४ वैशाख २०८१ मंगलबार
अन्य

नेपाल चिनाउँदै डा. री

दुई कोरियाबीचको सशस्त्र द्वन्द्वले छियाछिया पारेको भूगोल। जताजतै गोलीका निसाना। त्यहीँ भूगोलमा ठडिएको चार तले घर। घरको मुल गेटदेखि प्रत्येक कोठामा नेपाली कला र संस्कृति झल्कने विभिन्न बस्तु र सामग्री। दक्षिण कोरियाको राजधानी सिउलस्थित प्रोफेसर डा. रि कुङ होको घर पुग्दा जो कोहीलाई पनि आफू नेपालमै रहेको आभास हुन्छ।

घरको मूल गेटदेखि बैठक कोठासम्म नेपाली पहिचान। र्याकभरि नेपाली किताब। टेबुलभरि अहिलेसम्म प्रकाशित नेपाली हुलाक टिकट। भित्ताभरी नेपाली पोस्टर। ग्यालरीभरि नेपाली पुरातात्विवक बस्तु। ‘यो सबै नेपालको मायाले गर्दा हो,’ कुराकानीको सुरुमै प्रोफेसर डा. हुले भने, ‘मैले आजसम्म जे गरिरहेको छु, त्यो सबै नेपालको पहिचान र नेपाल चिनाउनका लागि हो।’

प्रो. डा. रि कुङले नेपालमा छारे रोगको उपचारका लागि महत्वपूर्ण काम गरेका छन्। डायमण्डसम्शेर राणाको चर्चित उपन्यास ‘सेतोे बाघ’लाई कोरियन भाषामा प्रकाशित गरेका छन्। उनले किताब लेखेर नेपालको पहिचान, संस्कृति र भाषाको प्रचार गरेका छन्। सन् १९८२ मा ४९ वर्षको हुँदा पहिलो पटक नेपालमा पाइला टेकेका उनी नेपालप्रति यति लोभिएकी त्यसपछिको सम्पूर्ण जीवन नेपालको शिक्षा, स्वास्थ्य र प्रचार–प्रसारमै बिताइरहेका छन्। ‘मैले नेपाल चिनाउनका लागि आफ्नो जीवनकालमा १० पुस्तक प्रकाशित गर्ने अठोट गरेको छु,’ ८३ वर्षका डा. हुङ होले भने, ‘आठ वटा प्रकाशित भए। अब दुई किताव लेख्दैछु।’

१९८२ मा हिमाल चढ्न गएका कोरियनहरूको समूहमा उनी डाक्टरको भूमिका थिए। उनीहरू बिरामी पर्दा उपचार गर्ने उनको ‘ड्युटी’ थियो। नेपालका बारेमा खासै जानकारी पनि थिएन उनीसँग। ‘मेरो दिमागमा नेपाल हिमाल मात्रै भएको देश होला भन्ने लागेको थियो,’ उनले पहिलो पटक नेपालमा पाइला टेक्दाको अनुभव सुनाउँदै भने, ‘नेपाल त प्राकृतिक स्रोत र साधनले धनी मुलुक रहेछ, त्यहाँ पुगिसकेपछि कोरिया फर्कन मनले मानेन।’ हिमाल चढेर उनका साथी कोरिया फर्के। डा. हो भने नेपालको संस्कृति र प्राकृतिक सुन्दरतातर्फ आकर्षित भए।

घुम्दै जाँदा उनले सगरमाथा आरोही एडमण्ड हिलारीले अस्पताल, विद्यालय बनाइराखेको देखे। ‘पेशाले म डाक्टर थिएँ, हिलारीले शिक्षा, स्वास्थ्यमा निःशुल्क सेवा गर्न सक्छन् भने मैले किन नसकुला र भन्ने लाग्यो,’ उनले भने, ‘१९८६ बाट नेपालमा ग्रामीण क्षेत्रबाट छारे रोगको उपचारको थालनी गरेँ।’ चार वर्षसम्म डा. होले एक हजार बिरामीका लागि प्रत्येक वर्ष औषधि पठाए। औषधिले मात्रै नहुने देखिएपछि चेकजाँचका लागि अस्पतालको पनि महसुस भयो। दोलखामा सन् १९८९ मा १० बेडको अस्पताल सुरु भयो। औषधि, जनशक्ति सबै कोरियाबाटै हुन्थ्यो।

प्रो. डा. रि कुङले नेपालमा छारे रोगको उपचारका लागि महत्वपूर्ण काम गरेका छन्। डायमण्डसम्शेर राणाको चर्चित उपन्यास ‘सेतोे बाघ’लाई कोरियन भाषामा प्रकाशित गरेका छन्। उनले किताब लेखेर नेपालको पहिचान, संस्कृति र भाषाको प्रचार गरेका छन्।

डा. होले दोलखामा मात्रै होइन, बाग्लुङ, विराटनगर, जनकपुर, कपिलवस्तु लगायतका ठाउँमा पनि स्वास्थ्य शिविर चलाए। उनले नेपालमा जवसम्म सक्रियतापूर्वक स्वास्थ्य सेवामा लागे त्यतिबेलासम्म उनी कोरियामा सरकारी जागिरे थिए। ‘वर्षमा दुई पटक अस्पतालका साथी र आफूले पढाइराखेका विद्यार्थीहरूलाई लगेर मेडिकल क्याम्प चलाउने गर्थे,’ उनले भने, ‘जागिर सकिएपछि यो क्रम पनि रोकियो।’ ‘रिटार्यड’ भएपछि डाक्टर र विद्यार्थी जम्मा गर्न समस्या भएपछि नेपालमा मेडिकल क्याम्प गर्न नसकेको उनको भनाई छ।

डा. होले २००१ बाट नेपालको संस्कृति र कलाकारितालाई कोरियामा चिनाउन ‘फ्यामिली एकेडेमी’ सञ्चालनमा ल्याए। ‘यसको उद्देश्य नेपाली चित्रकारका चित्रहरूको कोरियामा प्रदर्शनी, नेपालको कला र संस्कृतिको प्रचार–प्रसार गर्नु हो’ उनले भने, ‘यसबाट भएको आम्दानीको केही अंश अहिले पनि नेपाल छारे रोग संघलाई उपलब्ध गराइरहेका छौं।’

‘सेतो बाघ’को कथा
१९९० मा उनी दोलखामा स्वास्थ्य शिविर सकेर काठमाडौंको होटलमा बसिराखेका थिए। सेतो बाघका लेखक डायमण्डशम्शेर राणा आइपुगे। ‘खासमा हामीले उहाँको छोराको उपचार गरिदिएका थियौं, धन्यवाद भन्न आउनुभएको थियो,’ उनले भने, ‘त्यही बेला मलाई उपहारस्वरूप यो किताव दिनुभएको थियो।’ नेपाली भाषा नआउने भए पनि उपहार प्राप्त कितावलाई ‘दोभाषे’लाई पटक–पटक पढ्न लगाए उनले।

‘नेपालको इतिहास बोल्ने मध्येको यो पनि एक महत्वपूर्ण कितावजस्तो लाग्यो,’ उनले भने, ‘नेपालका बारेमा जान्ने र खासगरी नेपालको राजतन्त्रका बारेमा जान्नका लागि किताव उपयुक्त हुने देखेपछि कोरियन भाषामा प्रकाशित गर्ने निर्णयमा पुगेँ।’

२०१३ मा उनी फेरि नेपाल पुग्दा डायमण्डशम्शेर राणा अस्पतालको बेडमा थिए। उनले अस्पतालमै पुगेर ‘सेतो बाघ’ अनुवादका लागि अनुमति मागे। डायमण्डले तत्कालै सम्झौतापत्र बनाउन लगाए। अस्पतालको बेडबाटै डा होलाई डायमण्डले अनुवादका लागि अनुमति दिए। ‘अनुवादका लागि प्लेट त पहिले नै तयार पारिसकेको थिएँ, अनुमतिको मात्रै आवश्यकता थियो,’ डा. होले भने, ‘तत्कालै कोरिया फर्केर किताव अनुवाद र प्रकाशनतर्फ लागेँ।’ उनले २०१४ मा सेतो बाघलाई कोयियन भाषामा प्रकाशित गरे। नेपालमा गएर डायमण्डकै हातबाट किताव विमोचन गर्ने उनको लक्ष्य थियो। ‘किताव प्रकाशित गरेर नेपाल पुग्दासम्म उहाँको मृत्यु भइसकेको रहेछ,’ उनले भने, ‘त्यो मेरा लागि सबैभन्दा दुःखद् क्षण बन्यो।’

‘सेतो बाघ’को विषय जटिल भए पनि पाठकले रुचाएको उनको अनुभव छ। नेपाल र त्यहाँको तत्कालिन राज खानदानका बारेमा जानकारी राख्नेहरूले पुस्तक रुचाउनुभएको छ,’ उनले भने, ‘अब दोस्रो संस्करण प्रकाशित गर्ने तयारीमा छु।’

कोरियन भाषामा प्रकाशित भएको यो उनको सातौं पुस्तक हो। सन् २००९ देखि उनले नियमित नेपाल सम्बन्धी पुस्तक प्रकाशित गर्दै आएका छन्। उनले २००९ मा एकै वर्ष तीन पुस्तक प्रकाशित गरे। उनको पहिलो कृति नेपाली हुलाक टिकटसँग सम्बन्धित थियो। ‘नेपाल स्ट्याम्प आइकन एन्ड सर्ट एसेज’लगत्तै उनले ‘द स्प्रिड अफ हिमालय’ किताब बजारमा ल्याए। २००९ मै उनले वाह ! सुन्दर नेपाल बजारमा ल्याए। यो पुस्तकमा शेर्पाहरूसँग हिमाल चढ्दा र गाउँघरमा सुनेका गरेर ३२ कथा समेटिएका छन्।

डा. होले सन् २०१० मा बुद्धसम्बन्धी पुस्तक प्रकाशित गरे। कोरियामा बुद्ध भारतमा जन्मेका हुन् भन्ने धारणा अझै पनि छ। उनले त्यसलाई चिर्नका ‘द एस्से अफ बुद्धज फोर होली प्लेसेज’ किताव लेखेको बताए। ‘अहिले बल्ल कोरियनहरूले बुद्ध नेपालमा जन्मेका हुन् भन्न थालेका छन्,’ डा. होले भने, ‘यसैमा म सन्तुष्ट छु।’ यो पुस्तकमा बुद्ध जन्मेको, ज्ञान प्राप्त गरेको लगायतका चार ठाउँका बारेमा व्याख्या गरिएको छ।

डा. होले हालै नयाँ पुस्तक प्रकाशित गरेका छन्। ‘द हिमालयज अन नेपाली स्ट्याम्प’ नामक पुस्तकमा नेपालले अहिलेसम्म निकालेका हिमाल सम्बन्धी हुलाक टिकटहरू संलग्न छन्। पुस्तकको एउटा पानामा हुलाक टिकटको बारेमा जानकारी दिइनुका साथै अर्को पानामा उनले लेखेका हिमाली कथाहरू समावेश छन्। ‘यो कितावमा मैले एडमण्ड हिलारीलाई भेटेदेखि आफूले काम गर्दा भोगेका अनुभव समेटेको छु,’ उनले भने, ‘मेरा लागि यो किताब सबैभन्दा महत्वपूर्ण छ।’ यही कितावबाट दुई साताअघि फिलाटेलिक एसोसिएसन कोरियाले उनलाई पुरस्कृत गर्यो। सउल सिटी प्रदर्शनीमा ‘पहिलो’ भयो।

डा. हो नयाँ किताबको तयारीमा छन्। उनको नयाँ कृति नेपालको शाहबंशीय इतिहाससँग सम्बन्धित छ। पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास, उनीहरूले गरेका काम, दरबारभित्र हुने द्वन्द्व समेटेर किताव प्रकाशित गर्न लागिएको उनले बताए। यसका लागि उनका कोरियन साथी मिस्टर आन, नेपालका अरुण रञ्जितले सहयोग गरिरहेका छन्।

उमेर ढल्कदै गए पनि उनी वर्षमा तीन–चार पटक नेपाल पुग्छन्। कोरियामा रहँदा पनि उनी नेपालकै बारेमा कुरा गरिरहेका हुन्छन्। ‘मैले जीवनको आधा समय नेपालको पहिचान र प्रचारमै बिताएको छु,’ उनले हाँस्दै भने, ‘यसैमा म पूर्ण सन्तुष्ट छु।’

प्रकाशित: २८ पुस २०७५ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App