर बराल, माधवलाल कर्माचार्य र रत्नध्वज जोशीले उनको लेखनीको प्रोत्सहान गरे।

महाकवि चित्रधर हृदयले त उनको प्रसंशा गरी पोष्टकार्ड नै पठाए। नेपाल तथा बनारसबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरुमा नियमित लेखरचना पठाउन थाले। तिनताका रमेश विकलसँग पनि उनको हिमचिम थियो। उनका सहपाठीमध्ये एक थिइन्, पारिजात। बिएको पढाइ सकिएपछि घरमै ट्युसन पढाउन थाले। उता लोकसेवाको परीक्षा पनि दिँदै गरे। तर लिखितमा पास भए पनि अन्तरवार्तामा भने छनोट हुन सकिरहेका थिएनन्। दिगो कामको खोजीमा रहेका बेला उनले विश्वनिकेतन माविमा अंग्रेजी शिक्षकको जागिर पाए, २०१७ सालमा।

कुनै बेला उनी आफैं प्रताडित विद्यार्थी थिए। त्यसैले सिकारुलाई माया गरी गरी सिकाउनुपर्छ भन्ने मान्यता राख्थे। ‘सिकेर सिकाऊ, सिकाएर सिक’ भन्ने उनको मूलमन्त्र थियो। त्यसैले कुनै दिन राम्ररी वा चित्तबुझ्दो गरी विद्यार्थीलाई पढाउन असमर्थ रहेमा बेला छट्पटिन्थे र कहिले भोलि होला र पढाउँला भनी व्यग्र प्रतीक्षा गरिरहन्थे।

उनी छोटो समयमा नै लोकप्रिय गम्भीरमान सर भए। आखाँमा हाले पनि नबिझाउने स्वाभावका उनी केही वर्षपछि उक्त विद्यालयका तत्कालीन प्रधानाध्यपक कलेजतिर पढाउन गएपछि विश्वनिकेतन माविको प्रधानाध्यपक पदमा नियुक्त भए। त्यसपछि सुरु भयो उनको व्यवस्थापकीय जिम्मेवारी जुन ३३ वर्षसम्म अविछिन्न रह्यो।

उनले हजारौं विद्यार्थीहरु र सयौं सहकर्मीहरुसँग उठबस गरे। विश्व निकेतनलाई नेपालकै एक उत्कृष्ट विद्यालय बनाउन सफल भए। जहाँबाट प्रत्येक वर्षजस्तो एसएलसीमा बोर्ड पोजिसनमा विद्यार्थीहरु उत्कृष्ट हुन थाले। २०५१ सालमा उक्त स्कुलबाट रिटायर्ड भएपछि उनले सिद्धार्थ वनस्थलीमा विषय विज्ञका रुपमा काम गरे। तर त्यहाँ पनि उनले दिनको दुई पिरियड भने पढाउँथे। उनलाई विद्यार्थीले स्याबासी दिँदा पाउने आनन्द ठूलो लाग्थ्यो। उनको छातीमा निम्नसरो र इमान्दार मान्छेप्रतिको माया र विश्वास अविच्छिन्न थियो।

गरिब र जेहेन्दार विध्यार्थीलाई पैसा नलिई सिंत्तैमा ट्युसन पढाइदिन्थे र अन्य विषयका शिक्षकहरुलाई पनि पढाइदिन आग्रह गर्दथे। केही पैसा जम्मा हुनासाथ दान दक्षिणा र छात्रवृत्तिका लागि कोष निर्माण गरिदिन्थे। तर यसो गरेको विज्ञापन गर्दैन थिए। विद्यार्थीहरुसँग मात्र होइन अभिभावकहरुसँग पनि उत्तिकै आत्मीय सम्बन्ध राख्थे। उनी निर्णय लाद्ने खालका प्रशासक थिएनन् न त कसैप्रति गुनासो राख्थे।

सधै हँसिला र रसिला गम्भीरमान मास्के फुर्सदका समय अध्ययन गर्थे र गीत संगीत सुन्थे। बच्चु कैलास उनका प्रिय गायक थिए। उनलाई गान्धी मनपथ्र्यो तर आफू भने मिथकीय राजा हरिषचन्द्र जस्तै थिए। सबै उमेर र तप्काका मान्छेलाई उत्तिकै सम्मान गर्थे। उनमा मानवीय हृदय र संवेदना व्याप्त थियो। आफ्नो रेखदेख गर्ने वीरबहादुरलाई पनि तर्पण दिन्थे। मागी बिहे भएको उनी ३ छोरा र १ छोरीका मातापिता भए। हजारौं बालबालिकालाई सुख, शान्ति र समृृद्धिको बाटो कोर्न सघाउने यी शिक्षाविद्को आफ्नो जीवन भने दुखान्त नाटकको पात्रको भन्दा कम थिएन। उनको जीवनमा अवरोहको लर्को लाग्न छोडेन। अवकाशप्राप्त जीवन व्यतित गरिरहँदा पत्नी वियोगले उनी पीडामा थिए। त्यसमाथि केही वर्ष अघि मात्र वर्षअघि कान्छा सुपुत्रको पनि असामयिक निधन भयो। पछिल्लो केही वर्षदेखी उनी डिमेन्सियाका कारण बिर्सने समस्याले ग्रसित थिए।

उनका समवयी र बालसखाहरु डा. हेरम्बबहादुर राजभण्डारी र कमलप्रकाश मल्लको तुलनामा प्रविधिको कमै प्रयोग गर्थे। मोबाइल पनि बोक्दैनथे। टिभीलाई इडिएट बक्स भन्थे। कान कम सुन्ने भए हुँदा पनि डाक्टरले सुझाएका कानमा झुन्ड्याउने सुन्ने यन्त्र पनि पर सार्थे।
गम्भीरमान मास्केबाट सिक्नुपर्ने कुरा भनेको सादगिपना नै हो। लगातार संयम भएर परिश्रम गर्‍र्यो भने संसारमा असम्भव केही छैन भन्ने उनको जीवन सन्देश हो। सबै पूर्वाधार पाएर पनि पढाइको स्तर बढाउन नसकिरहेका हजारौं सरकारी स्कुल र त्यहाँ पढाउने हेडसरले उनीबाट लगन, धैर्य र परिश्रमको पाठ सिक्नु उनी प्रतिको सच्चा श्रद्धान्जली हुनेछ।

प्रकाशित: २८ पुस २०७५ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App