coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

सोलुदूधकुण्ड नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै स्थानीय महिला। तस्बिर : शिखर/नागरिक

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

गत मंसिर २६ गते सुरु भएको शिविरमा ७ सय १० सर्वसाधारणले साधारण स्वास्थ्यसेवा पाएका छन्। ११ मध्ये ८ वडाका स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरबाट जम्मा ७ सय ८५ सर्वसाधारणले स्वास्थ्यसेवा पाएको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए। गोराखानी, टाप्टिङ, केरुङ, तिङला, गार्मा, टाक्सिन्दु, बेनी र तामाखानी स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरमा जिल्ला अस्पताल फाप्लुका डा. कमला सन्जेल र विनोद पाण्डेको टोली खटिएका थिए।

वर्षको तीनपटक वडा तहमै पुगेर आधारभूत स्वास्थ्यसेवा दिने कार्यक्रमअन्तर्गत सञ्चालित शिविरमा ७३ प्रकारका औषधि वितरण गरेको स्वास्थ्य शाखा संयोजक मगरले बताए। ‘हामीले जिल्ला अस्पतालले दिने औषधिभन्दा ३ प्रकारको औषधि बढी वितरण गरेका छौं’, उनले भने, ‘गाउँघरमै स्वास्थ्योपचार पाएपछि विशेषतः महिला, ज्येष्ठ नागरिक र अपांगलाई ठूलो राहत मिलेको छ।’ उनले अशक्त र असहाय लक्षित शिविर प्रभावकारी भएको बताए। शिविरमा उच्च रक्तचाप र हाडजोर्नीसम्बन्धी समस्या बढी देखिएको छ।

गर्भ परीक्षण गराएका गर्भवतीको पेटमा बच्चाको अवस्था असन्तुलित रहेको पहिचान गरिएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक सुझावसमेत दिईएको संयोजक मगरले बताए। शिविरमा गर्भ जाँच गराउन आउनेमध्ये केही २० वर्षमुनिका समेत पाइएको नगरपालिकाले जनाएको छ। ‘नगर क्षेत्रमा पनि सानै उमेरमा विवाह हुने र गर्भधारण गर्नेको संख्या भेटियो’, नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत दापासा शेर्पाले भने, ‘कानुनविपरीत मानिने विवाह रोक्न विद्यालय स्तरको सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।’ उपमेयर कल्पना राईको नेतृत्वमा सञ्चालन हुँदै आएको चेतनामूलक कार्यक्रमले नागरिकको चेतना अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको उनको विश्वास छ।

आर्थिक वर्ष २०७४÷७५ देखि सुरु गरिएको शिविर एकीकृत बनाउन सर्वसाधारणले सुझाव दिएका छन्। शिविरमा आँखा, दाँत र ल्याब सेवा पनि थप गर्न सके प्रभावकारी हुने उनीहरुको सुझाव छ। सेवाग्राहीको सुझावको आधारमा आगामी वर्ष सेवा थप गर्ने संयोजक मगरले बताए। उनले भने, ‘आगामी वर्षको कार्यक्रममा बजेटअनुसार आँखा, दाँत र ल्याब सेवा एकीकृत गर्ने र शिविरको दिनसमेत बढाउने सोचमा छौं।’

प्रकाशित: २८ पुस २०७५ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App